२३ चैत्र २०८१ शनिबार
image/svg+xml ९:९ पूर्वाह्न
सम्पादकीय

के भयो यस्तो?

प्रजातन्त्र दिवस (फागुन ७) को पूर्वसन्ध्यामा मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाहले सधैं झैं शुभकामना सन्देश सार्वजनिक गरे। सन्देशमा उनले प्रजातन्त्रको सार्थकता शब्द र नारामा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्ने भन्दै प्रजातन्त्रले नागरिकको विश्वास जित्न नसकेको र जनताले आशा गर्ने शासन प्रणाली बन्न नसकेको बताए। शाहले राजा र जनताले मिलेर प्रजातन्त्रलाई सबल बनाउन गरेको योगदान स्मरण गर्दै प्रजातन्त्रको सफलताका लागि सबै वर्ग, समुदाय र व्यक्तिको पहिचान सुरक्षित हुनुपर्ने पनि बताए। ‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन,’ सन्देशमा उनले भनेका छन्, ‘पक्ष–विपक्षको अहंकार, व्यक्तिगत स्वार्थ र हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन।’

सन्देशमा पूर्वराजाको चिन्ता देशको ‘आर्थिक संकट, जनशक्ति पलायन र कमजोर राष्ट्रिय पहिचान’प्रति पनि देखियो। ‘नेपालीको पसिना आफ्नै भूमिमा होइन, विदेशमा बगिरहेको छ, जन्मदै नेपाली नागरिक ऋणभारको बोझ बोकेर अघि बढ्न बाध्य छन्, शिक्षालयहरू र व्यापार–व्यवसाय कमजोर बन्दै गएका छन्’, उनले सन्देशमा वर्णन गरेका छन्, ‘हामीले इतिहासबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ। देशको रक्षा, प्रगति र समृद्धिका लागि सबै नागरिक एकताबद्ध हुन जरुरी छ।’

शाहको सन्देशको सबैभन्दा महत्वपूर्ण पक्ष अन्त्यतिर देखिन्छ। उनी देशले यो अवस्थाबाट त्राण पाउने हो भने राजसंस्थालाई साथ दिन सम्पूर्ण नागरिकलाई आह्वान गर्छन्। ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौं’, उनी भन्छन्।

पूर्वराजाको यसपटकको सन्देशमा दुई वटा विषय प्रष्ट देखिन्छ। पहिलो समय, दोस्रो कार्य। शाह अब आफूहरू अर्थात् राजसंस्थाको समय आएको भन्छन्। २०६५ जेठ १५ गते देशमा गणतन्त्र घोषणा भएपछि पहिलोपटक पूर्वराजा शाहलाई अब आफ्नो समय आएको आभाष हुनु आफैंमा अर्थपूर्ण हो। त्यसैको फेरोमा उनले देशवासीलाई आफूलाई साथ दिन आग्रह पनि गरेका छन्। यो कार्यका लागि उनले देशको समृद्धि र उन्नतिलाई मुख्य अस्त्र बनाएका छन्।

शाहको यो सन्देशले देशमा राजतन्त्र चाहने शक्तिहरूमा ऊर्जा छाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायतका दलहरूले सन्देश निकै अर्थपूर्ण, भावुक र सामयिक’ भएको पूर्वराजालाई आफ्नो साथ र सहयोग गरेको प्रतिक्रिया दिइसकेका छन्। सामाजिक सञ्जालहरूमा राजा र राजतन्त्रवादीहरू सही समयमा राजाबाट यो सन्देश आएको र देशको भलोका लागि यही एकमात्र सूत्र हुने बताइरहेका छन्। सडकका केही विदुषक पात्र पनि राजाबाट मर्जी भएको यो ‘ग्रीन सिग्नल’लाई ऐतिहासिक बनाउनुपर्ने भन्दै यो रापतापमा रोटी सेक्न उद्दत छन्। गणतन्त्रको जग हल्लिसकेको र होस्टेमा हैंसेमात्र आवश्यक रहेको बताउँदै यो समय पनि उम्कियो भने भावि पुस्ताले सराप्ने तर्क गर्नेको पनि कमी छैन। रोचक चाहिँ के छ भने मुख्य गणतन्त्रवादी दलहरूले औपचारिकरूपमा यसबारे प्रतिक्रिया दिइसकेका छैनन्। यस्तो पनि हुनसक्छ कि उनीहरूले यसलाई ‘काग कराउँदै गर्छ’को भावमा बुझेका छन्। बरु गणतन्त्रवादी नागरिक समाज र सर्वसाधारणका तहबाट भने टिप्पणीहरू आइरहेका छन्। शुभकामना सन्देशलाई कतै शुभागमन त कतै प्रतिगमन भन्दैं सामाजिक सञ्जालहरू भरिन थालेका छन्।

यहाँ पूर्वराजाले दिन खोजेको ‘सन्देश’को पक्षविपक्षमा अनेक कोणबाट बहस हुनसक्ला। तर, गरिनुपर्ने विमर्श चाहिँ पूर्वराजाले अहिले किन यसो भने र भन्न सम्भव भयो भन्नेतर्फ केन्द्रित हुनुपर्छ। गणतन्त्र स्थापनाको १६ वर्षपछि शाहले खुलेआम् गणतन्त्र विरुद्ध बोल्न र लोकतान्त्रिक व्यवस्थालाई समेत चुनौति दिन उद्दत हुनुपछाडिको कारण खोज्नु उचित हुन्छ। कुनै पनि मुलुकमा यति चाँडै विगतलाई भुल्ने काम हुँदैन। लोकतान्त्रिक गणतन्त्र मुलुकमा आए पनि त्यसको स्वामित्व लिने र यसबिच भएका प्रगतिको खुलासा गरिएको छैन। आम नागरिकलाई दिग्भ्रमित बनाउनेहरू जति सक्रिय छन्, त्यति नै यसबिच आएका परिवर्तनलाई उजागर गरिएको छैन। यस्तो अवस्थामा विगतका तानाशाही व्यवस्थाभन्दा लोकतन्त्र काम नलाग्ने हुन्छ भन्ने भाष्य निर्माण सहज हुन्छ। यसकारण पनि व्यक्त विचारको पृष्ठभूमि र यस्तो भन्न सक्ने दुस्साहसको विवेचना हुनुपर्छ, जुन सायदै भइरहेको छ।

वास्तविकता के हो भने गणतन्त्र स्थापनायता नेपालले अपेक्षित प्रगति गरेको छ। नागरिक चेतना अभिवृद्धि भएको छ। खुला र उदार समाजमा मानिसमा आलोचनात्मक चेत बढी हुन्छ र त्यसलाई बढावा पनि दिइन्छ। यसको अर्थ भ्रमित सूचनाबाट नागरिकले दिशानिर्देश गर्न नसक्ने अवस्था आइरहोस्। त्यसका निम्ति इमानदार प्रयास हुन सकेको छैन। यसकारण लेखक अमिश मुल्मीले सामाजिक सञ्जाल एक्समा खासगरी ज्ञानेन्द्र शाहको शासनकालका अधिनायकवादी शासनशैलीबारे विद्यार्थीलाई पढाउनुपर्ने सुझाउँछन्। त्यसो नगर्ने हो भने शाहीशासनप्रति भ्रम र गणतन्त्रप्रति वितृष्णा बढ्ने उनको तर्क छ। र, पछिल्ला वर्षहरूमा भ्रमात्मक सूचनाले शासनसत्ता परिवर्तन भएका घटना पनि देखिएकै छन्। त्यही स्थितिको पुनरावृत्तिका निम्ति आधार तयार पर्ने काम नहोस्। उदार लोकतन्त्रका पक्षधरहरूले यतातिर ध्यान दिनु उचित होला कि? यसमा ध्यान नदिने हो भने लोकतन्त्र पक्षधर हुँ भन्न पनि लाज लाग्ने अवस्था आउन सक्छ, जुन शाही शासनका बेला लोकतन्त्रवादीहरूले भोगिसकेका छन्।

प्रकाशित: ८ फाल्गुन २०८१ ०६:०८ बिहीबार

Download Nagarik App
Download Nagarik App