३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका छन्।  

अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गर्नुभएका उनले यस वर्ष रु तीन लाख बढी आम्दानी लिएको बताए।  

उनले भने, ‘भिरालो जग्गामा अन्य खेतीभन्दा सुन्तला उपयुक्त हुन्छ भनेपछि यसलाई नै निरन्तरता दिइरहेका छौँ। बाबुबाजेले पनि सुन्तलाखेती गर्नुभयो । म पनि त्यसकै निरन्तरतामा छु ।” आफू २० वर्षदेखि यसैलाई निरन्तरता दिइरहेको उनको भनाइ छ।  

भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि यहाँका कृषकहरु सुन्तलाखेतीमा लागेको उनले जानकारी दिइन्। उनले भनिन्, ‘मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबैजना सुन्तलाखेतीमै आबद्ध हुनुहुन्छ।’

थापाले बेनीकोटमा विगत केही वर्षदेखि सुन्तलाका बोट मर्ने समस्या रहेको गुनासो गरे। थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौँ कालीमाटीमा बिक्री गरिन्छ। बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उनले भने, ‘प्रतिकेजी सुन्तला रु १०० सम्म बिक्री हुने गरेको छ। विगतका वर्षमा रु ९५ सम्म बेच्थ्याँै, यो वर्ष मूल्य केही बढी पाएका छौँ।’

बेनीकोटका १०० भन्दाबढी कृषक सुन्तलाखेतीमा आबद्ध छन्। यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन्। यहाँका कृषकले रु २० हजारदेखि रु १६ लाखसम्म आम्दानी गर्ने गरेका छन्।

प्रकाशित: ९ पुस २०८२ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App