३ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

जंगलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकी छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ। जंगलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त ७ कक्षाबाट उत्तीर्ण भई ८ पुगेको खुसीयालीमा पुरस्कृत गरेको हो।

छोरी उत्तीर्ण भएपछि आमा इन्द्रमाया कुसुन्डाकी आमामा खुसी भएकी छिन्। सिमान्त उनकी एक मात्र सन्तान हुन्। वार्षिक नतिजा प्रकाशन गर्दै विद्यालयले सिमान्तलाई हौसला प्रदान गर्न पुरस्कृत गरेको हो। विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीले संयुक्त पुरस्कृत गरेका हुन्।

राजामा कुसुन्डाको २०७५ वैशाख ५ गते निधन भएपछि उनकी श्रीमती इन्द्रमाया कुसुन्डाले छोरीलाई पालनपोषण र शिक्षा दिंदै आएकी छिन्। विद्यालयले सिमान्तलाई निःशुल्क पढाइरहेको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले बताए।

कुसुन्डा लोपोन्मुख जातिमा पर्छ। तनहुँमा एक घर परिवार मात्र कुसुन्डा छन्। इन्द्रमायाको परिवारलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरिद गरी व्यास-१० स्थित डिहीकुनामा तीन कोठे घर बनाइदिएपछि उक्त घरमा बस्दै आएकी छिन्।

इन्द्रमाया र छोरी सीमान्तले लोपोन्मुख जातिका रूपमा मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षाभत्ता पाउँछिन्। तर, त्यसले आफ्नो आवश्यकता नपुग्ने इन्द्रमायाको गुनासो छ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँकी निर्वतमान अध्यक्ष वसुन्धरा घर्तीले लोपोन्मुख जातिको संरक्षणमा सहयोग पुर्‍याउन इन्द्रमायालाई जागिरको व्यवस्था गर्नुपर्ने बताइन्।

कुसुन्डा जातिको संरक्षणको लागि प्रतिष्ठानले नै २०६१ साल पुस ७ गते राजामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो। कुसुण्डा स्याउलाका एकपाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रूपमा जंगलका विभिन्न ठाउँमा बसोबास गर्दथे।

जंगली रूखबिरुवाका ठूलाठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे। धनुष वाण, कालिज, गोहोरो, वन कुखुरा, मृग, स्याल लगायतको सिकार गर्दथे। वन तरुल, निगुरो, गिठा, भ्याकुर, सिप्लीगान जस्ता जंगलमा पाइने कन्दमूल तथा तरकारी खाएर जीवनयापन गर्ने गर्दथे। जंगलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चा मर्ने जस्ता कारणले कुसुन्डा लोप हुँदै गएकाले तनहुँका कुसुन्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको हो। रासस

प्रकाशित: २७ चैत्र २०७९ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App