पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से परिसूचक बुधबार करिब स्थिर अवस्थामा रहेको छ। नेप्से ०.०४ अंकले घटेर २६६२.०९ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.८१ अंक, फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले बढेको छ।
बुधबार कारोबार रकम भने करिब ८ करोडले बढेको छ । बुधबार ३२९ स्टकको ८२ हजार ४५० पटकको कारोबारमा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो ।
रिडी पावर कम्पनीको शेयरमूल्य ९.६७ प्रतिशतले बढ्दा सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ८ प्रतिशत र आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७ प्रतिशतले बढेको छ । बुधबार सुमर माइ हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ६.३९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको रिडी हाइड्रोपावरको ६५ करोड ४७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। आँखु खोलाको ६२ करोड र सिंगटीको साढे ५८ करोड बराबरको शेयर किनबेच भएको छ।
बुधबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। बाँकीको सामान्य घटेको छ ।
प्रकाशित: २८ माघ २०८२ १५:५० बुधबार





