२९ मंसिर २०८२ सोमबार
image/svg+xml
सम्पादकीय

दिगो विकास लक्ष्य प्रगति सुस्त

संयुक्त राष्ट्र संघले गत सोमबार ‘दिगो विकास लक्ष्य प्रतिवेदन २०२५’ सार्वजनिक गरेको छ। दिगो विकासका लागि २०३० अजेन्डा अवलम्बन गरेको दशकपछि प्रकाशित वार्षिक प्रगति प्रतिवेदनको १०औं संस्करणले एकातिर दिगो विकास लक्ष्यको कठोर मूल्यांकन गरेको छ भने अर्कोतिर तत्काल ठोस कार्य गर्न आह्वान गरेको छ। स्वास्थ्य, शिक्षा, ऊर्जा र डिजिटल कनेक्टिभिटीमा भएका उपलब्धिका कारण विश्वका लाखौं मानिसको जीवनमा सुधार आएको छ तर अबको पाँच वर्ष अर्थात् २०३० सम्मका लागि तय गरिएका लक्ष्यहरू पूरा गर्न ‘प्रगतिको गति’ अत्यन्त सुस्त छ।

पछिल्लो तथ्यांक अनुसार दिगो विकासका सन् २०३० सम्मका लक्ष्यमध्ये ३५ प्रतिशत मात्र प्रगतिको दिशामा छन्। अर्थात् तिनले मध्यमस्तरको प्रगति गरिरहेका छन्। झण्डै आधाजसो लक्ष्यहरू ‘निकै सुस्त गतिमा छन् र १८ प्रतिशत लक्ष्य त सुरुमा तय गरिएको लक्ष्यभन्दा पछाडि धकेलिएका छन्। प्रतिवेदनले सन् २०१० यता नयाँ एचआइभी संक्रमण झण्डै ४० प्रतिशतले घट्नुलाई ठूलो उपलब्धि मानेको छ। सन् २००० देखि सञ्चालन गरिएको मलेरिया रोकथाम अभियानले २.२ अर्ब सम्भावित सङ्क्रमण रोकिएको र एक करोड २७ लाख मानिसको जीवन बचेको प्रतिवेदनमा भनिएको छ।

यसैगरी सामाजिक सुरक्षा अब विश्वको आधाभन्दा बढी जनसंख्यामा पुगेको छ। एक दशक अघिको तुलनामा यो उल्लेखनीय प्रगति हो। सन् २०१५ यता ११ करोड थप बालबालिका र युवाहरू विद्यालयमा भर्ना भएका छन्। विश्वभर बालविवाह घट्दै गएको छ। विश्वभरका संसद्हरूमा महिलाको उपस्थिति बढेको छ।

सन् २०२३ सम्ममा विश्वको ९२ प्रतिशत जनंख्यामा बिजुलीको पहुँच पुगेको छ। सन् १०१५ मा इन्टरनेटको प्रयोग ४० प्रतिशत मात्र थियो भने सन् २०२४ मा बढेर ६८ प्रतिशत पुगेको छ। इन्टरनेटमा भएको पहुँचले शिक्षा, रोजगारी र नागरिक सहभागिताका ढोका खुलेका छन्। यो अवधिमा प्रमुख पारिस्थितिक प्रणालीको संरक्षणका गतिविधि दुईगुनाले बढेका छन्। यसले विश्वव्यापी जैविक विविधता उत्थानशीलतामा योगदान पुगेको छ। २०१२ र २०२४ बीच, पाँच वर्ष मुनिका बालबालिकामा हुने पुड्कोपना २६.४ प्रतिशतबाट २३.२ प्रतिशतमा झरेको छ भने सन् २००० र २०१९ बीच सरदर आयु पाँच वर्षभन्दा बढीले बढेको छ। विश्वव्यापी मातृ मृत्युदर, बाल मृत्युदरमा सुधार आएको छ।

सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्यहरूको तुलनामा यी प्रगतिहरू कमजोर छन्। उदाहरणका लागि विश्वमा अहिले ८० करोड मानिस चरम गरिबीमा बाँचिरहेका छन् भने अरबौं मानिसलाई अझै पनि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता सेवाको पहुँच उपलब्ध गराउन सकिएको छैन। जलवायु परिवर्तनका कारण सन् २०२४ हालसम्मकै सबैभन्दा तातो वर्ष बनेकोछ। द्वन्द्वका कारण सन् २०२४ मा करिब ५० हजार मृत्यु भएको छ भने १२ करोड मानिसहरू जबरजस्ती विस्थापित भएका छन्। विश्वभर १.१२ अर्ब मानिसहरू अझै पनि न्यूनतम आधारभूत सेवाबाट बन्चित रहेर झुपडी अथवा अनौपचारिक बस्तीमा बस्न बाध्य छन्। पाँच वर्षको वृद्धिपछि सन् २०२४ मा आधिकारिक विकास सहायता ७.१ प्रतिशतले घटेको छ र सन् २०२५ मा थप कटौती हुने देखिएको छ।

यो समग्र चुनौतीको पृष्ठभूमिमा प्रतिवेदनले खाद्य प्रणाली, ऊर्जा पहुँच, डिजिटल रूपान्तरण, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा, जलवायु र जैविक विविधता जस्ता ६ प्राथमिक क्षेत्रको सुधारमा तत्काल ठोस कार्य गर्न आवश्यक रहेको बताएको छ। सन् २०३० सम्म हासिल गर्ने भनिएको लक्ष्य पूरा गर्न अबका पाँच वर्ष निकै महत्त्वपूर्ण हुने प्रष्ट छ। यी लक्ष्य हासिल गर्न विश्वलाई पाँच वर्ष अवसर छ। सन् २०३० सम्म हासिल गर्ने भनिएका प्रतिज्ञा महत्त्वाकांक्षी छैनन् र यसमा यो अथवा त्यो कारणले संभव भएन भन्ने छुट कसैलाई छैन। प्रतिवेदन सार्वजनिक गर्ने क्रममा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले ‘हामी अहिले एक विश्वव्यापी विकास आपतकालको अवस्थामा छौं’ भनेका थिए।

अझै पनि करौडौं मानिस चरम गरिबीमा बाँच्न बाध्य भएको र जलवायु प्रभावहरू दिनानुदिन तीव्र बन्दै गइरहेको तथा गरिब देशले विकासमा खर्चिनुपर्ने आर्थिक स्रोतलाई ऋण चुक्तामा प्रयोग गर्नुपर्नु बाध्यताको परिप्रेक्ष्यमा गुटेरेसको कथन समय सापेक्ष छ। दिगो विकास लक्ष्यहरूमा उल्लेख्य प्रगति नभएको वर्तमान अवस्थामा ‘तत्काल बहुपक्षीयता’को खाँचो टड्कारो बनेको छ। प्रष्ट छ, हाल मानवसमाजले सामना गरिरहेका चुनौतीहरू मौलिक रूपमा विश्वव्यापी र अन्तरसम्बन्धित छन्। कुनै पनि देश जति नै धनी वा सक्षम किन नहोस्, त्यसले एक्लै जलवायु परिवर्तन, महामारीबाट जोगिने तयारी वा असमानता समाधान गर्न सक्दैन।

२०३० अजेन्डा हामी सबैको साझा स्वीकारोक्ति हो र हाम्रो भविष्य एक–अर्कासँग गाँसिएका छन्। दिगो विकास कुनै शून्य–लाभको खेल होइन, यसको फाइदा सबैले उठाउन सक्छन्। प्रगति स्तर सुस्त भए पनि बाँकी वर्षमा विश्वले ‘तत्काल, एकताबद्ध र दृढ संकल्पका साथ उपयुक्त कदम’ चाल्न सके दिगो विकास लक्ष्यहरू अझै हासिल गर्न सकिने अवस्थामा छ। दिगो विकास लक्ष्यलाई केवल आकांक्षात्मक होइन, वर्तमान र भविष्यका पुस्ताहरूप्रतिको अनिवार्य प्रतिबद्धता र उत्तरदायित्वको रूपमा लिनुपर्छ। अहिलेको समय भनेको निराशा होइन तर दृढ कार्यका लागि हो। यसमा सबै गम्भीर बन्नै पर्छ।

प्रकाशित: १ श्रावण २०८२ ०६:०० बिहीबार

Download Nagarik App
Download Nagarik App