२ असार २०८२ सोमबार
image/svg+xml
सम्पादकीय

सगरमाथालाई साथ

सगरमाथा विश्वको सर्वाेच्च शिखर मात्र होइन, नेपाल र समग्र विश्व समुदायको गौरव पनि हो। दशकौंदेखि विश्वको आरोहीका लागि र सर्वसाधारणका लागि यो आकर्षणको केन्द्र बनेको छ। सन् १९५३ को मे २९ मा शिखर एडमन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक यो शिखरको सफल आरोहण गरेका थिए। सगरमाथा आरोहणको विषयमा बेलायती आरोही जर्ज म्यालोरीको भनाइ प्रसिद्ध छ। ‘तपाईं किन सगरमाथाको चुचुरोमा पुग्न चाहनुहुन्छ ?’ भन्ने प्रश्नको उत्तरमा म्यालोरीले सन् १९२३ मा भनेका थिए, ‘किनकि यो त्यहाँ छ (बिकज इट इज  देयर)।’ उनको यो भनाइले असम्भवलाई सम्भव बनाउने मानवीय चाहना र महत्त्वाकांक्षालाई प्रतिबिम्बित गर्छ। सन् १९५३ यता हजारौं पर्वतारोहीले यसको सफल आरोहण गरेका छन् अनि कैयौंले यसक्रममा ज्यान गुमाएका पनि छन्।

विश्वको यो सम्पदा र आकर्षणको केन्द्र रहेको सगरमाथा पछिल्ला दशकमा विभिन्न हिसाबले संकटतर्फ धकेलिएको छ। आरोहीहरूले विगतमा गरेका फोहोरहरू अझै सफा हुन सकेका छैनन्। विशेष गरी नेपाली सैनिकले क्याम्प दुईसम्म सफाइ अभियान गर्ने तर त्यसभन्दा माथि सरसफाइ नगरेका कारण त्यहाँ अझै फोहोर रहेको पर्वतारोहीको भनाइ छ। त्यसो त पछिल्ला वर्षमा आरोहणका क्रममा सगरमाथामा हुने फोहोरलाई व्यवस्थापन गर्ने विषयमा केही नीतिगत व्यवस्था भएको कारण केही सुधार भएको छ। सगरमाथा सफल आरोहणको सात दशकको इतिहासमा सुरुका पाँच दशकमा फोहोर व्यवस्थापनमा खास कडाइ नहुँदा फोहोर त्यही थुप्रिएको  उनीहरू बताउँछन्।

फोहोर र पर्वतारोहीको भिडले मात्र होइन, पछिल्लो वर्षमा जलवायु परिवर्तनले सगरमाथा झन् पीडित बनेको छ। सगरमाथा क्षेत्रको हिउँ र हिमनदीहरू तीव्र हिसाबले पग्लिरहेका छन्। हिउँपहिरोको जोखिम बढेको छ। विश्वव्यापी तापक्रममा भइरहेको वृद्धिले तेस्रो ध्रुव मानिने हिन्दकुश हिमालय शृंखला र त्यही शृंखलामा पर्ने सगरमाथा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। यो क्रम जारी छ।

कुनै बेला सगरमाथाको बेसक्याम्पमा हिउँ फोरेर पानी खानुपर्ने अवस्था थियो, अहिले साढे ६ हजार मिटरमा पनि हिउँ पग्लेर पानी बनेकाले सजिलै पिउन सकिने पर्वतारोही बताउँछन्। केही वर्षअघि वैज्ञानिकहरूको एक टोलीले सगरमाथाको आधार शिविर र त्योभन्दा तल रहेको हिउँको तहमा ड्रिल गरेर भित्री तहमा रहेको हिउँको तापक्रम हेर्दा त्यो अपेक्षा गरेभन्दा धेरै तातो भएको पाएका थिए। वैज्ञानिकका लागि त्यो आश्चर्यजनक नतिजा थियो। यही सन्दर्भमा बेलायती र अन्य देशका वैज्ञानिकको एक टोली अहिले सगरमाथा क्षेत्रमा देखिएको यही असन्तुलनका कारण पत्ता लगाउन स्थलगत अध्ययन सुरु गरेको छ।

 यो अध्ययनले जलवायु परिवर्तनले सगरमाथा क्षेत्रका सवेदनशील वातावरण, हिउँ, जैविक विविधतालगायत क्षेत्रमा पारेको प्रभावलाई थप प्रस्ट पार्ने अपेक्षा गरिएको छ। वैज्ञानिक अध्ययनले हामीलाई यो संकटको कारण र प्रभाव मात्र आकलन गर्न सहयोग मात्र नभई भविष्यमा यो घटनाक्रम कसरी विकास हुनेछ भनेर समेत आकलन गर्न सहयोग पुर्‍याउँछ। यिनै वैज्ञानिक प्रमाणले संकटलाई तत्काल सम्बोधन गर्ने दिशामा ठोस कार्य गर्न अभिप्रेरित गर्छन्, आधार दिन्छन्।

प्रस्ट छ, यही हिसाबले विश्वको तापमान बढ्दै जाने हो भने केही दशकमा सगरमाथालगायत कैयौं अन्य हिमालहरू हिउँविहीन हुन सक्ने देखिएको छ। सामान्य हिसाबमा यो कल्पना पनि गर्न नसकिने विषय हो तर हामी त्यही दिशातर्फ उन्मुख छौं। विश्वव्यापी तापमान वृद्धिका लागि प्रमुख कारक रहेको कार्बन उत्सर्जनलाई नियन्त्रण गर्न ठोस प्रयास गर्न नसकेको खण्डमा त्यो दिन अवश्याम्भावी छ। त्यसो भएको अवस्थामा हिमाली क्षेत्रमा बसोबास गर्ने समुदाय र जलीय विविधता मात्र होइन, त्यो क्षेत्रबाट बग्ने पानीमा निर्भर रहने करोडौं मानिसकोे जीवनयपानसमेत प्रभावित बन्नेछ।

हिमाल बचाउन नेपालको प्रयास मात्र पर्याप्त हुँदैन। यसमा छिमेकी मुलुकदेखि समग्र विश्व समुदायको उत्तिकै चासो र सहयोग हुन आवश्यक छ। विशेषगरी मानव अस्तित्वलाई समेत चुनौती दिइरहेको जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधनमा सबैको सहकार्य र हातेमालो जरुरी छ। त्यसो गर्न नसके आगामी केही पुस्तामा हिउँबिनाको हिमाली क्षेत्रको अवस्था धेरै फरक हुनेछ।

सन् १९२३ मा बेलायती आरोही म्यालोरीले सगरमाथालाई जसरी ‘त्यो त्यहाँ छ’ भनेर भनेका थिए, त्यही अन्तर्यमा आधारित रहेर हामीले यो सम्पदाको संरक्षणका लागि प्रयास गर्नुपर्छ। आगामी पिँढीलाई ‘त्यो त्यही छ’ भनेर भन्न अहिल्ले नै ठोस प्रयासको जरुरी छ। यसमा ढिलाइ भए हाम्रो अकमण्र्यताको मूल्य निकै ठुलो हुनेछ र आत्मघाती हुनेछ।

प्रकाशित: १० वैशाख २०८२ ०५:२६ बुधबार

Download Nagarik App
Download Nagarik App