अर्थमन्त्री रामेश्वर खनालले आर्थिक गतिविधि बढाउन व्यवसायको लागत घटाउनुपर्ने बताएका छन् । बुधबार विराटनगर भन्सार कार्यालयमा अनलाईन भ्यालुएसन डाटा वेश उद्घाटन गर्दै मन्त्री खनालले अर्थिक गतिविधि बढाउन व्यवसायको लागत घटाउनुपर्ने बताएका हुन् ।
मन्त्री खनालले देशको विकासकालागि सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । ‘देशको विकास र आर्थिक क्षेत्रको विकासका लागि सरकार र व्यवसायीवीच सहकार्य आबश्यक छ’ खनालले भने ‘सरकार मात्रै र व्यवसायीमात्रै एक्लै अघि बढ्न सक्दैन ।’ उनले विगतमा दायरा बढाउने नाममा नानाथरी कर थोपर्ने गरिएको बताए । खनालले भने, ‘करको दायरा बढाउने भनेको शिर्षक थपेर कर लगाउने भन्ने बुझाई छ तर, त्यस्तो हैन ।’
विराटनगर आर्थिक गतिविधिको केन्द्रमा रहेको र विराटनगरको इतिहाँस नै आर्थिक क्षेत्रसँग जोडिएकाले विराटनगर भन्सारबाटै अनलाईन भ्यालुएसन डाटा वेस लागू गरिएको जानकारी दिए । खनालले व्यवसायीले भन्सार नगईकनै जाँचपास हुने व्यवस्था भएपछि यसको प्रभावकारीताका लागि व्यवसायीले पनि सहयोग गर्नुपर्ने धारणा राखे ।
उनले चामल देखाएर चिनी आयात गर्ने, क्लीङ्कर भन्दै अन्य वस्तुहरू निर्यात गर्ने, एउटा बस्तुमा अनेकथरीका बस्तुहरू मिसाउने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने बताए ।
प्रकाशित: ८ आश्विन २०८२ २०:५९ बुधबार





