नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
विराटनगरमा आइतबार (आज) आयोजित हाम्रोमत दैनिकको २२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले राजनीतिक दलहरूमा रोग देखा परेको र त्यसको उपचारका लागि गहन समीक्षा आवश्यक रहेको उल्लेख गरे। संविधान जारी गर्दा दलहरूबीच दश वर्षपछि समिक्षा गर्ने सहमति भएको स्मरण गराउँदै उनले त्यसको समय अब आएको बताए। तथापि, संविधानको समीक्षा गर्दा पछाडि फर्किन नहुने स्पष्ट पारे।
‘संविधानको समीक्षा गर्दा एउटा शर्त रहन्छ। हामी पछाडि फर्किनका लागि समीक्षा गर्ने होइनौं। हामी अगाडि बढ्नका लागि समीक्षा गर्ने हो। जनताले प्राप्त गरेका उपलब्धिहरू खोस्नका लागि होइन, ती उपलब्धिहरू थप बलियो बनाउन, विस्तार गर्न र परिमार्जन गर्नका लागि समीक्षा गरिन्छ,’ उनले भने।
शनिबार सम्पन्न तीन दलबीचको छलफलमा आफूले आन्दोलनको परिभाषा निर्धारण गर्नु आवश्यक रहेको कुरा उठाएको जानकारी उनले दिए।
‘तीन दलको बैठकमा मैले भनेको थिएँ– आन्दोलन भन्नाले के बुझिनेरु विद्रोह के होरु के हो र के होइन भन्नेमा स्पष्ट परिभाषा आवश्यक छ। एउटा साझा व्याख्या आवश्यक छ,’ उनले भने, 'यदि कसैले लोकतन्त्र, गणतन्त्र, र इमान्दारिताका साथ अघि बढ्ने प्रयत्न गर्दछ भने त्यो आन्दोलन हो, त्यसलाई संरक्षण गरिनुपर्छ। तर, यदि कसैले लोकतन्त्रको विरोधमा, निरंकुशता र तानाशाहीका पक्षमा आवाज उठाउँछ भने त्यो आन्दोलन कहलिन सक्दैन। त्यो अपराध हो, समाजविरुद्धको गतिविधि हो।'
गणतन्त्र पक्षधरहरू मिल्नुपर्ने आवाज उठिरहे पनि व्यवहारमा त्यो सम्भव हुन नसकेको उनको टिप्पणी थियो।
‘हामी गणतन्त्रवादीहरू मिलेर शान्ति सम्झौता गरेका थियौं, संविधानसभा गठन र गणतन्त्र स्थापनामा सँगै लागेका थियौं। तर, आजको दिनमा हामी किन एक ठाउँमा उभिन सकेनौं भन्ने विषयमा गम्भीर बहस आवश्यक छ,’ उनले भने।
उनले गणतन्त्र पक्षधरहरूलाई आत्मसमीक्षा गरेर मात्रै एकता सम्भव हुनेमा जोड दिनुभयो।
प्रकाशित: ७ वैशाख २०८२ १७:५९ आइतबार





