अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भारतले इरानबाट तेल किन्नुको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरेको दाबी गरेका छन्। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाएपछि अमेरिका भेनेजुएलाको तेल उद्योगमाथि आफ्नो नियन्त्रण कायम गर्ने योजना बनाइरहेको छ।
ट्रम्पले भेनेजुएला अब अमेरिकालाई ठूलो परिमाणमा तेल आपूर्ति गर्न तयार रहेको घोषणा पनि गरिसकेका छन्। शनिबार एयरफोर्स वनमा पत्रकारहरूसँग कुराकानीका क्रममा ट्रम्पसँग चीनले तेलको लागि भेनेजुएलालाई दिएको पैसा फिर्ता लिन्छ कि लिँदैन भन्ने प्रश्न गरिएको थियो।
यसको जवाफमा ट्रम्पले भने, ‘मलाई यसबारे केही थाहा छैन। तर म तपाईंलाई भन्न चाहन्छु, चीनलाई स्वागत छ र उसले तेलमा निकै राम्रो सम्झौता गर्न सक्छ। हामी चीनलाई स्वागत गर्छौं।’
ट्रम्पले भने, ‘हामीले पहिल्यै एउटा सम्झौता गरिसकेका छौं... भारतले इरानबाट होइन, भेनेजुएलाबाट तेल किन्नेछ। त्यो सम्झौता हामीले पहिल्यै गरिसकेका छौं।’ उनले भेनेजुएलाको तेल किन्न चीनलाई पनि स्वागत गरिएको र चाहने हो भने आएर तेल किन्न सक्ने बताएका छन्। ट्रम्पको यस दाबीमा हालसम्म भारतको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। एजेन्सी
प्रकाशित: १८ माघ २०८२ ११:३६ आइतबार





