२३ भाद्र २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

अर्थमन्त्रीसँग अपेक्षा

पछिल्ला वर्षहरूमा सरकारको अलोकप्रियताको एक मात्र कारण आर्थिक कठिनाइ हो। आम नागरिकको जीवनमा जतिजति आर्थिक अप्ठ्यारो थपिँदै जान्छ, उतिउति नै त्यसले सरकारप्रति असन्तुष्टि पनि बढाउँछ । सरकारसँगको असन्तुष्टिसँगै व्यवस्थाप्रति वितृष्णा पनि बढाउँछ। लोकतन्त्रजस्तो उन्नत व्यवस्था अरू हुँदैन। तथापि, पछिल्ला दिनमा लोकतन्त्रको बदख्वाइँ गर्ने र विगतका निरंकुशताको प्रशंसा गर्ने अवस्थामा पुर्‍याएको कारण पनि यही हो। अतः मुलुकको आर्थिक वृद्धिका निम्ति सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने हुन्छ। आजको दिनमा सरकारले कसरी काम गर्दैछ भन्ने कुराको मापन आर्थिक क्षेत्रमा देखिने सुधारमा निर्भर गर्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेदेखि आर्थिक क्षेत्रका केही सूचक चलायमान देखिन थालेका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेल नियुक्त भएयता सेयर कारोबारमा उल्लेख्य वृद्धि भएको छ। नयाँ सरकार गठन भएको चौथो दिन बुधबार पनि सेयरबजारमा उछाल आएको छ। १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार ११३ रूपैयाँ बराबरको सेयर कारोबार हुनु आफैंमा उत्साहको खबर हो। नयाँ आर्थिक वर्षको पहिलो दिन मंगलबार मात्र नौ अर्ब १३ करोड ८६ लाख रूपैयाँको सेयर कारोबार भएको थियो। पौडेल अर्थ मन्त्रालयको जिम्मेवारीमा आउँदा विगतमा देखिएको यो प्रवृत्ति अहिले पनि देखिएको छ। यसलाई उनको उदार आर्थिक नीतिको स्वागतका रूपमा अथ्र्याइएको छ।

आठपटक मन्त्री भइसकेका पौडेल पाँचपटक त अर्थ मन्त्रालयकै नेतृत्वमा पुगेका छन्। यस हिसाबले उनलाई अनुभवी अर्थमन्त्रीका रूपमा लिन सकिन्छ । अर्थको जिम्मेवारी पाएको यो बेलामा उनलाई धमाधम काम गर्ने अवसर पनि हो। नयाँ अर्थमन्त्रीलाई जस्तो उनले बुझेर मात्र काम थाल्छु भन्नुपर्ने अवस्था छैन। मुलुकको अर्थतन्त्रबारे अनुभवी नेताले अर्थमन्त्रालय सञ्चालन गरेका बेला यस क्षेत्रको समुचित विकासको अपेक्षा गर्नु अन्यथा हुँदैन।

खासगरी हाम्रो अर्थतन्त्रमा रोजगारी सिर्जना गर्नु नितान्त आवश्यक भइसकेको छ। देशभित्रै रोजगारी सिर्जनामा दल र यिनका नेताको प्रतिस्पर्धा हुनु आवश्यक छ। त्यसो भयो भने सर्वसाधारणले रोजगारीका निम्ति विदेश गइरहनुपर्ने छैन। रोजगारीका निम्ति विदेश जाँदा पनि दक्षता हासिल गरेको अवस्था हुँदा बढ्ता आम्दानी गर्न सकिन्छ।

वर्तमान सरकारका प्रधानमन्त्री ओलीले निजी क्षेत्रको भूमिकाबारे चर्चा गरिसकेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डललाई उनले निजी क्षेत्रप्रतिको आफ्नो धारणा प्रस्ट पारेका छन्। उनले निजी क्षेत्र प्रोत्साहित हुने नीति अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक वातावरण तयार गर्नुपर्ने, निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्नुपर्ने र विदेशी लगानी आकर्षित गनुपर्ने आवश्यकता छ।

वास्तवमा सरकारमा निजी क्षेत्रको भूमिकामा जोड दिने नीतिगत तयारीले फरक पार्छ। अहिले पनि मुलुकमा एकथरी मानिस जुत्ताचप्पल बनाउनेदेखि अन्य वस्तु उत्पादनमा समेत राज्य लाग्नुपर्छ भन्ने सोच देखिन्छ। अधिकांश वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा स्वदेशमै उत्पादनको वातावरण सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता हो। लोकतान्त्रिक सरकारको जिम्मेवारी नीति निर्माण र अनुगमन हो। बाँकी जिम्मेवारी निजी क्षेत्रलाई दिने हो। तिनले गरेको कामको अनुगमन भने सरकारले गर्न सक्छ।

मुलुकको अर्थतन्त्रमा केही सुधारका संकेत देखिन थालेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि आगामी आर्थिक वर्षमा सुधारको संकेत गरेका छन्। सरकारले स्थायित्व लिएर नीतिगत सुधारमा ध्यान दिने हो भने अर्थतन्त्रमा सुधार आउन सक्छ। पछिल्ला वर्षहरूमा वैदेशिक लगानी अपेक्षित रूपमा आउन सकेको छैन। देशले लगानी सम्मेलन आयोजना गरे पनि त्यसमा गरिएको प्रतिबद्धता लगानीमार्फत् प्रतिबिम्बित हुन सकेको छैन। यसकारण पनि लगानी अनुकूल वातावरण बनाउनुपर्ने दायित्व पनि नयाँ अर्थमन्त्रीमा छ। अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने गरी काम गर्नु अहिलेको सरकारको जिम्मेवारी हो। अर्थतन्त्रप्रतिको विश्वास कम भएका कारण धेरैले लगानी गर्न सकेका छैनन्। उपभोक्ताले पनि खर्च गर्न सक्ने आत्मविश्वास दिन सकिएको छैन। कमाउन सकिन्छ भन्ने विश्वास नभई खर्च गर्न उपभोक्ता तयार हुँदैनन्। त्यसैले समग्र अर्थतन्त्रमा अहिले देखिएका चुनौती सामना गर्ने गरी सरकारको काम हुनुपर्छ।

हाम्रो मुलुकमा नीतिगत अस्थिरता अनुभव हुने गरेको छ। उद्योग तथा व्यवसाय गर्ने व्यक्तिहरूलाई मुलुकको महŒवपूर्ण अंगका रूपमा लिइन्छ विकसित अर्थतन्त्रमा। अर्थतन्त्रलाई गति दिन उद्यमीको आत्मविश्वास बढाउनु आवश्यक छ। अर्थतन्त्रमा अहिले देखिएको मन्दी समाप्त भएको सन्देश दिन लगानी र रोजगारीसम्बन्धी सशक्त नीति अख्तियार गर्नुपर्छ। सरकारले अर्थतन्त्रलाई सुदृढ गर्न भूमिका खेल्नेबित्तिकै सकारात्मक अवस्था सिर्जना हुन्छ। अहिले देखिएको असन्तुष्टि कम गर्न पनि यसले मद्दत पुर्‍याउँछ। 

प्रकाशित: ३ श्रावण २०८१ ०६:०३ बिहीबार

Download Nagarik App
Download Nagarik App