३० माघ २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

विषाक्त वायु घट्दो आयु

वायु प्रदूषण प्रत्येक दिन बढ्दो छ। अझ विशेषगरी विकसित देशले यसलाई विभिन्न उपायद्वारा नियन्त्रण गरे पनि नेपाल जस्ता गरिब मुलुकले यसको असर सामना गर्नुको विकल्प छैन। जसले रोगव्याधिलाई प्रत्येक दिन बढावा दिएको छ भने यही कारण मानिसको आयुसमेत छोट्टिइरहेको छ। यसरी हेर्दा अविकसित मुलुकहरू वायु प्रदूषणको चर्को मारमा परेका देखिन्छन्।

नेपालको सन्दर्भमा वायु प्रदूषण दिउँसोका तुलनामा बिहान बढी देखिन थालेको छ। स्वस्थ जीवनको कामना गर्दै बिहानी दौड÷हिँडाइका लागि निक्लने, शिक्षालय जाने तथा दूध÷तरकारीलगायत उत्पादन बेच्न निस्कनेहरू यस्तो अवस्थाबाट बढी प्रभावित भइरहेका छन्। जनस्वास्थ्यका हिसाबले अत्यन्त हानिकर वायु प्रदूषण यसरी बढ्नु र अझ त्यो पनि बिहानको समयमा धेरै देखिनु चिन्ताको विषय बनेको छ। आइतबार भक्तपुर, पाटन र काठमाडौँका कतिपय वायु प्रदूषण मापन यन्त्रले वायु गुणस्तर सूचकांक (एक्युआई) २०० को हाराहारीमा रहेको देखाएका थिए। यो भनेको जनस्वास्थ्यका लागि अस्वस्थकर अवस्था हो। यो दिउँसो बिस्तारै कम हुँदै जाने गरेको देखिएको छ तर पनि बिहानै हिँड्नुपर्ने वा घरभित्रै पनि पसेर असर गर्न सक्ने भएकाले यसले प्रदूषणका साथै चिन्ताको स्तर पनि बढाएको हो।

वायु प्रदूषणका लागि सबैभन्दा खतरनाक ठानिने पिएम २.५ सूक्ष्म कण मानिसको फोक्सोसम्म सिधै पुग्न सक्छ। जसले दम, मुटु रोग आदि निम्त्याउन सक्ने सम्भावना हुन्छ भने यसले श्वास÷प्रश्वाससम्बन्धी समस्या पनि सिर्जना गर्न सक्छ। त्यसैले वायु प्रदूषणको यस्तो बढोत्तरी कुनै पनि हालतमा सह्य हुन सक्दैन। तर पनि सर्वसाधारण नेपालीसँग यसको सामना गर्नुबाहेक अन्य विकल्प सीमित रहेको तथ्य भने बिर्सनु हुँदैन।  

नेपालमा वायु प्रदूषण कति भयानक भइसकेको छ भन्ने थाहा पाउन एउटै प्रमाण काफी छ– एयर क्वालिटी लाइफ इन्डेक्स–२०२४ (एक्युएलआई) नामक एक अन्तर्राष्ट्रिय प्रतिवेदनअनुसार विषाक्त वायुका कारण नेपालीको सरदर आयु ३.४ वर्षले घटेको छ। त्यसैगरी विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा नेपालको सम्पूर्ण जनसंख्या विषाक्त हावामा सास फेर्न बाध्य छ। यसले देखाउँछ कि हाम्रा लागि स्वच्छ प्राण वायुको प्राप्ति अब निकै टाढाको विषय बनिसकेको छ। त्यसैले पनि यस्तो गम्भीर परिस्थितिबारे सोच्नै पर्ने अवस्था आइसकेको छ।

के यस्तो अवस्थालाई मध्यनजर गर्दै हाम्रा सरकारहरूले वायु प्रदूषणको यो भयाबहता न्यूनीकरणतर्फ सोचेका छन् त? अब सर्वसाधारणले समेत यो प्रश्नमा केन्द्रित भइ दबाब सिर्जना गर्न ढिला भइसकेको छ। विज्ञहरूले यसबारेमा बहसचाहिँ भइरहेका तर रोक्नकै लागि ठोस कार्ययोजना आउन नसकेको बताएका छन्। हुन त हाम्रो सरकारलाई जहिले पनि कुरा धेरै गर्ने तर काम नगर्ने ‘गफाडी’ को आरोप लाग्दै आएको छ। वायु प्रदूषण नियन्त्रणका लागि पनि विज्ञहरूले यही प्रवृत्ति दोहो¥याएको आरोप लगाइरहेका छन्।

विज्ञहरूका अनुसार हिउँद याम सकिन लागेको र प्रि मनसुनी याम सुरु हुन लागेकाले वायुमण्डल अस्थिर हुन गई बिहान कम हावा चल्नाले वायु प्रदूषण बढेको हो। त्यसैगरी आगामी महिनामा सुक्खा बढ्दा वन डँढेलोको प्रकोप पनि बढ्न सक्ने उनीहरूको चेतावनी छ। सरकारले यस्ता पक्षमा ध्यान दिएर बेलैमा उचित कदम नचाल्ने हो भने हामीले अझै धेरै क्षति बेहोर्न तयार भएर बस्नुको विकल्प छैन।

पहिलो कुरा, वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले आवश्यक कदम चाल्नैपर्छ, यसमा दुई मत हुनै सक्दैन। दोस्रो कुरा, विज्ञहरूले पनि अर्ती÷उपदेश दिएर मात्र होइन अब क गर्ने भन्ने रचनात्मक योगदान गर्न तत्पर हुनुपर्छ। त्यसबाहेक सर्वसाधारणले पनि आफ्नो तर्फबाट गर्न सकिने काम गर्नुपर्छ तर उनीहरूले गर्न सक्ने योगदानबारे सूचित गर्ने कामचाहिँ सरकार र विज्ञको हो। यति भए बल्ल वायु प्रदूषण केही भए पनि  

घटाउन सकिन्छ।

प्रकाशित: २२ माघ २०८१ ०६:०७ मंगलबार

Download Nagarik App
Download Nagarik App