२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
अर्थ

भक्तपुरलाई संस्कृतिसँगै महिला उद्यमशीलताले पनि उज्यालो बनाउँदैछः ज्ञवाली

महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले भक्तपुरलाई इतिहास र संस्कृतिले मात्र नभई महिला उद्यमीको साहस र प्रतिबद्धताले पनि उज्यालो बनाइरहेको टिप्पणी गरेकी छन्। बिहीबार महिला उद्यमी संघ भक्तपुरको साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले यस्तो बताएकी हुन्।

‘भक्तपुर इतिहास, संस्कृति र पहिचानको सहर मात्र होइन, यहाँका महिलाहरूको साहस, प्रतिबद्धता र उद्यमशीलताले सहरलाई अझ उज्यालो बनाएको छ,’ ज्ञवालीले भनिन्।  भक्तपुर ‘महिला उद्यमशीलताको जगमा उभिएको नयाँ केन्द्र’का रूपमा टिप्पणी गर्दै अध्यक्ष ज्ञवालीले महासंघको बुझाइमा सबैजसो प्रदेश र जिल्लामा महिला उद्यमशीलतामा तीव्र वृद्धि भइरहेको अवस्थामा भक्तपुरले अझै विशिष्ट स्थान बनाएको बताइन्। 

‘यहाँ हस्तकला, लोककला, ढाका, खाद्य उत्पादन, पर्यटन, तथा सेवा क्षेत्रमा महिलाहरूले उल्लेखनीय योगदान दिइरहेका छन्,’ भक्तपुरका महिला उद्यमीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘तपाईँहरूको उत्पादनले स्थानीय मात्र होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो पहिचान बनाएको छ।’

आज विश्व अर्थतन्त्र अनिश्चित अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष ज्ञवालीले विश्वभर वित्तीय चुनौती पनि कायम रहेको उल्लेख गरिन्। ‘बजारमा प्रतिस्पर्धा कडा हुँदै छ। तर सबैभन्दा ठुलो परिवर्तन डिजिटाइजेसन र इनोभेसनले गरिरहेको छ। यसले नयाँ अवसर पनि ल्याएको छ,’ उनले भनिन्। 

अहिले महिला उद्यमीहरू डिजिटल मार्केटिङसँग जोडिँदै, ब्रान्ड बनाउँदै, निर्यातमुखी हुँदै र सीपलाई पुँजीमा बदल्ने साहस बढाउँदै गएको पनि अध्यक्ष ज्ञवालीले बताइन्। उनले अगाडि भनिन्, ‘भक्तपुर शाखाका दिदीबहिनीहरूले यो परिवर्तनलाई आत्मसात् गरिरहनु भएको देख्दा गर्व लाग्छ।’

सो अवसरमा अध्यक्ष ज्ञवालीले महासंघका तर्फबाट तीन मुख्य प्रतिबद्धता पनि व्यक्त गरिन्। जसमा बजारमा पहुँच, क्षमता विकास र नीतिगत सुधारका कुरामा उनको जोड थियो। भक्तपुरका महिला उद्यमीहरूका हकमा ‘स्थानीय ब्रान्डलाई वैश्विक मान्यता दिलाउन’ महासंघले भूमिका खेल्ने पनि उनले बताइन्। 

साधारण सभामा महिला उद्यमी संघ भक्तपुरकी अध्यक्ष चित्रा केसीले आफूहरू महिला उद्यमशीलता बढाउन सधैँ सक्रिय रहेको बताइन्। ‘हामी यहाँका महिला दिदीबहिनीहरूलाई उद्यमशीलतामा अग्रसर गराउन, सफल व्यवसायी बनाउन दिनहुँ सक्रिय छौँ,’ उनले भनिन्, ‘नयाँ–पुराना व्यवसायी दिदी बहिनीहरूको उद्यमशीलता बढाउन स्थानीय सरकारदेखि अन्य सरोकारवालासँग पनि हामी प्रयासरत छौँ।’ 

साधारण सभामा संघकी संस्थापक अध्यक्ष रिता अवाले र निवर्तमान अध्यक्ष अञ्जना बास्तोलाले पनि आफ्नो धारणा राखेका थिए। यस्तै सभामा कोषाध्यक्षले आर्थिक प्रतिवेदन र सचिवले वार्षिक प्रतिवेदन पेस गरेका थिए। 

प्रकाशित: २५ मंसिर २०८२ १९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App