१४ पुस २०८२ सोमबार
image/svg+xml
सम्पादकीय

एसियाको जल्दोबल्दो चुनौती

जमिनले ओगटेको क्षेत्र र जनसंख्याका दृष्टिले सबैभन्दा ठुलो महादेश एसिया हो। यसले गर्दा पनि विश्व मानचित्रमा एसियाको महत्त्वपूर्ण स्थान रहँदै आएको छ।

हालै सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले जलवायुजन्य चुनौतीका दृष्टिले यो महादेश सबैभन्दा बढी प्रभावित रहेको देखाएको छ। सो प्रतिवेदनले विश्वका अन्य महादेशभन्दा एसियाको सरदर तापक्रम दुई गुणाले बढेको पाइएको छ। विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)द्वारा गत साता जारी गरिएको ‘स्टेट अफ क्लाइमेट इन एसिया–२०२४’ प्रतिवेदनमा विश्वको सबैभन्दा ठुलो महादेश सबैभन्दा छिटो तातो भइरहेको र तापमान वृद्धिको  दर रोकिने  संकेत तत्काल नरहेको देखाएको छ।

सन् २०२४ मा एसियाको औसत तापक्रम सन् १९९१ देखि सन् २०२०को औसतभन्दा करिब १.०४ डिग्री सेल्सियसले अधिक रहेको प्रतिवेदनमा उल्लेख छ। यसै गरी सन् १९६१ देखि १९९० को तुलनामा सन् १९९१ देखि २०२४ को अवधिमा एसिया क्षेत्रमा भएको तापक्रम वृद्धि लगभग दोब्बर रहेको प्रतिवेदनले देखाएको छ।

एसिया उत्तरी ध्रुवीय क्षेत्र (आर्कटिक)सम्म फैलिएको छ। एसियाले विश्वको ३० प्रतिशत भूभाग ओगट्छ भने विश्वको ६० प्रतिशत जनसंख्या यहीं बस्छन्। यो क्षेत्रमा समुन्द्रमा भन्दा जमिनमा तापक्रम वृद्धि बढी भएकाले विश्वव्यापी औसतभन्दा यो महादेश दुई गुणा छिटो तातो भइरहेको प्रतिवेदनको ठम्याइ छ। सतहको तापक्रममा हुने भिन्नताले प्राकृतिक प्रणाली र मानव जीवनमा ठुलो प्रभाव पार्ने प्रस्ट छ।

त्यसो त, सन् २०२४ लाई  विश्वले तापक्रम रेकर्ड राख्न सुरु गरे यताकै सबैभन्दा बढी तातो वर्ष मानिन्छ। यो वर्ष औद्योगिक क्रान्ति सुरु हुनुअघिको तुलनामा सरदर तापमान १.५ डिग्रीले बढी रेकर्ड गरिएको थियो। सन् २०२४ मा दक्षिणपूर्वी एसिया, मध्य एसिया र मध्यपूर्व लगायत अन्य स्थानमा अत्यधिक गर्मी भइको पाइयो। अप्रिलदेखि नोभेम्बरसम्म पूर्वी एसियामा लामो समयसम्म गर्मीको लहरले प्रभाव पर्‍यो  भने त्यसै वर्षको गर्मी महिनामा जापान, दक्षिण कोरिया र चीनले एकपछि अर्को गर्दै औसत तापक्रमका रेकर्ड तोडे।

तापक्रम वृद्धिले यो महादेशमा चरम मौसमी घटना बढेका, जीवन र जीविकोपार्जन प्रभावित भएको, पारिस्थितिक प्रणाली र अर्थतन्त्रमा गम्भीर खतरा निम्तिएकोमा प्रतिवेदनले चिन्ता व्यक्त गरेको छ। हुन पनि  यो क्षेत्रका कुनै पनि देश यो संकटबाट मुक्त छैनन्। एसियाको ठुलो भूभाग बढ्दो तापक्रमको मारमा पर्नु चिन्ताको विषय हो। यसअघिनै बाढी पहिरो, डुबान, वन ढडेलो, खडेरी, अतिवृष्टि तथा अनावृष्टि जस्ता चरम मौसमी घट्नाले ठुलो  क्षति पुर्‍याइरहेको अवस्थामा नयाँ प्रतिवेदनले झन् गम्भीर संकेत गरेको छ।

तापमान वृद्धिका कारण एसियाको मध्य भागमा रहेको हिन्द कुश हिमालय क्षेत्रमा हिउँदमा हिउँ पर्ने दरमा कमी आएको छ भने भएका हिउँ तथा हिमनदी पग्लने क्रममा तीव्रता आएको छ। इसिमोडले गरेको एक अध्ययनले २४ उच्च हिमाली हिमनदी मध्ये २३ हिमनदीमा हिउँको आयतन घटेको देखाएको छ।

हिन्द कुश हिमालय क्षेत्रको तल्लो तटमा बस्ने नागरिकहरूको खानेपानी तथा सिँचाइका लागि आवश्यक स्वच्छ खानेपानी तथा समग्र जल सुरक्षाका लागि हिमालमा रहेका हिउँहरूको भूमिका अहम् छ। यसमा तलमाथि हुँदा यसको प्रभाव बहुआयामिक छ। जलवायुजन्य संकटसँग जुध्न र अनुकूलित हुन यो क्षेत्रका देशको क्षमता कमजोर छ। झन्, नदी किनार, समुद्रतटमा बसोबास गर्ने गरिब तथा विपन्न समुदाय यो संकटको सबैभन्दा धेरै जोखिममा छन्। यो समग्र पृष्ठभूमिमा जलवायु संकटलाई सम्बोधन गर्न सुदृढ र प्रभावकारी जलवायु कार्यको आवश्यकता अपरिहार्य बनेको छ।

विश्व समुदायको अकर्मण्यताले निम्त्याउने संकट यो क्षेत्रका सर्वसाधारणले अत्यधिक बेहोर्नुपर्ने बाध्यतालाई न्यायसंगत मान्न सकिन्न। यसका लागि एसिया लगायत समग्र विश्व समुदायले तत्काल पहल गर्नुपर्ने देखिन्छ। एकातिर विषम मौसमी घट्नालाई सम्बोधन गर्न समुदायको अनुकूलन तथा उत्थानशील क्षमता सशक्त पार्नुपर्ने देखिन्छ भने अर्काेतिर  पूर्व सूचना र चेतावनी प्रणालीको भूमिका पनि उत्तिकै छ। प्रतिवेदनले यो क्षेत्रका जल तथा मौसम विज्ञानसँग सम्बद्ध निकायहरूको भूमिका झन् बढेको र यसका लागि आपसी सहकार्य र सूचना आदानप्रदान हुनुपर्ने विषयलाई औंल्याएको छ। यो क्षेत्रका सरकारी निकाय र अन्य साझेदार वैज्ञानिक निकाय लगायत समुदायको संयुक्त कार्यले जीवन र जीविकोपार्जन बचाउनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।

एसिया चीन, भारत, पाकिस्तान, इरान, बांग्लादेश लगायतका देशहरूको आपसी सम्बन्ध जेजस्तो भए पनि जलवायु संकट र विपद्लाई सम्बोधन गर्न सबै देश एक ठाउँमा आउनै पर्छ। यी देशहरू उच्च हिमालदेखि समुद्रसम्म फैलिएका कारण आपसी सहकार्य र हातेमालोले हजारौं सर्वसाधारणको ज्यान जोगिन सक्छ। समयमा गरेको लगानीले पछि ठुलो क्षति हुनबाट रोक्छ। अंग्रेजीमा एउटा भनाइ छ, ‘ए स्टिच अन टाइम सेभ्स नाइन।’ जलवायु संकटका हिसाबले उच्च जोखिममा रहेको एसियालाई यसबाट मुक्तिको तयारी गर्ने समय अहिले नै हो। 

प्रकाशित: १६ असार २०८२ ०६:०३ सोमबार

Download Nagarik App
Download Nagarik App