१७ पुस २०८२ बिहीबार
image/svg+xml
सम्पादकीय

हरित नेपालका लागि हाइड्रोजन

अहिले जुन गतिमा वातावरण विनाश भइरहेको छ, त्यसलाई थप बिग्रन नदिन उपभोगको शैलीमा परिवर्तन ल्याउनु परेको छ। पेट्रोलियम पदार्थको विकास र उपभोगसँगै विकासले फड्को मारे पनि त्यसको असर अहिले आएर महसुस भइरहेको छ। हाम्रा हिमनदीहरू पग्लिन थालेका छन्। बढ्ता गर्मी महसुस हुन थालेको छ। मौसमी परिवर्तनले अस्वाभाविक अवस्था महसुस हुँदैछ। यो स्थितिमा उपभोगको शैली परिवर्तन गरेर वातावरणमैत्री व्यवहार अपनाउनुपर्ने भएको छ। यो दुनियाँमा जति समस्या छन्, तिनको समाधान प्रविधिको विकाससँगै भएको पनि छ। हिजो प्रदूषणकारी ‘डर्टी इनर्जी’ प्रयोग हुन्थ्यो भने अहिले त्यसको विकल्पमा सफा ऊर्जा ‘क्लिन इनर्जी’ उन्मुख हुन हामी बाध्य छौं।

मुलुकको एक मात्र पेट्रोलियम पदार्थको आयात एवं बिक्रीकर्ता सरकारी संस्थान नेपाल आयल निगमले हाइड्रोजन ग्यास उत्पादन र प्रयोग गर्ने योजना बनाएको समाचार आफैंमा सुखद छ। सफा र हरित ऊर्जा स्रोतका रूपमा हाइड्रोजन ग्यास प्रयोग गर्नेहरू तयार भइसकेका छन्। पेट्रोलियम पदार्थको विकल्पका रूपमा यसलाई प्रयोग गरी वातावरण जोगाउने प्रक्रिया प्रारम्भ भइसकेको छ। प्रदूषणकारी पेट्रोलियम पदार्थको सट्टामा हाइड्रोजन ग्यास प्रयोगको तयारी थाल्नु निगमको सकारात्मक कदम हो। यसले एकातिर वातावरण संरक्षणमा योगदान गर्छ भने अर्कोतिर विदेशी मुलुकसँगको ऊर्जा निर्भरता कम गर्छ। आजको दिनमा ऊर्जा निर्भर हुनु पनि सुरक्षाको एउटा उपाय हो। हो, सबै क्षेत्रमा स्वनिर्भर हुन सकिँदैन तर मुलुकको सुरक्षाको कुरा गर्दा ऊर्जा, खाद्यान्न र अन्य सुरक्षाका उपायलाई बेवास्ता गर्न सकिँदैन।

नेपाल यसै पनि जलविद्युत् उत्पादनका दृष्टिले सम्भावित थोरै मुलुकमध्ये एकमा पर्छ। हाम्रो मुलुक हाइड्रोजन ऊर्जा उत्पादनका दृष्टिले पनि सम्भावना भएकोमा पर्छ। यो सम्भावनालाई बुझेर निगमले योजना कार्यान्वयन गर्न खोजेको हो। यसरी पहिलो चरणमा सवारी साधान र त्यसपछि पाककार्यमा यसको प्रयोग गर्ने योजना बनाइएको छ। निगमको सहयोगमा काठमाडौं विश्वविद्यालयले कारमा हाइड्रोजन प्रयोग सफल भइसकेपछि व्यावसायिक उत्पादन सुरु हुन लाग्नु आफैंमा उत्साहको खबर हो।

हाइड्रोजन कार प्रयोगमा ल्याउन धेरै देशले लगानी गरिसकेका छन्। जापान, दक्षिण कोरिया, जर्मनीलगायतका मुलुकले यस क्षेत्रमा आफूलाई अग्रणीका रूपमा प्रस्तुत गरिरहेका छन्। यी मुलुकले हाइड्रोजन पूर्वाधार, अनुसन्धान, सवारी उत्पादनमा आफूलाई लगाएका छन्। उनीहरूले यातायात क्षेत्रमा यो इन्धनको प्रयोग बढाउने गरी आफूलाई तयार पारिरहेका छन्। यो गतिमा नेपालले पनि आफूलाई हातेमालो गर्ने ठाउँमा पु¥याउनु राम्रो हो। वातावरणीय संकटमा हाम्रो मुलुकले महसुस गर्ने गरी असर पर्न थालिसकेको छ। यस्तो अवस्थामा आधुनिक र उपलब्ध प्रविधि प्रयोग गरी मुलुकलाई स्वच्छ वातावरणयुक्त बनाउनु आवश्यक छ। केही वर्षअघिसम्म हिउँदमा वातावरण बिग्रेको महसुस नहुने हाम्रो देशमा अहिले सासै फेर्न गाह्रो पर्ने भइसकेको छ। यस्तो अवस्थामा पनि नचेत्ने हो भने कहिले अगाडि बढ्ने?

हाइड्रोजन पानी र बिजुलीबाट उत्पादन हुन्छ। यो हाम्रो मुलुकमा उपलब्ध छ। यत्रो वर्ष हामीले विदेशबाट पेट्रोलियम पदार्थ ल्याएर जीविका गरेका छौं तर नयाँ प्रविधिमा जान चाह्यौं भने त्यसले हामीलाई सहज हुनेछ। खतरा त के हो भने कुनै नयाँ काम गर्न थालेपछि त्यसमा ढिलाइ गर्ने वा त्यता जानै नदिने अवस्था पनि आउन सक्छ। त्यसको राम्रो उदाहरण भनेको मुलुकमा रासायनिक मल कारखान खोल्ने योजनालाई लिन सकिन्छ। वर्षौंदेखि मल कारखानाको कुरा गरे पनि त्यसलाई मूर्तरूप दिने काम भएन। त्यो अनुभवका आधारमा हाइड्रोजनलाई सवारी साधनमा, खाना पकाउन प्रयोग गर्ने योजनालाई अलपत्र पार्ने काम नहोस्। सकेसम्म पेट्रोलियम पदार्थको उपभोग गर्ने कामबाट हामीलाई अलग पार्ने योजना कार्यान्वयनमै जानु उचित हुन्छ।

अध्ययनअनुसार एक किलो हाइड्रोजन ऊर्जा व्याट्रीको तुलनामा चार सय गुणा हलुका हुन्छ। एक किलो यस्तो ग्यासले एउटा कार ७० किलोमिटरसम्म गुड्न सक्छ। अहिले हामीले विद्युतीय कारलाई पेट्रोलियमभन्दा उन्नत विकल्पका रूपमा लिइरहेका छौं। हाइड्रोजन कारको उपयोग हुन थाल्यो भने त्योभन्दा बढ्ता उपलब्धि हुने पुष्टि भइरहेको छ। विकसित मुलुकहरूले पेट्रोलियम र कोइलाको विकल्पका रूपमा हाइड्रोजन ऊर्जा उपयोग गर्न थालिसकेका कारण पनि यो प्रविधि हामी कहाँ आउनुपर्छ। केही समय यो महँगो जस्तो भए पनि यसको व्यापकतासँग प्रविधि सस्तो हुँदै जान्छ। यसको प्रयोगले विशेष गरी नेपालको व्यापार घाटा कम गर्न सहयोग पुग्छ। हामीले बर्सेनि करिब पौने तीन खर्ब रूपैयाँ पेट्रोलियम पदार्थ आयात गर्न मात्रै खर्चिने गरेका छौं। यति रकम हाम्रो विकास निर्माणमा मात्र लगाउन पाउने हो भने पनि हाम्रो अवस्था अहिलेभन्दा धेरै सुध्रिन सक्छ।

सरकारले आफैं चासो देखाएको र ग्रिन हाइड्रोजन नीति पनि ल्याएको छ। हरित ऊर्जाको प्रयोग र विस्तारले नेपाललाई यस क्षेत्रमा अग्रणी बनाउन सक्छ। त्यति मात्र होइन पर्यटनलाई प्रमुख व्यवसाय बनाउन खोजिरहेको हाम्रो मुलुकले वातावरण जोगाउन सक्ने ऊर्जामै ध्यान दिने हो। यसकारण पनि यो उत्साहजनक खबरलाई यथार्थ बनाउन सरकारले विशेष भूमिका खेल्नुपर्छ। उपभोग गर्न सक्ने व्यक्तिहरूले पनि यस्तो प्रविधिलाई आत्मसात गर्नुपर्छ। हाम्रो मुलुक नयाँ प्रविधि उपयोग गर्न अग्रसर छ। विद्युतीय सवारीप्रतिको आकर्षणले पनि यो पुष्टि भइसकेको छ। यस दृष्टिमा हाइड्रोजन ऊर्जामा नेपालले आफूलाई अग्रसर गराउनेमा विश्वस्त हुन सकिन्छ।

प्रकाशित: २७ असार २०८२ ०६:०४ शुक्रबार

Download Nagarik App
Download Nagarik App