२३ भाद्र २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

दुर्घटनामा रमिते राज्य

नेपालमा फेरि विमान दुर्घटना भएको छ। बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलायन्सको  सिआरजे ७–९एनएएमई जहाजले विमानस्थल छाड्नेबित्तिकै पूर्वतिर मोडिई जमिनमा बज्रँदा भएको आगलागीबाट १८ जनाको मृत्यु हुनपुगेको छ। संयोगले विमानका क्याप्टेन भने बाँच्न सफल भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा हुने नियमित ‘सी’ वर्गको जाँचका लागि पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा लैजाने तयारीस्वरूप यो उडान भरिएको थियो, जसमा अधिकांश एयरलाइन्सकै कर्मचारी, प्राविधिक थिए।

विमान कसरी दुर्घटनाग्रस्त भयो? दुर्घटना टार्न सकिने खालको थियो वा थिएन ? जाँच र आवश्यक मर्मतका लागि पठाइने विमानमा विमानका कर्मचारी नै भए पनि लैजान पाइने व्यवस्था थियो, थिएन? विमानस्थल परिसरमै घटित दुर्घटनामा उद्धार कार्यमा किन पर्याप्त हतारो देखाइएन? लगायत यावत् प्रश्नहरू पनि यतिबेला उठेका छन्। त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलगायत मन्त्री, अधिकारीहरू दुर्घटनास्थलमा पुगेर चासो व्यक्त गरिसकेका छन्। सरकारले यसका लागि छानबिन समिति समेत बनाइसकेको छ।

नेपालमा सबैभन्दा ठुलो मानवीय क्षति सन् १९९२ सेप्टेम्बर २८ मा भएको थियो। कराँचीबाट काठमाडौं आउँदै गरेको पाकिस्तान एयरलाइन्सको यो विमान ललितपुरको भट्टेडाँडामा दुर्घटना भएको थियो, जहाँ एकसाथ १६७ जनाको ज्यान गएको थियो। त्यसको एक महिना मात्र अघि ३१ जुलाईमा थाई एयरको विमान लाङटाङ राष्ट्रिय निकुञ्जमा दुर्घटना हुँदा ९९ जनाको मृत्यु भएको थियो। तथ्यांक भन्छ, नेपालमा गएको ६२ वर्षयता हवाइजहाज र हेलिकोप्टरका सानाठुला गरी सयभन्दा बढी दुर्घटना भएका छन्, जसमा ९५० भन्दा बढीले ज्यान गुमाएका छन्। एक वर्षअघि मात्र २०२३ जनवरी १५ मा काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरा विमानस्थलतर्फ नगई सेतीको खोचमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको घटना र त्यसअघि २०१८ मार्च १२ मा युएस–बाङ्ला एयरलाइन्सले त्रिभुवन विमानस्थलमा ‘अप्रोच’ बिराउँदा ७१ मध्ये ५१ जनाको ज्यान गएको घटनाको घाउ दुखिरहेकै बेला भएको यो दुर्घटना मुलुकका लागि अर्को विडम्बना बनेको छ।

खासगरी भू–बनोट र बदलिरहने मौसमका कारण नेपाल यसै पनि हवाई उडानका लागि जोखिमपूर्ण देश मानिन्छ। हिमाली र पहाडी क्षेत्रमा भएका अधिकांश दुर्घटनामा यी प्रमुख कारण भए पनि त्यसबाहेक थुप्रै दुर्घटनामा अक्षम सरकारी अधिकारी, व्यापारिक स्वार्थ र चालक दलकै कमजोरी मुख्य देखिन्छ। उदाहरणका लागि युएस–बाङ्ला विमान दुर्घटनामा मानसिक समस्याग्रस्त पाइलटको लापरबाही दोषी पाइएको थियो भने सन् २०१९ फेब्रुअरी १७ मा पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत सात जनाको ज्यान जानेगरी ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा मौसमसँगै पाइलटको अपरिपक्व निर्णय पनि जिम्मेवार बताइएको छानबिन प्रतिवेदनमा उल्लेख छ।

यसपटक पनि पहिलेजस्तै छानबिन समिति बनेको छ। दुर्घटनाका कारणसँगै थुप्रै पक्षबारे छलफल हुनेछ, भविष्यमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि अपनाइनुपर्ने विधिबारे पनि निर्देशन, सुझाव दिइनेछ। तर, यहाँ गरिनुपर्ने सबैभन्दा अहम् प्रश्न भनेको ‘नेपाल किन विमान दुर्घटनाको देश बनिरहेको छ’ भन्ने हो। नेपाल किन यात्राका लागि असुरक्षित मुलुक बनिरहेको छ भन्ने हो। यो सोधनी किन पनि महत्त्वपूर्ण छ भने यसै पनि हाम्रो देशमा सडक दुर्घटनामा ज्यान जानु सामान्य जस्तो बनिसकेको छ। त्रिशूलीमा खसेका दुई बसको ३४ यात्रु अझै नभेटिएको भर्खरैको राष्ट्रिय शोक हो।

अप्ठेरो र जोखिमयुक्त बनोट, मौसम र अधिकांश अवस्थामा मृत्यु भइसकेका चालक दलका सदस्यको गल्तीलाई मात्र भागिदार बनाएर अनि दुर्घटनालाई नियमित आकस्मिकता मानेर अब नेपालको उड्डयन क्षेत्र उम्कन सक्दैन। किनकि यस्ता पनि अनेक घटना छन् जहाँ छानबिन प्रतिवेदनहरूकै निर्देशनको धज्जी उडाइएको छ र नागरिकको ज्यान लिइएको छ। अनुभवहीन र अदूरदर्शी मन्त्री, कामभन्दा कमाउधन्धामा रुचि भएकाहरूलाई गरिने राजनीतिक नियुक्तिले उड्डयन क्षेत्र थिलथिलो बनेको छ। परिणाम, युरोपेली युनियनको उड्डयन सुरक्षा निकायको कालोसूचीबाट नेपाल अझै हट्न सकेको छैन। पछिल्लो दुर्घटनाले यसलाई थप टेको दिएको छ। दुर्घटना हुने, जनधनको अपूरणीय क्षति हुने, झारा टार्न छानबिन समिति बनाउने, राज्य रमिते बन्ने उपक्रम अब सह्य हुनसक्तैन। शृंखलाबद्ध दुर्घटनामा सरकार यसरी नै असंवदेनशील बन्दै जाने हो भने हवाई र सडक दुर्घटना मात्र होइन, मुलुक नै दुर्घटना पर्नेछ, यस्तो दुर्घटना जहाँ राज्यमाथि नागरिकको भरोसा रहनेछैन । 

प्रकाशित: १० श्रावण २०८१ ०५:५३ बिहीबार

Download Nagarik App
Download Nagarik App