नेपाली कांग्रेसलाई उदार र लोकतान्त्रिक परम्परा बोक्ने मुलुककै सबैभन्दा जेठो दलका रूपमा लिइन्छ। एकतन्त्रीय राणा शासनविरुद्ध सङ्घर्ष गरेको यो दल अहिले पनि देशकै ठुलो दल राज्यका तीनै तहका सरकार र निकायहरूलाई प्रतिनिधित्व गर्ने अवस्थामा छ। यसका लाखौँ समर्थक छन् भने हजारौँ कार्यकर्ता। समर्थक र कार्यकर्ता मात्र नभई शुभचिन्तकको घेरा पनि ठुलो छ। यही दलको नेतृत्वमा पटक–पटकका जनआन्दोलन र विद्रोह भएका छन्। लोकतन्त्र ल्याउन, लोकतन्त्र पुनर्बहाली गर्न वा गणतन्त्र ल्याउन कांग्रेसले गरेको योगदानलाई सदैव सम्झनामा राख्न सकिन्छ।
मुलुकका वामपन्थी दलको भूमिका पनि कांग्रेस जत्तिकै छ। कांग्रेस र वामपन्थी दल मिलेर नै देशमा ठुलठुला परिवर्तन पनि भएका छन्। तर, लोकतान्त्रिक मार्गमा कांग्रेसले सबैलाई प्रेरणा दिएको छ। यसै कारण जतिसुकै उग्र वाम विचार बोके पनि अन्ततः सबैलाई सुहाउँदिलो व्यवहार र विचार बोक्न अरू पनि बाध्य हुन्छन्। कांग्रेसको उदार छविकै कारण वामपन्थी भनिएका दल पनि अति वामपन्थी छैनन् र दक्षिणपन्थी भनिएकाले पनि अति दक्षिण पन्थ समात्न सकेका छैनन्। सबैबिच हार्दिकता र समान भाव हुनुको कारण पनि यही हो।
यस कारण पनि कांग्रेसतिर सबैको नजर हुन्छ। यसले आफ्नो दलीय संरचनालाई जति दुरुस्त बनाउँछ, त्यसको प्रभाव त्यति नै प्रभाव अरूमा पनि पर्छ। कांग्रेसले महाधिवेशनको ३ वर्ष बितिसक्दा पनि यसले आफ्नै दलभित्र आन्तरिक विधि बसाल्न नसकेको गुनासो भइरहेको छ। २०७८ मंसिरमा १४औँ महाधिवेशन गरेको यो दलले त्यति बेला दर्शक दीर्घाबाट व्यापक रूपमा उठेको नेतृत्व पुस्तान्तरण र रूपान्तरणको आवाज सम्बोधन गरेको थियो। युवा पुस्ताका गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा निर्वाचित गर्नुलाई अन्य दलका निम्तिसमेत प्रेरक हुने ठानिएको हो। यसले मुलुकको राजनीतिमा देखिएको पुस्तान्तरणको समस्यालाई हल गर्ने मात्र होइन निराशासमेत चिर्ने अपेक्षा गरिएको हो।
युवाले जित्नु राम्रो सुरुआत हो। तर, दुई युवा महामन्त्रीतिर मात्र देखाएर सुधारको जिम्मेवारी अरूले लिनु नपर्ने भन्ने हुँदैन। कांग्रेसमा अहिले यिनले जिते पनि केही भएन भन्ने किसिमको भाष्य निर्माण गर्न खोजिँदै छ। यथार्थमा सभापति शेरबहादुर देउवादेखि तल्ला समितिसम्म रहेका नेता तथा कार्यकर्ताले रूपान्तरणका निम्ति पहल गर्नुपर्छ। गगन र विश्वप्रकाशले पनि केही गर्न सकेनन् भन्नु र सबै जबाफदेही उनीहरूमा मात्र खोज्नुभन्दा समग्रतामा यसको जवाफ खोज्नु पर्छ। युवाहरूले पनि गर्न सकेनन् भनेर निराश हुनेभन्दा पनि सुधार हुनै नसक्ने अवस्थाको जडतिर ध्यान पुग्नु उचित हुन्छ। राजनीतिलाई अहिलेको जस्तो कुनै सुधार हुनै नसक्ने जड वत् प्रवृत्ति बनाउनु उचित होइन।
कांग्रेस आफैँमा अन्य दलको भन्दा भिन्न व्यवस्था भएको सङ्गठन हो। यहाँ आलोचनाको पूर्ण अधिकार छ। सभापति देउवाकै आलोचना गर्नेले पनि यथोचित स्थान पाइरहेका हुन्छन्। यस्तो अवस्था धेरैजसो दलमा छैन। हालै नेकपा (एमाले)मा भएको भीमबहादुर रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाहीले गम्भीर सवाल उत्पन्न गराएको छ। कम्तीमा कांग्रेसमा बोल्ने छुट देखिन्छ। तैपनि यसले हिजो प्रतिबन्धितकालमै जस्तो अभ्यास गर्छ। नेताले कतिपय निर्णय दलका निकायबाट पारित गराएरभन्दा मौखिकरूपमा सम्पन्न गरेको देखिन्छ। दललाई अलि बढी व्यवस्थित र युवाहरूले आफ्नो भूमिका पाउने दलका रूपमा सहज बनाउनु आवश्यक छ।
यस कारण पनि कांग्रेसले आफूलाई अनुकरणीय दलका रूपमा स्थापित गर्नुपर्ने चुनौतीपूर्ण अवस्था छ। कम्तीमा गगन र विश्वप्रकाशले युवाहरूले छनोटको दल कांग्रेसलाई बनाउने गरी भूमिका खेल्नु उचित हुन्छ। गौरवमय विरासत भएको दलले आफूलाई थप जिम्मेवारीसाथ अगाडि बढाएर मात्र अरूको विश्वास आर्जन गर्न सकिन्छ। कांग्रेस बिग्रँदा आफू मात्र बिग्रँदैन, लोकतन्त्रप्रतिको विश्वासलाई समेत कमजोर बनाउन सक्छ। त्यस कारण पनि आफूलाई समयानुकूल परिवर्तन गर्न आवश्यक छ। त्यसो भयो भने मात्र वैकल्पिक शक्ति चाहिन्छ भन्नेहरूले पनि यथोचित जवाफ पाउन सक्छन्।
प्रकाशित: २३ पुस २०८१ ०५:५९ मंगलबार