विदेशी पर्यटक भित्रिने मुख्य सिजन भर्खरै सुरु भएको छ। अबका तीन महिनालाई पर्यटन व्यावसायीले पर्यटनको मुख्य सिजन मान्छन्। पदयात्रा र साहसिक गतिविधिमा रमाउने गरि यो बेला पाहुना नेपाल आउन रुचाउँछन्। नेपाल आउन खोज्ने पाहुनाले महिनौं अघि होटल बुकिङ पनि गरिसकेका हुन्छन्।
तर, योपटक नेपालको पर्यटन क्षेत्रले दुईप्रकारका अप्ठेरो खेपिरहेको छ। ती अप्ठेराका कारण पर्यटनमाथि सकस थपिएको छ। पर्यटन व्यावसायीका अनुसार दुवै अप्ठेरोका कारक भने एउटै हो–मध्यपूर्वको तनाव। पहिलो अप्ठेरो हो–मध्यपूर्वका मुलुकमा जारी द्वन्द्वको प्रभावले नेपाल आउन चाहेका पाहुनाको यात्रालाई अवरोध उत्पन्न भएको छ। कतिपय पाहुना यात्राकै क्रममा अलपत्र परेका छन्। घुम्न निस्कन थालेका पाहुना पनि रोकिएका छन्।
हवाई मार्गमा निम्तिएको अनिश्चितताका कारण पर्यटकहरु चाहेर पनि गन्तव्यमा पुग्न सकेका छैनन्। जसोतसो पुगेका पाहुनाले पनि सकस बेहोरेका छन। त्यसको प्रभावस्वरुप पाहुनाले गरेको अग्रिम बुकिङ धमाधम रद्द गरिरहेका छन। कतिपय पर्यटक बसाई अवधि छोट्याएर घर फर्किन थालेका छन। पोखराका होटलको अग्रिम बुकिङ धमाधम रद्द भईरहेको व्यावसायीले बताएका छन्। यो सिजनको सुखद् पर्खाइमा रहेका व्यावसायी पाहुना आउन नसक्दा चिन्तित छन्।
व्यावसायीले खेपेको अर्काे अप्ठेरो हो–इन्धन अभाव। इन्धनको अप्ठेरोको मार अहिले नै नपरेको भएपनि संकटको निकट रहेको व्यावसायीले बताईरहेका छन। मध्यपूर्वकै मुलुकमा निम्तिएको द्वन्द्वको प्रभावस्वरुप अहिले इन्धन संकट गहिरिँदै गएको व्यावसायीले बताएका छन्। सर्वसाधारण नागरिकले इन्धन अभावको मार खेपिसकेका छन। पर्यटन व्यावसायी पनि सर्वसाधारणले खेपेको मार आफुहरुले पनि छिटै खेप्नुपर्ने अवस्था आउनेमा ढुक्क छन। व्यावसायी भन्छन, ‘सर्वसाधारणले अभाव खेपिसकेका छन। अब व्यावसायिक क्षेत्रमा पनि अभाव नजिक छ।’

मध्यपूर्वका मुलुकमा सिर्जित तनावका कारण अहिले पर्यटन क्षेत्र पाहुना र इन्धनको समस्यामा रहेको उनीहरुको भनाई छ। ‘त्यही तनावका कारण आउनुपर्ने पाहुना पनि आउन पाएनन,’ पर्यटन व्यावसायी गणेबहादुर भट्टराई भन्छन, ‘पर्यटनको सिजन भएपनि सोचेजस्तो आकारमा पाहुना आएका छैनन। यात्रा मार्गमै अवरोध सिर्जना भएकोले पनि नेपालको पर्यटनले पाहुना नपाएको हो।’
अर्का पर्यटन व्यावसायी दोर्जे लामा अहिलेको संकट निम्तनुमा मुख्य कारण मध्यपूर्वका मुलुकमा निम्तिएको अप्ठेरो हो। उनका अनुसार अहिले पाहुनाले धमाधम बुकिङ रद्द गरिरहेका छन। आउने तयारीमा रहेका पाहुना रोकिएको र आएका पाहुना छिटो गरेर फर्किन थालेको पनि उनले बताए। ‘त्यही द्वन्द्वका कारण पाहुना रोकिएका छन। द्वन्द्वकै कारण इन्धन हाहाकार हुने अवस्था सिर्जना भएको छ,’ लामाले भने, ‘अहिले पाहुना भित्र्याउन नपाउने हो भने नेपालको पर्यटन बजारले कम्तिमा पाँचमहिनाको मार खेप्नुपर्छ। द्वन्द्वको चपेटाले नेपालको पर्यटन क्षेत्रमाथि सकस थपिएको छ।’
उनले पनि पर्यटक आगमन प्रभावित भएको बताउँछन्। लामाका अनुसार अहिले पाहुनाले गरेको बुकिङ रद्द गरिरहेका छन। ‘यहीबेला इन्धनको पनि संकट गहिरिने अवस्था आएको छ। पाहुना पनि कम र इन्धन पनि अभाव खेप्नुपर्ने चूनौती हामीलाई छ। नाकाबन्दीको बेला पनि यस्तै समस्या खेपका हौ। अहिले त्यही अवस्था दोहोरिने देखिएको छ,’ लामाले भने, ‘सरकारले बेलैमा इन्धन मौज्दात राख्ने क्षमता बिस्तार गर्न नसक्दा नागरिकले सकस खेप्नुपरेको छ। इन्धनकै अभावका कारण पर्यटन क्षेत्र प्रभावित हुने त्रास बढेको छ।’ होटल र रेस्टुरेन्ट संचालक समेत रहेका लामाले इन्धनको खपत कम गर्ने उपाय सोच्नुपर्ने अवस्था आएको बताए।
अर्का पर्यटन व्यावसायी नरेश भट्टराई पनि मध्यपूर्वको समस्याका कारण विदेशी पाहुनाको आगमन प्रभावित भएको बताउँछन। ‘पाहुनाको आगमन धमाधम रद्द भईरहेको छ। मध्यपूर्वको द्वन्द्वले पर्यटन क्षेत्रमा असर परेको छ,’ उनले भने, ‘सिजनको पर्यटनलाई मार परेको छ। एकातिर पाहुनाको आगमनमा अवरोध अर्काेतिर इन्धन अभाव खेप्नुपर्ने अवस्था छ। पर्यटनलाई सबैतिरको मार परेको छ। यो बाट जोगिन निकै नै सकस भएको छ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराई पनि साहसिक पर्यटक भित्रिने यो सिजन मध्यपूर्वको तनावका कारण अप्ठेरोमा परेको बताउँछन। ‘जति हुनुपर्ने हो, त्यत्ति पाहुना आएका छैनन। पाहुनाको सोधखोज छ। तर, उनीहरु अप्ठेरोमा परेका छन,’ उनले भने, ‘यो बेला साहसिक पर्यटक भित्रिने समय हो। पदयात्रा र साहसिक गतिविधिमा रम्ने विदेशी आउने सिजन अहिले प्रभावित भएको छ।’
उनले पनि इन्धन सकस पर्यटन क्षेत्रमा निकै नै नजिक रहेको बताए। ‘पाहुना आउन रोकिने र इन्धन संकट थपिने एकैपटक होला जस्तै छ। अहिले नै त इन्धन संकट परिसकेको छैन। तर, नाकाबन्दीको जस्तै अवस्था आउने पो हो की भन्ने चिन्ता भने थपिएको छ’ परिषद्का भट्टराईले भने। अघिल्लो सिजनमा जेनजी आन्दोलनका कारण मार खेपेको पर्यटन क्षेत्रले योसिजनमा भने अभावको सामना गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए।
होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि यो बेला होटलको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा हुनुपर्नेमा बढिमा ३० प्रतिशत रहेको बताउँछन्। ‘यो बेला ७० देखि ८० प्रतिशत अकुपेन्सी हुनुपर्ने हो। तर, पर्यटन क्षेत्रमा जम्मा ३० प्रतिशतको अकुपेन्सी अनुमान छ,’ उनले भने, ‘एकातिर इन्धन अभावको चिन्ता छ। अर्काेतिर पाहुना आउन नपाएर अभाव छ। इन्धन र पाहुना अभावले पर्यटन क्षेत्रमा समस्या थपिएको छ।’ व्यावसायीले २०७२ मा नाकाबन्दी हुँदा पनि इन्धनको चरम अभाव खेपेका थिए। अहिले पनि त्यस्तै अवस्था भोग्नुपर्ने आशंका गरिरहेका छन।
प्रकाशित: २ चैत्र २०८२ १८:१६ सोमबार


-600x400.jpg)


