६ वैशाख २०८१ बिहीबार
अर्थ

अर्थको बेवास्ताले चाडपर्वमा चिनी महँगो

चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन सरकारले सुपथ मूल्य पसल सञ्चालन गरेको भए पनि यो वर्षको दसैंमा उपभोक्ताले चिनी महंगोमा किन्नुपर्ने भएको छ। सरकारले हरेक वर्ष चाडपर्वमा सहुलियत दरमा चिनी बिक्री गर्दै आएको भए पनि यो वर्षको चाडमा भने चिनी अझै महँगिने संकेत देखिएको छ।  

अहिले बजारमा चिनी किलोको १ सय १० रूपैयाँमा बिक्री भैरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कर छुटमा ५० हजार मेट्रिक टन चिनी खरिदको लागि अनुमति मागेको भए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि बजारमा चिनी महँगिने भएको हो। आपूर्तिले साल्ट ट्रेडिङ कर्पोरेसनलाई ४० हजार र खाद्य व्यापार कम्पनीलाई १० हजार गरी कुल ५० हजार मेट्रिक टन चिनी आयातका लागि अनुमति मागेको थियो। बजारमा हस्तक्षेप बढाउन भन्सार छुटमा चिनी आयातको लागि अनुमति माग गरेको भए पनि स्वीकृति नपाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–प्रवक्ता उर्मिला केसीले बताइन्। ‘अर्थमा पत्र पठाएका हौं,’ उनले भनिन्– ‘स्कीकृति आएको छैन।’

सरकारी स्वामित्वका संस्थानमार्फत पर्याप्त चिनी खरिद गरेर बजारमा हस्तक्षेप गर्न नसक्दा मूल्यमा बेथिति हुने गरेको छ। चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तथा १३ प्रतिशत मूल्य अभिवृध्दि कर तिर्नुपर्छ। व्यापारीले मनोमानी रूपमा चिनी बिक्री गर्दा उपभोक्ता ठगिने गरेका छन्। चाडपर्वमा अहिलेको मूल्यभन्दा अझ महँगो हुने अनुमान गरिएको छ। सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी स्टक राखेर हस्तक्षेप गर्न नसक्दा उपभोक्ता मर्कामा पर्ने भएका छन्।

ती कम्पनीलाई सरकारले समयमा नै चिनी आयातको अनुमति नदिँदा मागको आधारमा आपूर्ति हुन सकेको छैन। अहिले व्यापार कम्पनी र कर्पोरेसनसँग चिनी छैन। ती दुई कम्पनीले मुलुकका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन गरे पनि चिनी बिक्री गर्न सकेका छैनन्। चिनी स्टक नभएकाले दिन नसकेका हुन्। चाडपर्वमा चिनीको माग बढ्छ। मागको आधारमा बजारमा चिनी नभएपछि स्वतः मूल्य बढ्छ।

चिनी नभएकाले आपूर्ति गर्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताए। ‘सरकारले भन्सार छुटमा खरिद अनुमति नदिएपछि हाम्रो आउटलेटमा चिनी बिक्री गर्न सकेका छैनौंं’, झाले भने– ‘सरकारले समयमै चिनी आयात गर्ने अनुमति नदिँदा बजारमा महँगो भएको छ।’  

फितलो सरकारी तयारीले चिनीको मूल्य बढेको उपभोक्ता अधिकारकर्मी बताउँछन्। सरकारले दशैं, तिहार तथा छठ लक्षित सुपथमूल्यका पसलहरू सञ्चालन गरी बजार मूल्य हस्तक्षेप गरी आम उपभोक्तालाई राहत प्रदान गर्ने प्रयास गरेको भए पनि चिनीमा भने मूल्य बढ्ने भएको छ। ‘समयमा खरिद गरेर स्टक राखेको भए मूल्य नियन्त्रण हुन्थ्यो,’ उपभोक्ता अधिकारकर्मी प्रमेलाल महर्जनले भने– ‘बजारमा प्रभावकारी अनुगमन नहुँदा पनि मूल्य फरक–फरक छ।’ सरकारले भन्सार छुटमा अनुमति नदिँदा महँगो हुने भएको उनले बताए। ‘चाडपर्वमा चिनी १ सय २० पुग्ने सम्भावना छ’– उनले भने।

छुट मूल्यमा आयात गर्न सिफारिस गरेकोमा अर्थ मन्त्रालयले वेवास्ता गर्दा अहिले बजारमा प्रति किलो १ सय १० रूपैयाँमा किन्न उपभोक्ता बाध्य भएको उनले बताए। ‘स्वदेशी उद्योगसंग ११ हजार मेट्रिक टन मात्र चिनी मौज्दात छ,’ महर्जनले भने– ‘मन्त्रालयहरू बीचमा समन्वय नहुँदा उपभोक्ताले उपभोग गर्ने चिनी यस पटकको दशैं बजारमा नपाउने भएकोछ।’ नेपालको दक्षिणी सीमावर्ती क्षेत्रबाट तस्कर भई आएको उनको दाबी छ।

बजारको माग अनुसार स्वदेशी उत्पादन नहुँदा चिनीको मूल्य बढेको चिनी उत्पादक संघले जनाएको छ। दसैंमा मूल्य वृद्धि नियन्त्रण गर्न साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यापार कम्पनीले चिनी आयात अनुमति मागेको थिए। दसैंमा खपत बढ्ने भएकाले बजारमा अभाव हुन नदिन चिनी ल्याउन मागेका थिए। पर्याप्त चिनी भएन भने बजारमा कालोबजारी हुने सम्भावना हुन्छ।

मुलुकमा वार्षिक दुई लाख ५० हजार टन चिनीको माग छन्। नेपालमा वार्षिक करिब १ लाख ८० हजार मेट्रिक टन मात्र चिनी उत्पादन हुने उद्योगी बताउँछन्। नेपालमा एकदर्जन चिनी उद्योग छन्। अहिले निजी क्षेत्रका व्यवसायीले पनि चिनी आयात गरिरहेका छन्। दसैं, तिहार, छठलगायतका पर्वमा चिनीको खपत उच्च हुन्छ। 

प्रकाशित: ६ आश्विन २०७९ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App