हरेक विकासका आफ्नै सकारात्मक र नकारात्मक पक्ष छन्। हिजो सूचना प्रविधिका दृष्टिले संसार पछि परेका बेला स्थिति भिन्न रहेको हो। यसको विकाससँगै राष्ट्रहरू आपसमा जोडिएका छन्। अहिले प्रत्येक व्यक्ति सूचना प्रविधिका माध्यमबाट सहजै ‘विश्व ग्राम’को अवधारणामा परिणत भएको छ। अमेरिकाको न्युयोर्कमा बस्ने होस् वा नेपालको नयाँ सडकमा सूचना प्राप्ति र उपभोगमा ‘नानो सेकेन्ड’को अन्तर छैन। यसले यस धराका सबै नागरिकलाई अविच्छिन्नरूपमा सूचना प्राप्तिको अवसर प्राप्त छ। कतिपय शासनहरूले सूचना प्राप्तिमा गर्ने अवरोधबाहेक यस क्षेत्रमा भएको विकासले सबैलाई अवसर सिर्जना गर्न सकेको छ।
आकाशवाणी (आवा) मार्फत् पठाइने केही शब्दका सन्देशबाट पनि काम चलेकै हो। आज भने हामी सूचना प्रविधिका माध्यमबाट अविच्छिन्नरूपमा जोडिएका छौं। अर्थात् हिजो हामी हाम्रै जीवनमा प्रत्यक्ष कुराकानी गर्ने हैसियतमा थिएनौं। हिजो हामी निश्चित समयका निम्ति आउने टेलिभिजन र रेडियो सामग्रीका साथै अखबारबाट सूचना र मनोरञ्जन लिन्थ्यौं भने आज हाम्रा निम्ति यस्ता सामग्री प्रत्येक क्षण प्राप्त भइरहेका छन्। सूचना र जानकारी प्राप्त गर्ने र यसको उपभोग गर्ने विधिमा समय सन्तुलन पनि उत्तिकै आवश्यक देखिन थालेको छ।
हिजो अध्ययनकै सिलसिलामा कैयन पाठ्यसामग्रीबाट छानेर जानकारी लिनुपथ्र्यो भने अहिले सामान्य ‘कमान्ड’ दिएकै भरमा धेरै विषय बोध हुन पुग्छ। यसले कालान्तरमा हाम्रो व्यवहार कस्तो बनाउँछ भन्ने चिन्ता बढ्न थालेको छ। अझ ‘अल्गोरिदम’का कारण उपभोगको प्रवृत्तिअनुसार छानिएर आउने सामग्रीको निरन्तर उपभोगले व्यक्तिलाई कुन हदको एकांगी बनाउँछ भन्ने खतरा पनि बढ्न थालेको छ। कतिपय सामग्री सजिलै प्राप्त हुँदा खोज गर्ने बानीमा कमी आउने खतरा पनि बढ्दो छ। विशेष गरी ‘च्याट जिपिटी’ जस्ता यन्त्रमानवका कारण कालान्तरमा विद्यार्थीको स्तरमा आउन सक्ने चुनौती अनेक देखिन थालेका छन्। यस्ता सुविधाको उपभोगले युवा विद्यार्थीको मानसिकतामा कस्तो प्रभाव पार्छ भन्ने अध्ययन हुन थालिसकेको छ। विद्यार्थीले मेहनत गरी सामग्री खोजी गर्नु र सिधै यस्ता सुविधा उपयोग गर्नुमा ठुलो अन्तर देखिन थालेका छ। मानव मस्तिष्कमा यसले प्रभाव पार्न सक्ने अवस्था प्रारम्भिक अध्ययन नतिजाले देखाउन थालेका छन्। च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीको सिक्ने उत्सुकता निकै तल झरेको अवस्थाले चिन्ता हुनु स्वाभाविक हो। समयमै नियन्त्रण नगर्ने हो भने व्यक्तिको बौद्धिक शक्ति कमजोर हुने अध्ययनले देखाएको छ।
विद्युतीय उपकरणको अधिक उपभोगले बाल मस्तिष्कमा पर्ने प्रभावबारे धेरै मुलुकले बुझिसकेका छन्। हाम्रै उत्तरको छिमेकी चीनले उमेरका आधारमा इन्टरनेटको उपभोग गर्ने समय सीमा तोकिदिएको छ। आठ वर्षमुनिका बालबालिकाका निम्ति दैनिक ४० मिनेट मात्र इन्टरनेट उपभोग गर्न पाउँछन्। त्यसैगरी आठ देखि १६ वर्ष उमेरका बालबालिकाले एक घन्टा र १६ देखि १८ वर्षका किशोरकिशोरीले दुई घन्टा मात्र यसको प्रयोग गर्न पाउँछन्। हामीले बच्चाहरूलाई यति धेरै इन्टरनेटको कुलतमा लगाइसकेका छौं कि तिनलाई खाना खान दिँदासमेत मोबाइल हेर्न दिन्छौं। बाल मस्तिष्कले भावी जीवनका निम्ति आवश्यक अनेकन ज्ञान, सिप र व्यवहार सिक्नुपर्ने हुन्छ। उनीहरूले इन्टरनेटमै आफूलाई व्यस्त गराउँदा तिनको सिर्जनशीलतामा स्वाभाविक तवरले कमी आउनसक्ने देखिन्छ। फ्रान्स, स्पेन र ग्रिसजस्ता युरोपेली मुलुकले सामाजिक सञ्जालले प्रयोग गरेको ‘अल्गोरिदम’ले कुलतयुक्त सामग्रीका कारण दिग्दारी र अवसादको सिकार बन्ने प्रष्ट पारिसकेका छन्। यस्ता सामग्रीमा अत्यधिक पहुँचले तिनको सिप सिकाइलाई सीमित मात्र गर्दैन दिमागको क्षमतालाई समेत कमजोर बनाउने तर्क गरिरहेका छन्। त्यसैकारण युरोपेली संघले डिजिटल सर्भिस एक्ट (डिएसए) कार्यान्वयनमा ल्याई घृणास्पद अभिव्यक्ति, आतंकवाद र बाल यौनदुराचार नियन्त्रण गर्न खोजेको छ।
बालबालिकामा मात्र होइन वयस्क व्यक्तिले समेत आफ्नो विद्युतीय उपकरणप्रतिको निर्भरता ‘स्क्रिन टाइम’ व्यवस्थित गर्नुपर्ने देखिएको छ। जेसुकै कुराको पनि अति प्रयोग घातक हुन सक्छ। आज टाढा पुगेका परिवारजनलाई जोड्न सूचना प्रविधिले जति सजिलो पारेको छ त्यति नै तोड्ने काम पनि गरेको छ। यसकारण संयम प्रयोगमा ध्यान दिने र दिमागको बोझ कम गर्ने गरी यसको उपभोग गर्ने बेला भइसकेको छ। हाम्रो सरकारले पनि बालबालिकालाई इन्टरनेट सामग्रीमा कति पहुँच दिने र तिनलाई कसरी जोगाउने भनेर सोच्न ढिला भइसकेको छ। बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूले तिनलाई जोगाउन कानुनी प्रावधानका निम्ति आह्वान गरेको देखिए पनि सरकारको तर्फबाट लिनुपर्ने कदमको अपेक्षा छ।
एक अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा सन् २०११ देखि २०१९ सम्ममा स्मार्ट फोन प्रयोगकर्ताहरू दुई गुना बढेका छन्। तिनै अमेरिकी युवायुवतीमा मानसिक रोग पनि झन्डै दोब्बर देखिएको छ। सामाजिक सञ्जाल, टेलिभिजनजस्ता विद्युतीय माध्यमको प्रयोगले बढ्दो उमेरका व्यक्तिलाई समेत असर पार्ने अध्ययनहरूले देखाइसकेका छन्। सामाजिक सञ्जालको प्रयोगलाई मद्यपानको कुलतसँग जोड्न थालेका कारण पनि यसको सन्तुलित प्रयोग अत्यावश्यक भइसकेको छ। यसकारण सरकारले यसको प्रयोगका निम्ति राष्ट्रिय नीति तय गर्नुपर्छ। अझ अहिले इन्टरनेटको विकासको थालनी मात्र हो, योभन्दा अगाडि बढ्दैछ। त्यतिबेला हाम्रो समाज र सभ्यता जोगाउन के गर्नुपर्ने हो सोच्ने बेला यही हो। ढिलो गरेर पछुताउनुभन्दा अहिले नै गरिने तयारीले बालमस्तिष्कमा पर्ने नकारात्मक प्रभावबाट जोगाउन मदत पुग्छ।
प्रकाशित: २५ असार २०८२ ०६:०३ बुधबार

