२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

इलामलाई २ अर्ब १९ करोड सुनिश्चित, जारी आन्दोलन स्थगित

तस्बिर: भीम/नागरिक

सङ्घीय सरकारको अर्थ मन्त्रालयले ‘विपद् सङ्कटग्रस्त जिल्ला’ इलामका लागि २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित (सहमति) गरेको छ।

अर्थले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मंगलबार इलामका सडक र पुलका लागि यो रकमको सहमति दिएको हो।

अर्थले मेची राजमार्गका लागि डेढ अर्ब, मेची राजमार्गकै राजदुवाली पुलका लागि २० करोड, केचना–कञ्चनजंघा सडकका लागि १४ करोड, यही सडकअन्तर्गत माई खोलाको बेलासे पुलका लागि २५ करोड, पुवाखोला पुलका लागि ५ करोड र गोदकको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोला पुलका लागि ५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको हो।

यसमध्ये चालु आर्थिक वर्ष ५४ करोड रुपैयाँको काम हुनेछ।

सडक डिभिजन कार्यालयले चालु आवको ठेक्काप्रक्रिया ‘फास्ट ट्र्याक’ बाट गर्ने र बहुवर्षे ठेक्का सामान्य व्यवस्थाअनुसार नै गर्ने जनाएको छ।

डिभिजन प्रमुख पवन भट्टराईले भाँस्सिएको बेलासे पुल उठाउने तथा पुवाखोला र जोगमाई खोलामा बेलिब्रिजको ठेक्काप्रक्रिया तत्कालै सुरु गर्ने बताए।

‘इलामलाई आउँदो बर्खामा सडक सुविधाबाट वञ्चित हुन नदिन केचना–कञ्चनजंघा मार्ग र सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोला पुलमा बेलिब्रिज जडानको ठेक्काप्रक्रिया तुरुन्तै थालिने छ,’ उनले भने, ‘मेची राजमार्गको राजदुवालीमा चलिरहेको ठेक्का र पछिल्लो भौगोलिक अवस्थाको मूल्याङ्कन गरी त्यसमा कुन विधिबाट अघि बढ्ने भन्ने निर्णय गरिनेछ।’

उनले बेलासेमा भाँस्सिएको पुल उठाउनु नै दीर्घकालीन समाधान हुने सडक विभागको निष्कर्ष रहेको बताए।

‘बेलासेमा नयाँ पुल चाहिँदैन, त्यही पुल उठाउँदा पुरानोभन्दा बलियो हुने प्रविधि प्रयोग गरिनेछ,’ उनले भने, ‘यो काम पनि आउँदो बर्खाअघि नै हुनेछ।’ प्रमुख भट्टराईका अनुसार बहुवर्षे कामको ठेक्का चाहिँ आउँदो फागुनमा मात्रै सुरु गरिनेछ। ‘फागुनमा सुरु गरेको प्रक्रियाले पनि असार, साउन, भदौसम्ममा काम सकिने छ,’ उनले भने, ‘सबैखाले स्रोत–साधन, जनशक्ति परिचालन गरी अघि बढ्नेछौं।’

राजदुवालीको पहिला लागेको ठेक्काअनुसार अहिले केही भौगोलिक अवस्था परिवर्तन भएको उनले जनाए। ‘अब पुरानै ठेक्काअनुसार काम गर्ने कि नयाँ योजनासहित गर्ने भन्नेमा विभागसँग समन्वय भइरहेको छ,’ उनले भने, ‘त्यहाँ ठूलो रकम खर्च गर्ने कि नगर्ने भन्ने चाहिँ भौगोलिक अवस्थाको विस्तृत अध्ययन प्रतिवेदनपछि निर्णय हुन्छ।’

असोज १८ र १९ को बाढी–पहिरोले इलाममा करिब १२ अर्ब रुपैयाँको पुनर्निर्माण आवश्यक भएको छ। सबैभन्दा बढी सडक र पुल पुनर्निर्माणमा ७ अर्ब रुपैयाँ लाग्ने डिभिजनको अनुमानसहित भौतिक मन्त्रालयमा योजना पेस गरिएको थियो।

अहिले अर्थले सडक र पुललाई मात्रै बजेट सुनिश्चित गरेको छ। ३ सय ८० परिवारको अस्थायी आवासका लागि पहिलो किस्ताको २५ हजार र विपद्को तत्काल पुनर्निर्माणमा ५ करोड रुपैयाँ सङ्घीय सरकारबाट आएको थियो।

३९ जनाको मृत्यु, १ बेपत्ता, २६ घाइते, ४ सय ४९ परिवार विस्थापित, ८ सय २८ घरमा आंशिक क्षति र अर्बाैंको भौतिक संरचना ध्वस्त भएपछि सङ्घीय सरकारले भदौ २३ मा इलामलाई ३ महिनाका लागि ‘विपद् सङ्कटग्रस्त’ घोषणा गरेको थियो।

असोज २५ मा मन्त्री कुलमान घिसिङसमेत इलाम आएर पुनर्निर्माणको आश्वासन दिएका थिए। तर, आउँदो फागुन २१ को घोषित निर्वाचनलाई कारण देखाउँदै ‘बजेट अपुग’ देखाएर इलामका विषयगत कार्यालयले मन्त्रालयमा पठाएको पुनर्निर्माणको फाइल नै फिर्ता भएपछि इलामवासीले चक्काजाम, सिटी जुलुस, कोणसभा गरी विरोध जनाएका थिए भने निर्वाचन कार्यालयमा तालाबन्दीको चेतावनी दिएका थिए।

आन्दोलनरत समूहका प्रकाश चापागाईंले बजेटको स्रोत सुनिश्चित भएको र प्राप्त हुने वातावरण तयार भएकाले आन्दोलनका घोषित कार्यक्रम स्थगित गरिएको बताए।

‘अब ढिला नगरी प्राप्त उपलब्धि संस्थागत गर्ने र विनियोजित बजेटको सही स्थानमा उपयोग गर्नेतर्फ सबैको ध्यान जान जरुरी छ,’ उनले भने, ‘हामी पनि यो विषयमा सदैव चनाखो र संवेदनशील रहनेछौं।’

विघटित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैसी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशराज भट्टलगायतलाई भेटेर इलामको समस्याबारे जानकारी गराएका थिए।

‘इलामका लागि सकारात्मक र महत्तवपूर्ण प्रगति भएको छ,’ बजेट सुनिश्चिततापछि नेम्बाङले भने, ‘अब निर्णयलाई मैदानमा देखिने काममा रूपान्तरण गर्न हामी सबैले निरन्तर अनुगमन र पैरवी गरिरहनुपर्छ। ता कि, इलामका नागरिकको दैनिक जीवन सहज बनाउने काम शीघ्र रूपमा अघि बढोस्। इलामका लागि हामी सबैको साझा प्रयास, साझा जिम्मेवारी।’

विपद्पछि विशेषगरी मेची राजमार्गको राजदुवाली खण्ड आउँदो बर्खामा बन्द हुने अवस्थामा छ। वैकल्पिक भनिएका सडक बर्खालाई कुनै पनि भरपर्दा छैनन्। केचना–कञ्चनजंघा सडक निर्माणाधीन छ, माई र पुवाखोलामा पुल छैन। गोदक–सिमलगोलाई–तिल्केनी सडकको जोगमाई खोलामा पुल नहुँदा बर्खामा सदरमुकाम आउजाउ बन्द हुन्छ। त्यसैले बर्खामा इलाममात्र होइन, झापाबाट मेची पहाडका पाँचथर र ताप्लेजुङसमेतको आउजाउ बन्द हुन्छ।

प्रकाशित: ८ पुस २०८२ १९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App