मुलुकको वैदेशिक व्यापार लयमा फर्किएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनको तथ्यांकले यस्तो संकेत गरेको छ। चालु आवको साउनमा निर्यात पोहोरको तुलनामा करिब सतप्रतिशत बढेको छ। भन्सार विभागका अनुसार साउनमा निर्यात ९५.७५ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च हो। पोहोरको तुलनामा निर्यात ११ अर्ब ७१ करोड रुपैयाँले बढेको छ। पोहोर साउन महिनामा १२ अर्ब २२ करोड रुपैयाँको मात्र निर्यात भएको थियो।
निर्यात भएका प्रमुख वस्तुमा भटमासको तेल, प्लाइउड, फलफूल, जुस, धागो, गलैंचा, अलैंचीलगायत छन्। मुलुकबाट निर्यात भएका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ। साउनमा करिब साढे १० अर्ब रुपैयाँ बढीको भटमासको तेल निर्यात निर्यात भएको छ। निर्यात बढ्दा व्यापार घाटा कम हुने भएकाले यो सुखद पक्ष हो। निर्यातको हिस्सा कम भएपछि कोभिडका बेलादेखि समस्यामा परेको निर्यात व्यापार पूर्ण लयमा फर्किएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा पनि निर्यात करिब ८२ प्रतिशतले वृद्धि भएको थियो। आर्थिक वर्ष २०८०/८२ मा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँका वस्तु निर्यात भएकोमा आव २०८१/८२ मा एक वर्षको अवधिमा एक खर्ब २४ अर्ब रुपैयाँ बढेर दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ मूल्यबराबरका वस्तु निर्यात भएको थियो।
निर्यात व्यापारमा उल्लेखनीय वृद्धि हुनुमा नीतिगत सुधारसँगै भट्टमासको तेल प्रमुख कारण भएको निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताउँछन्। निर्यात व्यापारमा केही आशा जागेको घिमिरे बताउँछन्।
वैदेशिक व्यापारले आशा जगाएको भए पनि यो टिकाउ नहुन सक्छ। सोयाबिन तेलको कच्चा पदार्थ स्वदेशमा उत्पादन नभई विदेशबाट आयात गरिन्छ। त्यसबाट तेल निकालेर पुनः विदेश निर्यात गरिन्छ।
चालु आर्थिक वर्षको पहिलो महिना एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ। निर्यातमात्र नभएर आयात पनि केही वृद्धि भएको छ। एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। आयात ११.४२ प्रतिशतले बढेको छ।
सबैभन्दा ठुलो वैदेशिक व्यापार भारतसँग छ। भारतबाट ८३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँका वस्तु आयात भएको छ भने १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात भएको छ। दोस्रो स्थानमा चीन छ। चीनबाट २७ अर्ब ९९ करोड ६० लाख रुपैयाँको आयात र पाँच करोड ४८ लाख रुपैयाँको निर्यात भएको छ। एक महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ छ। पोहोरको तुलनामा व्यापार घाटा २.५५ प्रतिशतले बढेको छ। पोहोर सोही अवधिमा एक खर्ब १६ अर्ब रुपैयाँको व्यापार घाटा थियो।
सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ छ। साउनमा पाँच अर्ब ७७ करोड १४ लाखको पेट्रोल, पाँच अर्ब ८८ करोड ७७ लाखको डिजेल र चार अर्ब ६६ करोड ६४ लाख रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ। गत वर्ष एक वर्षको अवधिमा कुल व्यापार घाटा १५ खर्ब २५ अर्ब नौ करोड रुपैयाँ पुगेको थियो। आव २०८०/८२ मा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँको व्यापार घाटा रहेकोमा आव २०८१/८२ मा १५ खर्ब २७ अर्ब नौ करोड रुपैयाँ ब्यापार घाटा भएको छ।
सरकारले स्वदेशमा खपत हुने वस्तुको उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउँदै लैजाने बताउँदै आएको छ। नेपालको १ सय ३० भन्दा बढी मुलुकसँग व्यापार घाटा छ। सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिएको छ। निर्यातलाई प्रोत्साहन गर्न सरकारले सिमेन्टलगायतका करिब तीन दर्जन बढी वस्तुमा निर्यात अनुदान दिँदै आएको छ।
स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवर्धनका लागि सरकारले निजीक्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर, जुत्तालगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निकासी प्रवर्धन गर्ने योजना बनाएको छ।
प्रकाशित: ८ भाद्र २०८२ ०६:४७ आइतबार





