बैतडीका पाँच स्थानीय तहले रसुवा बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।
दशरथचन्द नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख पुष्करराज जोशीले बताए। नगरप्रमुखस्तरीय निर्णयअनुसार विपद् प्रभावित नागरिकका लागि राहत कोषमा रकम जम्मा गरिनेछ।
पाटन नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५० हजार रुपैयाँ जम्मा गर्ने नगरप्रमुख गौरीसिंह रावलले बताए। दोगडाकेदार गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए। जनप्रतिनिधिको दुई दिन बराबरको पारिश्रमिकसमेत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।
शिवनाथ गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ। विपद् व्यवस्थापन समितिको निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ। सिगास गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए।
बाढीपछि बैतडीका आठ जना सम्पर्कविहीन :
भोटेकोशीमा आएको बाढीपछि बैतडीका आठ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा दुई सुरक्षाकर्मीसहित विभिन्न स्थानीय तहका नागरिक रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले बताए।
उनका अनुसार डिलाशैनी गाउँपालिकाका तीन, सुर्नया गाउँपालिकाका दुई तथा सिगास, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकाका एक–एक जना सम्पर्कविहीन छन्।
त्रिशूली हाइड्रोपावरमा कार्यरत सुर्नया गाउँपालिका–६ का ३१ वर्षीय हरिश चन्द र रसुवा हाइड्रोपावरमा कार्यरत पञ्चेश्वर गाउँपालिका–६ बिजुलका ४० वर्षीय देवबहादुर चन्द सम्पर्कविहीन छन्।
त्यस्तै, डिलाशैनी गाउँपालिका–७ धामीगाउँका २८ वर्षीय पूर्णसिंह धामी र २७ वर्षीय विशाल धामी पनि सम्पर्कविहीन छन्। रसुवाको सशस्त्र प्रहरी बीओपी टिमुरेमा कार्यरत डिलाशैनी–२ मल्ला छेपट्टाकी बिनिता बोहरा तथा लाङटाङ हाइड्रोपावरमा कार्यरत सुर्नया गाउँपालिका–५ बिष्टपालीका २५ वर्षीय केशव बिष्टको पनि बाढीपछि सम्पर्क हुन सकेको छैन।
यसैगरी, इलाका वन कार्यालय इलाममा कार्यरत रही नुवाकोटमा परीक्षा दिन गएका सिगास गाउँपालिका–७ का २३ वर्षीय लक्ष्मण ऐर र रसुवागढी प्रहरी चौकीमा कार्यरत दोगडाकेदार गाउँपालिका–२ का हिक्मत महरा पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १२ भाद्र २०८३ १६:४६ शुक्रबार


-600x400.jpg)


-600x400.jpg)