२३ भाद्र २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

अनुशरणीय अभिभावकत्व

समस्यामा परेकालाई गाली गर्ने र सबैले साथ छाड्ने प्रवृत्तिले कहीँ पुगिँदैन। जसलाई दुःख परेको छ उसलाई त्यतिबेला झनै साथसहयोग चाहिन्छ। त्यसैले यस्तो बेला उनीहरूलाई हरसम्भव भरथेग गर्नु सबैको कर्तव्य हुन्छ। समस्यामा परेकालाई सहयोग गर्नु नेपाली परम्परा हो। अहिले काठमाडौँ महानगरपालिकाले यही नेपाली विशिष्ठ परम्परालाई निरन्तरता दिँदै एसइई अनुत्तीर्ण परीक्षार्थीलाई साथ दिने अभियान थालेको छ। महानगर क्षेत्रका एसइईअनुत्तीर्ण विद्यार्थीलाई तोकिएका केन्द्रमा राखेर पढाइँदै छ। तिनको तयारी राम्रो भयो भने साउनमा हुने पुनः परीक्षामा उनीहरू उत्तीर्ण हुन सक्छन्। एक सय जना शिक्षकको सूची बनाएर तिनैमध्येले सञ्चालन गर्ने कक्षामा विद्यार्थीको आकर्षण पनि देखिएको छ। खाजा र खानाको समेत व्यवस्था गरिएकाले यस्तो कक्षाप्रति सबैको रुचि बढेको देखिन्छ।

पुनःपरीक्षामा उत्तीर्ण गराउने उद्देश्य महानगरपालिकाले राखेको देखिएको छ। यसबाहेक यो अभियानको अर्को उद्देश्य विद्यार्थीलाई उपचारात्मक कक्षामार्फत शिक्षण सिकाइको वातावरण निर्माण गर्नु हो। जसबाट विद्यार्थी मात्र हैन, शिक्षकले पनि धेरै सिक्न सक्छन्। खानकै लागि पढाइ छाडेर वा कुम्लोकुटुरो बोकेर दौडिहाल्ने, अनि हतार हतार आउनुपर्ने बाध्यतासमेत ‘खाना÷खाजा व्यवस्थापन’ ले हटाइदिएपछि अभिभावकसमेत महानगरको यो कार्यबाट खुसी छन्। त्यसैले त महानगरले पनि यस्तो कार्य आफ्ना लागि पनि ‘परीक्षा’ भएको प्रतिक्रिया दिएको छ।

जन्म दिएका आधारमा मात्र अभिभावक भइँदैन। लालनपालन, पोषण व्यवस्थापन, शिक्षादीक्षा, पथप्रदर्शकका जिम्मेवारी पूरा गरेपछि मात्र अभिभावकत्व निर्धारण हुने गर्छ। यस अर्थमा आफ्नो पालिका क्षेत्रभित्रका अनुत्तीर्ण विद्यार्थीको मर्का बुझेर उनीहरूलाई जुनखालको शैक्षिक सहयोग दिन महानगर जुटेको छ, यो वास्तविक अभिभावकत्वको असल अभ्यास मान्न सकिन्छ। त्यसैले काठमाडौँ महानगरले थालेको यो अभियान समय सान्दर्भिक मात्र हैन, आवश्यकतामा आधारितसमेत छ। यस्तो असल कामको थालनी गर्न अन्य पालिकाले पनि सिक्नुपर्छ। काठमाडौंका सामुदायिक स्कुलको स्तर सुधार गर्न महानगरले यसअघि गरेका अभ्यास पनि अनुकरणीय छन्।

शिक्षकलाई समेत प्रतिघन्टी पाँच सय रुपियाँका दरले पारिश्रमिक दिइने भएकाले उनीहरूको पनि यसप्रति आकर्षण बढेको देखिन्छ। खाली समयमा मेहनत गर्दा थप आम्दानीको बाटो खुलेपछि थोरै भए पनि आर्थिक भरथेग हुने नै भयो। ६७ वटा केन्द्रमध्ये जसलाई जहाँ पायक पर्छ त्यहीँबाट पढाउने व्यवस्थाले पनि विद्यार्थीको यस्ता कक्षामा आकर्षण बढेको सहजै अनुमान लगाउन सकिन्छ। दुईजनाबीचको अन्तरक्रियात्मक र समूहगत सिकाइ विधि अवलम्बन गरेर सिकाइने हुँदा यो बढी प्रभावकारी हुने महानगरको दाबीमा पनि दम छ।

महानगरपालिका क्षेत्रका ५८ वटा सामुदायिक विद्यालयबाट २०८० सालको एसइईमा सहभागी हुन तीन हजार ९५९ विद्यार्थीले आवेदन दिएका थिए। जसमध्ये तीन हजार ८६ जना अर्थात् ७७.९४ प्रतिशत उत्तीर्ण भए भने ८७३ जना अर्थात् २२ प्रतिशत अनुत्तीर्ण भएका थिए। यिनै अनुत्तीर्ण विद्यार्थीलाई पुनः परीक्षामा उत्तीर्ण गराउने उद्देश्यले महानगरले थालेको यो अभियान प्रभावकारी हुने यस क्रममा देखिएको रुचिले देखाएको छ।

राम्रो काम जसले पनि अनुशरण गरे हुन्छ। एसइईमा अनुत्तीर्ण भएकाहरू काठमाडौँ महानगरपालिकाका मात्र छैनन्। त्यसैले अन्य पालिकाले पनि अनुत्तीर्ण विद्यार्थीलाई सहयोग पुग्नेखालका गतिविधि सञ्चालन गर्दा हुन्छ। थोरै लगानी गरेर धेरै विद्यार्थीको भविष्य उज्ज्वल बन्छ भने त्यसका लागि केही लाख विनियोजन गर्दा चित्त सानो बनाउनु आवश्यक छैन। यसै पनि अनावश्यक र विवादित क्षेत्रमा लाखौँ बजेट विनियोजन भइरहेका बेला रचनात्मक र शैक्षिक क्षेत्रमा थोरै लगानी गरेर धेरै उपलब्धि हासिल गर्ने अवसरका रूपमा बुझ्दा हुन्छ यस्तो कार्यलाई। शिक्षा नै यस्तो क्षेत्र हो, जसले एउटै जुनीमा मानिसको कायापलट गर्न सक्छ। शिक्षाले अवसरका ढोका खोल्न मद्दत गर्ने भएकाले पनि एसइई असफल विद्यार्थीलाई गरेको सहयोग सम्बन्धित परिवारको उत्थानका निम्ति पनि उत्तिकै लाभदायी छ।  

प्रकाशित: २५ असार २०८१ ०५:५६ मंगलबार

Download Nagarik App
Download Nagarik App