प्रतिनिधि सभा निर्वाचनअन्तर्गत ललितपुर जिल्लामा कुल ६८.३३ प्रतिशत मतदान भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार जिल्लामा कुल २ लाख ६९ हजार २५६ मतदातामध्ये १ लाख ८३ हजार ९९८ जनाले मतदान गरेका छन्।
प्राप्त विवरणअनुसार मतदान गर्नेमा ९१ हजार ८३१ महिला र ९२ हजार १६७ पुरुष रहेका छन्। ललितपुर क्षेत्र नम्बर १ मा कुल ५२ हजार ६३२ मत खसेको छ। यस क्षेत्रमा २५ हजार ७४१ महिला र २६ हजार ८९१ पुरुषले मतदान गरेका छन्।
त्यसैगरी क्षेत्र नम्बर २ मा ६१ हजार ९७५ मत खसेको छ। यहाँ ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुषले मतदान गरेका छन्। क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी ६९ हजार ३९१ मत खसेको छ। यस क्षेत्रमा ३५ हजार ५५ महिला र ३४ हजार ३३६ पुरुषले मतदान गरेका छन्।
जिल्लाभरका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र मतपेटिका संकलन तथा सुरक्षित रूपमा गणनास्थलतर्फ लैजाने कार्य भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ २१:३१ बिहीबार





