बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। देहिमाण्डौँबाट गिरेगडातर्फ जाँदै गरेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। चन्चलेको जिल्ला अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो।
यस्तै, पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका–१० की ३० वर्षीया कबिता परियार घाइते भएका छन्। घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
चालकसहित चार जना सवार जीप अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रासस
प्रकाशित: २३ चैत्र २०८१ ०८:०६ शनिबार