२२ मंसिर २०८२ सोमबार
image/svg+xml
खेल

ताप्ली भलिबल : यसवर्ष पनि आयोजकले नै जित्यो उपाधि

उदयपुरको ताप्लीमा आयोजित अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि यस वर्ष पनि आयोजक स्वयंले चुमेको छ। १९ गते सुरु भएर २१ गते सम्पन्न प्रतियोगितामा आयोजक ताप्ली युवा तथा खेलकुद विकास समिति ए ले उपाधि चुमेको हो।  

गत वर्ष पनि विजेता रहेको ताप्ली ए ले यस वर्ष रौतामाई गाउँपालिकालाई पराजित गर्दै उपाधि सुरक्षित गरेको हो। उपाधि जितेसँगै ताप्ली ए ले १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।  

त्यसैगरी उपविजेता बनेको रौतामाईले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित कप, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। गाउँ मुकाम रुपाटारस्थित खेलमैदानमा भएको प्रतियोगितामा छिमेकी स्थानीय तहहरू लिमचुङबुङ, उदयपुरगढी र रौतामाई गाउँपालिका तथा खोटाङको हलेसी तुवाचुङ नगरपालिका तथा आयोजक ए र बी खेलाडी समूहहरूको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष शैलेन्द्र राईले बताए।  

गाउँपालिकाको प्रायोजनमा गाउँ खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा समापन समारोहमा गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्मा र उपाध्यक्ष धनमाया मगरले विजेता खेलाडीहरूलाई नगद पुरस्कार, कप, सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे।  

पुरस्कार वितरण गर्दै अध्यक्ष विश्वकर्माले ताप्ली स्थानीय सरकार खेलकुदको विकासमार्फत युवाहरूलाई अनुशासित, गतिशील र देशभक्तिको पाठ सिकाउन चाहेको बताए। खेलकुद स्वास्थ्य र अनुशासनका लागि अत्यन्त महत्त्वपूर्ण भएको भन्दै उनले युवाहरू मात्र नभएर खेलकुदमा बालबालिका तथा वयस्क र प्रौढ पिँढीलाई पनि उत्तिकै आवश्यक रहेको बताए।  

उपाध्यक्ष मगरले खेलकुदमा महिलाको पनि उत्तिकै सहभागिताको खाँचो औँल्याउँदै पुरुषसमान अधिकारको भागिदारी खोज्ने महिलाहरूले जुनसुकै क्षेत्रमा हस्तक्षेपकारी सहभागिता जनाउन आह्वान गरिन्। खेलकुदको माध्यमबाट स्वास्थ्य र अनुशासनसँगै सामूहिकता र ऐक्यबद्धताको सन्देश प्रवाह गर्न पनि खेलाडीहरू लागी पर्नुपर्ने उपाध्यक्ष मगरको भनाइ थियो।

प्रकाशित: २२ मंसिर २०८२ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App