स्वदेशी र विदेशी गरि कम्तिमा तीनलाख पाहुना भित्र्याउने लक्ष्य सहित पोखरामा आइतबारदेखि फेवा नववर्ष महोत्सव सुरु भएको छ। सांस्कृतिक झाँकी र बाजागाजासहित सुरु भएको २१ औं संस्करणको फेवा नवबर्ष महोत्सव वैशाख १ गतेसम्म चल्नेछ।
नेपाली नयाँवर्षलाई भव्य मनाउँदै पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य आयोजकको रहेको छ। कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित महोत्सवको उद्घाटन गरिन्।
आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा हुने यो महोत्सवले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सघाएको बताए। उनका अनुसार यो बेला पोखरामा आन्तरिक तथा बाह्यक पर्यटकको आगमन पनि उत्साहजनक रहेको छ। भारतीय पर्यटकको आगमन अझै बढी रहेको उनले बताए।
उनका अनुसार यतिबेला पोखराका होटलको अकुपेन्सी करिब ८० प्रतिशत हाराहारीमा पुगेको छ। ‘नयाँवर्षले अझ बढी पाहुना पोखरा भित्र्याउने अपेक्षा छ,’ उनले भने, ‘यो बेला तेश्रो मुलुकका विदेशीको पनि नेपाल घुमघामको सिजन भएकोले पाहुना आगमन सन्तोषजनक रहेको छ।’
पोखरा भित्रका अधिकांश होटलमा अहिले पाहुना रहेको पनि उनले बताए। इन्धन महंगो हुँदा केही समस्या परेको हुनसक्ने भएपनि केहीदिनदेखि पोखरामा पाहुनाको आगमन सन्तोषजनक रहेको पनि उनले बताए।
.jpg)
महोत्सवको उद्घाटन गर्दै प्रजिअ शर्माले फेवा महोत्सव निरन्तर र स्थायी रुपमा संचालन हुँदै आउनु नै यसको सफलता भएको बताइन्। पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसावले महोत्वपूर्ण सहर रहेको भन्दै उनले पर्यटनको राजधानीको पहिचान समेत पाउनु पोखराका लागि सकारात्मक पक्ष भएको भनाई राखिन्। महोत्सवमा प्रस्तुत कलात्मक झाँकी र प्रस्तुतीले जनताबिचको एकता झल्किएको उनले सुनाइन्। पोखरालाई सुरक्षित र सुन्दर सहरको रुपमा निरन्तर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो।
होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पोखराले आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा बढी जोड दिन सुझाव राखे। पोखराका लागि आन्तरिक पर्यटक तथा भारतीय र चिनियाँ पर्यटकले ठूलो योगदान दिन सक्ने उनले बताए। व्यावसायीका अनुसार पोखराको पर्यटनमा कम्तिमा ४० प्रतिशत हिस्सा आन्तरिक पर्यटकले ओगट्ने गरेको छ। यो आगमनलाई अझ बढाउन सक्ने हो भने पोखराले आन्तरिक पर्यटनबाट अझ बढि लाभ पाउने व्यावसायीले बताउने गरेका छन्।
यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी पञ्चेबाजा सहितको र्याली अम्बोट पुगेको थियो। महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो। पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा नै महोत्सव आयोजना गरिएको छ। महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेका छन्।
प्रकाशित: २९ चैत्र २०८२ १७:०९ आइतबार





