१५ चैत्र २०८० बिहीबार
शिक्षा

विश्व प्रतिस्पर्धी शिक्षाका लागि २० प्रतिशत बजेट जरुरी: नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशको समृद्धिका लागि शिक्षाको गुणस्तर विश्व प्रतिस्पर्धी हुनुपर्ने बताएका छन्।

शिक्षाको गुणस्तर विश्व प्रतिस्पर्धी कायम गर्न कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्ने उनले बताए।

नेपाल शिक्षक संघ डडेलधुराको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै केन्द्रीय सदस्य महरले शिक्षाको जस्तै स्वास्थ्यलाई पनि राज्यले महत्त्व दिनुपर्ने औँल्याए।

उनले भने, ‘कल्याणकारी राज्यव्यवस्था कायम गर्ने हो भने शिक्षा र स्वास्थ्यको गुणस्तरीय हुनुपर्छ र जनताले त्यसको उपभोग निःशुल्क र सर्भ-सुलभ प्राप्त गर्न पाउनुपर्छ।’

देशको समृद्धिका लागि आफू लामो समयदेखि ‘निःशुल्क स्वास्थ्य, शिक्षा, गुणस्तरीय यातायात र सञ्चारसँगै उद्यमशीलता सहितको रोजगार: जनताको अधिकार, कांग्रेसको सरोकार’ भन्ने एजेण्डा उठाउँदै आएको बताए।

यस्तै नेता महरले शिक्षकहरूको मर्यादित पेसा र विद्यार्थीका लागि जीवनोपयोगी शिक्षाको अवधारणा कार्यान्वयन गर्न सरकारले यथाशक्य चाँडो संघीय शिक्षा ऐन ल्याउनुपर्ने बताए। यस्तै शिक्षकको वर्गीय हितका लागि निजामती कर्मचारी सरहको सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा उनको जोड छ।

‘देशभित्र स्वयम्सेवकसहितका १९ प्रकारका शिक्षक छन्। राज्यले यति प्रकारले शिक्षक भर्ना गरेर राखेको छ। तर, उचित व्यवस्थापन गर्नतर्फ ध्यान दिएको छैन,’ उनले भने,‘अब शिक्षकको व्यवस्थापनमा राज्यले ढिलाई नगरी देशभरका ३३ हजार विद्यालयमा कार्यरत ३ लाख २५ हजारभन्दा बढी शिक्षकको माग सम्बोधन गर्नुपर्छ।’

त्यसमा कांग्रेस प्रतिबद्ध रहेको पनि उनले बताए।

प्रकाशित: ४ चैत्र २०७९ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App