७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपाललाई सहायता प्रदान गर्ने मुलुकको सूचीमा पुनः आबद्ध गर्दै जर्मनी

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल भ्रमणमा रहेको जर्मनीका आर्थिक सहयोग र विकास मन्त्रालयका संसदीय राज्यमन्त्री वारवेल कोफलरको नेतृत्वमा रहेको टोलीबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र सहयोगका विविध क्षेत्रबारे गहन छलफल भएको छ।  

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच जर्मनी र नेपालका प्राथमिकताका क्षेत्र तथा सहयोगलाई निरन्तरताका विषयमा केन्द्रित रही विचार विमर्श भयो। जर्मनी नेपालको सामाजिक रुपान्तरण र आर्थिक विकासको प्रमुख साझेदार मुलुक हो। जर्मनीले नेपाललाई पुनःद्विपक्षीय सहायता प्रदान गर्ने मुलुकको सूचीमा आबद्ध गर्ने घोषणा गरेको छ।  

सो अवसरमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक विकास र लोकतान्त्रिक प्रक्रियामा मित्र राष्ट्र जर्मनीबाट निरन्तर साथ र सहयोग प्राप्त भइरहेकामा धन्यवाद ज्ञापन गर्दै कोभिड–१९ सङ्क्रमण रोकथाममा पनि भएको सहयोगप्रति आभार व्यक्त गरे। जर्मनीले नेपाललाई लामो समयदेखि दिगो आर्थिक विकास, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा प्रभावकारी सहयोग उपलब्ध गराउँदै आएको छ। नेपालले जर्मनीसँग पूर्वाधार निर्माण, कृषि र उद्योगका क्षेत्रमा पनि सहयोगको अपेक्षा गर्दै आएको छ।

भेटपछि मन्त्रालयका वैदेशिक सहायता महाशाखाका प्रमुख एवं सहसचिव ईश्वरी अर्यालले दुई देशका प्राथमिकताका क्षेत्रका अतिरिक्त नवीकरणीय ऊर्जा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको बताए।  

जर्मनीले विभिन्न गैरसरकारी संस्थामार्फत पनि नेपाललाई सहयोग पुर्‍याउँदै आएको छ। भेटका अवसरमा नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जलगायत सहभागी थिए।

प्रकाशित: १६ कार्तिक २०७९ ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App