१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यार्थीको सहज गन्तव्य बन्दै क्यानडा

उच्च शिक्षा हासिल गर्न पछिल्लो केही वर्ष यता नेपालबाट विभिन्न अवसर खोज्दै बिदेसिने क्रम बढिरहेकै छ। त्यसमा पनि गुणस्तरीय र विश्वले मान्यता दिने डिग्रीको खोजीमा विभिन्न देश पुग्ने विद्यार्थीको सङ्ख्या उत्तिकै बढेको छ। गुणस्तरीय शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको आकर्षण हो। यी विद्यार्थीहरू शिक्षासँगै सिप, दक्षता र सक्षम भविष्यको उद्देश्य राख्छन्। यही काममा सहयोग र सहजीकरण गर्न मान्यता प्राप्त शैक्षिक परामर्श व्यवसायीहरूसँग परामर्श लिन्छन्। क्यानडा पछिल्लो समय शैक्षिक हब बन्दै गइरहेको अवस्थामा नेपाली विद्यार्थी पनि उच्च शिक्षाका लागि क्यानडा जान थालेका छन्।

क्यानडामा अन्तर्राष्ट्रिय स्तरका विद्यार्थी एक लाख ३९ हजार ५ सय ३६ रहेको तथ्याङ्कले देखाएको छ।

काठमाडौंको बौद्धमा बस्ने सुसन गुरुङ २५ वर्षका भए। उनले नेपालमा ‘सामाजिक कार्य’ विषय लिएर स्नोतकोत्तर उत्तीर्ण गरे। अहिले उनी आइइएलटिएस गरी क्यानडा जाने तयारीमा छन्। आइइएलटिएसमा ६.५ ल्याई सेप्टेम्बर इन्टेकको क्यानडाको फ्यान वय कलेजका लागि अप्लाई गरेका छन्। उनले सेवा निवृत्त निवास व्यवस्थापन (रेसिडेन्ट रिटायरमेन्ट म्यानेजमेन्ट) भन्ने विषय पढ्न जान लागेका हुन्।

गुरुङले यसअघि पनि वृद्धाश्रममा काम गरेको हुनाले भविष्यमा सहज हुन्छ भनेर पढ्न जान लागेको बताएका हुन्।

‘अन्य देशभन्दा क्यानडा भविष्यका लागि राम्रो छ,’ उनले भने, ‘अस्टे«लियामा नेपाली धेरै जान थाले। त्यसैले म चाँहि क्यानडा जान लागेको हुँ। मैले पढ्न खोजेको विषय क्यानडामा राम्रो छ। त्यसैले जान खोेजेको हुँ।’ उनी थप्छन्, ‘मैले बिएसडब्लु पढेको हुँ। जागिर पनि छ। अब जागिर छोडेर आफ्नै व्यवसाय गरूँ भने बुबाआमाले लगानी गर्नुहुन्न। विदेश पढ्न जान्छुु भन्ने हो भने घर जग्गा नै धितो राखेर भए पनि लगानी गर्न तयार हुुनुहुन्छ। क्यानडामा कमाइ हुने पूर्ण विश्वास छ उहाँहरूलाई।’ उनले हाल आफूले गरिरहेको कामको सबैले हेला गर्ने गरेको बताए। विदेश गए जस्तो सुकै काम गरे पनि पैसा त कमाइने तर नेपालमा जे काम गरे पनि जस नपाइने उनको गुनासो छ।

गुरुङले आफ्नो दुःख पोख्दै भने, ‘नेपालमा बस्दा कमाउन नसक्ने अनि काठमाडौंमा घर छँदै छ, बुबा आमा छदै हुनुहुन्छ, किन काम गुर्नप¥यो भन्ने सोच आउँछ तर विदेश गए काम गर्न मन लाग्छ। दुःख बुझिन्छ। त्यसैले विदेश रोजेको।’

काठमाडौंको बागबजारस्थित राइटपथ करिअर काउन्सिलिङका संस्थापक सिइओ फिलिप डिसीका अनुसार वैदेशिक शिक्षाका लागि नेपाली विद्यार्थी अस्ट्रेलियापछि क्यानडा रोज्न थालेका छन्।

छात्रवृत्तिको राम्रो व्यवस्थाले पनि विद्यार्थी क्यानडा जाने गरेको उनले बताए। ७० देखि ८० प्रतिशतसम्म छात्रवृत्ति क्यानडाले दिएको पनि बताए।

उनले थपे, ‘अन्तर्राष्ट्रिय विद्यार्थीका लागि क्यानडा सरकारले ग्राजुएसन सकिएपछि पोस्ट ग्राजुएसन वर्क पर्मिटको व्यवस्था गरेको छ। यसअन्तर्गत विद्यार्थीले पढाइपछि आफ्नो क्षेत्रमा तीन वर्ष काम गर्ने अवसर पाउँछन्। यसपछि तुरुन्तै विद्यार्थीहरूले पिआर अप्लाई गरेर स्थायी बसोबास गर्ने अनुमति पाउने सम्भावना बढ्छ।’ उनले सेटलमेन्ट हुन सजिलो भएकाले पनि क्यानडा रोज्ने गरेको बताए।  

डिसीले क्यानडाको भिसाबारे बोल्दै भने, ‘क्यानडाको भिसा सक्सेस रेट एकदमै राम्रो छ। यसअघि २० देखि ३० प्रतिशत भिसा सक्सेस रेट हुँदा नि रोजाइमा थियो। अहिले क्यानडामा भिसा सक्सेस रेट ७० देखि ८० प्रतिशत छ। त्यस्तै अस्ट्रेलियाभन्दा डकुमेन्टेसनमा सजिलो र सहज रहेको छ। शैक्षिक योग्यता र इङ्लिसमा विज्ञता छ भने सजिलै क्यानडा जान सकिन्छ।’

उनले विद्यार्थीहरूले आइइएलटिएसमा ६.५ र पिटिईमा ५५ भन्दा माथि ल्याए क्यानडा जान सकिने बताए।

शिक्षा मन्त्रालयका अनुसार पछिल्ला पाँच महिनामा क्यानडा जाने विद्यार्थीको संख्या बढिरहेको छ। आर्थिक वर्ष २०७९ साउनदेखि पुसम्म कुल ४५ हजार ९ सय १२ विद्यार्थीले एनओसी लिएको तथ्यांक छ। जसमध्ये क्यानडाका लागि कुल ८ हजार १ सय ३५ विद्यार्थीले उच्च शिक्षा हासिल गर्न नो अब्जेक्सन लेटर लिएको शाखा प्रमुख वासुदेव वस्तीले बताए।

अर्बिट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका अध्यक्ष शेषराज भट्टराईका अनुसार नेपालबाट विशेषगरी नर्सिङ, इन्जिनियरिङ, आइटी, कम्प्युटर इन्जिनिरिङ, टुरिजम, होटेल व्यवस्थापन विषयमा स्नातकोत्तर गर्न धेरै विद्यार्थी जाने गरेको उनले बताए।

उनले क्यानडामा पिआर पाउन त्यहाँको सरकारले काम र पढाइको अनुसार दिने बताए।

‘विद्यार्थीहरू मात्र होइन, नेपालको कलचरलाई लिएर पनि गएको हुन्छ। नेपालीहरू मेहनती पनि हुन्छन्। त्यहाँ भेदभाव हुँदैन। त्यसैले आफ्नो परिवार लैजान पनि सहज हुन्छ,’ पिआरका बारेमा बोल्दै भट्टले भने, ‘लामो समयको ग्याप पनि सजिलै लिन्छ तर आफूले किन पढ्न लागेको भन्ने विषयमा प्राविधिक र सिपमूलक शिक्षा नै क्यानडाको डिमान्डिङ विषय हुन्।’ उनले थपे, ‘सिपमूलक शिक्षा हासिल गरेका विद्यार्थीले तुरुन्तै रोजगारी पाउँछन्। आफ्नो शैक्षिक लगानी विद्यार्थीले काम गरेरै उठाउने भएकाले अभिभावकलाई आर्थिक भार पर्दैन।’

उनका अनुसार डिपेन्डेन्ट भिसा अप्लाई गरेर परिवारसमेत लान पाउने प्रावधानले क्यानडा विद्यार्थीको आकर्षक गन्तव्य बनेको हो। पढ्ने नै चाहना भएका विद्यार्थीले कागजात पु¥याएर अप्लाई गरे भिसा सहजै पाउँछन्। क्यानडामा नागरिकको न्यूनतम आधारभूत आवश्यकता खाना, बसोबास, शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले गर्ने व्यवस्थाले पनि विदेशी विद्यार्थीलाई क्यानडा सहज बन्दै गएको हो।

विभिन्न क्षेत्रमा सिपमूलक शिक्षा हासिल गरेका र सोही क्षेत्रमा कामको अनुभव लिएर अंग्रेजीमा दक्षता हासिल गरेका व्यक्तिका लागि क्यानडा सरकारले एक्सप्रेस इन्ट्रीको व्यवस्था गरेको हो।

विश्वभरका ख्यातीप्राप्त १ सय ५० विश्वविद्यालयमध्ये ५ वटा विश्वविद्यालय क्यानडामा रहेका छन्। क्यानडाका चर्चित विश्वविद्यालयहरूमध्ये टोरन्टो विश्वविद्यालय, म्याकगिल विश्वविद्यालय, ब्रिटिस कोलम्बिया विश्वविद्यालय, मोन्ट्रियल विश्वविद्यालय, अल्बर्ट विश्वविद्यालय, म्याकमास्टर विश्वविद्यालय र वाटरलु विश्वविद्यालय रहेका छन्।

प्रकाशित: १७ फाल्गुन २०७९ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App