१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

विमानस्थलमा हवाई इन्धन डिपो बनाउन साढे ६ अर्बको डिपिआर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिक रहेको नेपाल आयल निगम लिमिटेडको सिनामंगल हवाई इन्धन डिपो स्थानान्त्रणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले करिब साढे ६ अर्ब रुपैयाँ लागतमा निमार्ण गर्ने गरी नयाँ डिपोको डिपिआर तयार गरेको हो। प्रतिवेदनअनुसार तीन हजार किलोलिटर क्षमताको अत्याधुनिक हवाई इन्धन डिपो निर्माणका लागि ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रूपैयाँ लागत लाग्ने भएको छ।

सन् २०१८ मा गरिएको एक अध्ययनअनुसार डिपो सार्न करिब ६ अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक लागत अनुमान गरिएको थियो । ६ वर्षपछिको अध्ययनमा लागत करिब ५४ करोड रुपैयाँ बढेको छ । इन्जिनियरिङ अध्ययन संस्थानले डिपिआर बिहीबार नेपाल आयल निगम हवाई इन्धन डिपोका प्रमुख प्रदीप यादवलाई हस्तान्त्रण गरेको छ ।

अहिलेको हवाई इन्धन डिपो विमानस्थलको ट्याक्सी वेबाट नजिक रहेको हुँदा दुर्घटनाको जोखिम, ५० वर्ष पुरानो, भण्डारण क्षमता कमलगायतका कारणले मन्त्रिपरिषद् बैठकले डिपो सार्ने निर्णय गरेको थियो । निजी क्षेत्रका कन्सल्टेन्सीलाई डिपिआर निर्माणको जिम्मा दिँदा लागतको विषयमा विवाद हुन सक्ने देखिएपछि आयल निगमले विश्वविद्यालयलाई जिम्मा दिएको थियो । डिपो त्रिभुवन विमानस्थलसँगै जोडिएको गुष्येश्वरीस्थित नेपाली सेनाको गल्क कोर्स भएको स्थानमा सार्नको लागि डिपिआर तयार गरिएको हो ।

नयाँ डिपोमा तीन हजार किलोलिटर क्षमताका पाँचवटा भण्डारण ट्याङ्क रहनेछन् । नयाँ बन्ने डिपो अत्याधुनिक प्रविधिसहितको हुने नेपाल आयल निगम हवाई इन्धन डिपो प्रमुख प्रदीप यादवले बताए । ‘डिपो पूर्ण रूपमा स्वचालित प्रणालीको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनेछ,’ यादवले भने, ‘डिपिआर तयार भयो । अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट’ (एपिआइ) मापदण्डअनुसारको डिपो निर्माण गर्छौं ।’

विमानस्थलको गुह्येश्वरीतर्फ नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा डिपो निर्माण हुनेछ । डिपोमा इन्धन भण्डारणको लागि तीन हजार लिटरका पाँच वटा भर्टिकल टयांक रहनेछन् । ईन्धन लोडिङका लागि ६ वटा र अनलोडिङका लागि ८ वटा वे निर्माण हुनेछन् । अन्तराष्ट्रिय उडानका जहाजमा ईन्धन भर्नको लागि सात वटा सात वटा अध्याधुनिक रिफ्युलिङ सिस्टम, दुई वटा रिफ्युलिङ डिस्पेन्सर रहनेछन् । त्यसैगरी, डिपोमा अग्नि सुरक्षाका लागि २१ सय किलोलिटर क्षमताका दुई वटा पानी ट्यांक र पूर्ण स्वचालित फायर फाईटिङ सिस्टम जडान गर्ने योजना छ । त्यसैगरी, प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मत संभार याद, लगायत डिपोको सुरक्षार्थ खटिने नेपाली सेनाको लागि अलग्गै भवनको समेत व्यवस्था रहने छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय स्तर मापदण्डका एपिआई, ओआईएडिको पूर्ण पालना गर्ने गरी डिपिआर तयार गरिएको इन्जिनियरिङ संस्थानले जनाएको छ । डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्टाई नागरिक उडढ्यन प्राधिकरणले साइट क्लियरेन्सको काम गरिरहेको निगमले जनाएको छ । निगमले चालु आर्थिक वर्ष २०८२/८३को बजेटबाट निर्माण अघि बढाउने योजना छ । डिपिआर अध्ययन गरेपछि भाद्र महिनामा निर्माणका लागि बोलपत्र आह्वान गर्ने योजना निगर्मको छ । मंसिरमा निर्माणको काम सुरू गरेर २०८४ को मंसिर भित्र निर्माण सकेर डिपो सञ्चालनमा ल्याउने योजना रहेको प्रमुख यादवले बताए ।

गत वर्षको साउन ९ गते त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि डिपोको जोखिमबारे सतहमा कुरा आएपछि मन्त्रिपरिषद्को बैठककले हवाई इन्धन डिपो सुरक्षित र सुविधायुक्त स्थानमा सार्न निर्देशन दिएको थियो । अहिले सिनामंगल डिपोको एकातर्फ विमानस्थलको टयाक्सी वे र अर्कोतर्फ बस्ती नजिकै रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि डिपो सार्न आयल निगमलाई ताकेता गर्दै आएको थियो । अहिलेको डिपो विमानस्थलको धावनमार्गबाट नजिक रहेकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार नरहेको क्यानले जनाएको छ । अहिलेको हवाई इन्धन डिपोको अधिकांश क्षेत्र ट्याक्सी वेमा पर्ने भएकाले विमानस्थल सुरक्षा, उडान सुरक्षाको दृष्टिकोणले वाञ्छनीय छैन ।

डिपोबाट वरपरका घनाबस्तीमा समेत ठूलो जोखिम छ । आइकाओले तोकेअनुसार विमानस्थलको मापदण्ड पूरा हुन नसक्दा सेफ्टी अडिटको समयमा कमीकमजोरी औंल्याउने हुँदा अन्तर्राष्ट्रिय जगतमा समेत विमानस्थलको र मुलुकको छवि राम्रो नहुने प्राधिकरणले बताउँदै आएको छ । निगमले भारतको सरकारी स्वामित्वको इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन खरिद गरी देशभर बिक्री वितरण एवं भण्डारण गर्दै आएको छ ।

विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलमा इन्धन भण्डारण गृह छ । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार तीन सय ८४ किलोलिटर रहेको छ । अहिलेको डिपोमा भण्डारण क्षमता पाँच दिनका लागि मात्र रहेको छ । सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर राखेर अत्याधुनिक प्रविधिको नयाँ डिपो निर्माण गर्न लागेको हो ।

मुलुकमा हवाई इन्धनको माग हरेक वर्ष बढ्दै गएको छ । नागरिक उड्डयन प्राधिकरणको गुरु योजनाअनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । निर्माणाधि ट्याक्सी वे निर्माण गर्दा अहिले रहेको निगमको सिनामंगल हवाई इन्धन डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था रहेकाले सार्न लागिएको हो ।

प्रकाशित: ८ श्रावण २०८२ १९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App