२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

सुरक्षित बास र सम्मानजनक जीवन

फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदै छ। चुनाव नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरू आआफ्ना चुनावी अभियानमा व्यस्त छन्। सडकछेउ पोस्टर टाँसिएका छन्, चोकचोकमा माइकबाट भाषण गुन्जिरहेका छन्। विकास, रोजगारी, समृद्धि र परिवर्तनका नाराले बजार तताएको छ, तर कोहलपुर नगरपालिकाको हबल्दारपुरबाट पश्चिमतर्फ केहीबेर हिँड्ने हो भने चुनावी माहोल एकाएक फेरिन्छ। यहाँ न कुनै माइक छ, न भाषण। यहाँ छ, ‘त्रिपालमुनिको जीवन र भोटसँग जोडिएको एउटा गम्भीर प्रश्न।’

सडकछेउमै लहरै देखिने त्रिपालले बनाइएका टेन्टहरू टाढाबाट हेर्दा अस्थायी शिविर जस्तै देखिन्छन्, तर ती कुनै शिविर होइनन्, ती मगन्ते समुदायका परिवारका बस्ती हुन्। १८ वटा टेन्टमा दर्जनौं परिवार आश्रित छन्। कुनै योजना छैन, कुनै स्थायी संरचना छैन। प्वाल परेको त्रिपाल, च्यातिएको छाना र कमजोर डोरीले बाँधिएका टेन्टहरू नै उनीहरूको घर, छाना र संसार बनेका छन्।

पुसको कठ्यांग्रिने जाडोले छाडिसके पनि यहाँको पीडा सकिएको छैन। हावा चल्दा टेन्ट हल्लिन्छ, पानी पर्दा भित्र पस्छ। एउटै टेन्टभित्र पाँचदेखि सातजनासम्म कोचिएर बस्छन्। सुत्ने ठाउँ कम छ, ओढ्ने त झन् छैन। रात बिताउनु यहाँको सबैभन्दा ठूलो संघर्ष हो। जफरुद्दीन मुस्लिम यही बस्तीका बासिन्दा हुन्। सातजनाको परिवारसँग उनी त्रिपालमुनि बस्छन्। श्रीमती र पाँच छोराछोरी। ओढ्ने एउटा पनि सिरक छैन। भएको एउटा पुरानो कम्बल सातजनाले पालैपालो तान्दै रात काट्छन्। ‘एउटाले ताने अर्कोलाई पुग्दैन’, उनी भन्छन्, ‘चिसोले रातभर सुत्न सकिँदैन।’

जफरुद्दीनले धेरै चुनाव देखेका छन्। नेताहरूका अनुहार फेरिएको देखेका छन्, नारा फेरिएको सुनेका छन्, तर आफ्नो जीवन भने कहिल्यै नफेरिएको उनी बताउँछन्। ‘हामीले चुनाव त देख्यौं’, उनी भन्छन्, ‘तर चुनावले हामीलाई देखेन।’

बस्तीमा बिहान चाँडै घाम लाग्दैन। कुहिरोले ढाकिएको वातावरणमा भिजेको पराल, चिसो माटो र भोकसँग जुध्दै दिन सुरु हुन्छ। बिहान उज्यालो हुनासाथ सबैको मनमा एउटै प्रश्न उठ्छ, ‘आज के खाने? कसरी चुलो बाल्ने?’

दिउँसो करिब दुई बजेतिर सैमुल मुस्लिम बस्ती फर्कन्छिन्। नजिकैको झन्डहवाको बजारतर्फ बिहानैदेखि माग्दै हिँडेकी उनी झोलामा थोरै सामान बोकेर आएकी हुन्छिन्। झोलाभित्र आधा किलोजति चामल, कुहिन थालेका खुर्सानी र आलु हुन्छन्। कहिलेकाहीँ कसैले दिएको पकौडी पनि हुन्छ। ‘बिहान आठ बजेदेखि माग्दै हिँडेको’, उनी भन्छिन्, ‘आज यत्ति नै भयो।’

सैमुल बस्तीमा पुग्नासाथ उनका छोराछोरी झोलातर्फ दौडिन्छन्। पकौडी झिकेर सबैलाई बाँडिन्छ। त्यो खाना उनीहरूका लागि केवल पेट भर्ने साधन होइन, दिनभर बाँच्ने आशा हो। पेट त भरिँदैन तर भोक केही समय चुप लाग्छ।

मोहम्मद अहिमको अवस्था पनि उस्तै छ। उनको परिवार पनि त्रिपालमुनि नै बस्छ। पानी पर्दा भित्र पस्छ, हावा चल्दा छाना हल्लिन्छ। राति सुत्दा सर्प, मुसा र अन्य जनावरको डर हुन्छ। ‘तर पनि यही हाम्रो घर हो’, उनी हाँस्न खोज्छन्। त्यो हाँसोभित्र गहिरो पीडा लुकेको देखिन्छ। स्थायी बसोबास नहुँदा उनीहरू दुई–तीन हप्ता एउटै ठाउँमा बसेपछि फेरि त्रिपाल बोकेर अर्को ठाउँतर्फ लाग्छन्। आज यहाँ, भोलि अर्कै ठाउँ। आफ्नै नाममा एक टुक्रा जमिन छैन। यही कारण उनीहरू राज्यका धेरै सेवाबाट बाहिर छन्।

यसपटकको चुनावलाई भने मगन्ते समुदायले ध्यानपूर्वक हेरिरहेका छन्। उनीहरूका लागि यो चुनाव दलको जितहारभन्दा फरक अर्थ राख्छ। उनीहरू भन्छन्, ‘यो चुनावले उनीहरूलाई सम्मानजनक जीवन दिन्छ कि दिँदैन, त्यसको परीक्षा हो।’

समानी अहिमद भन्छन्, ‘हामी मागेर खान चाहँदैनौं। काम गरेर खान पाउँदा हाम्रो आत्मसम्मान बाँच्छ।’ उनीहरूको माग ठूलो छैन, ‘आयआर्जनको व्यवस्था, सीपमूलक तालिम, सुरक्षित बसोबास र न्यूनतम सेवा।’

बस्तीका उम्मेदवारहरू भोट माग्न आउँदा उनीहरूले एउटा मात्र प्रश्न सोध्नेछन्, ‘हामीलाई मागेर होइन, काम गरेर बाँच्ने व्यवस्था हुन्छ कि हुँदैन?’

बस्तीका बालबालिकाको अवस्था झन् दयनीय छ। उनीहरू विद्यालय जाँदैनन्। किताब, झोला, पोसाक छैन। धेरैजसोको खुट्टामा चप्पलसमेत छैन। सडकछेउ चुनावी पोस्टर टाँसिएका छन् तर त्यही सडकमा नांगो खुट्टा दौडिरहेका बालबालिकाको भविष्य अनिश्चित छ। सैमुल भन्छिन्, ‘हाम्रा छोराछोरी स्कुल जान पाए भने हामीले जीवनभर माग्नुपर्दैन।’

उनका लागि शिक्षा नै सबैभन्दा ठूलो परिवर्तन हो। ‘त्यो व्यवस्था गर्ने उम्मेदवार नै हाम्रो उम्मेदवार हो’, उनी थप्छिन्।

स्वास्थ्य सुविधा पनि यहाँको अर्को ठूलो समस्या हो। बिरामी पर्दा अस्पताल जान पैसा छैन। चिसोका कारण खोकी, ज्वरो, छाती दुख्ने समस्या धेरैमा देखिन्छ। महिलाहरू सुरक्षित बसोबास र सरसफाइ अभावका कारण झन् जोखिममा छन्। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार बाँके जिल्लामा गरिबी दर २६.९२ प्रतिशत पुगेको छ। जिल्लाको कुल जनसंख्या पाँच लाख ९७ हजारभन्दा बढी छ। एक लाख ६० हजारभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि छ, तर मगन्ते समुदाय अझै पनि तथ्यांक, योजना र राहतको पहुँचबाहिर छ। स्थायी ठेगाना नहुँदा सामाजिक सुरक्षा भत्ता, राहत र सरकारी कार्यक्रम उनीहरूसम्म पुग्दैन।

चुनावी अभियानका क्रममा उम्मेदवारहरू विकासका ठूला सपना देखाइरहेका छन्, तर त्रिपालमुनिको बस्तीमा सपना सानो छ, ‘सुरक्षित घर, नियमित काम र सम्मानजनक जीवन।’

फागुन २१ गते मतदान केन्द्रमा मत खस्दा मगन्ते समुदायका यी परिवारले धेरै सोच्नेछन्। उनीहरूका लागि भोट कुनै दलप्रतिको आस्था होइन, जीवन बदल्ने आशा हो।

जफरुद्दीन अन्त्यमा भन्छन्, ‘हामीलाई भाषण चाहिँदैन। घर बस्ने ठाउँ देऊ, काम देऊ। त्यो गर्ने मान्छेलाई नै हाम्रो भोट जान्छ।’ त्रिपालमुनिबाट उठेको यो आवाज सायद ठूलो सभाजत्तिकै ठूलो छैन तर यसले लोकतन्त्रको गहिरो अर्थ सम्झाउँछ, ‘भोट केवल सत्ता परिवर्तनको साधन होइन, जीवन परिवर्तनको आशा पनि हो।’

प्रकाशित: १८ माघ २०८२ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App