बेलायतका प्रधानमन्त्री सर केयर स्टार्मरले अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनका पीडितहरूसँग सार्वजनिक रूपमा माफी मागेका छन्। लर्ड पिटर म्यान्डेलसनको भनाइलाई ‘झूट’ हुँदाहुँदै विश्वास गरेको र उनलाई अमेरिकाका लागि बेलायतको राजदूत नियुक्त गरेको विषयमा प्रधानमन्त्रीले पछुतो व्यक्त गर्दै माफी मागेका हुन्।
स्थानीय समुदाय सुधारका लागि कोषसम्बन्धी योजनाबद्ध भाषणका क्रममा बढ्दो आलोचनालाई सम्बोधन गर्दै प्रधानमन्त्री स्टार्मरले म्यान्डेलसन र एपस्टिनबीचको सम्बन्धबारे आफूले गम्भीर त्रुटि गरेको स्वीकार गरे। उनले भने, 'लर्ड म्यान्डेलसनले एपस्टिनलाई चिनेको कुरा केही समयदेखि सार्वजनिक रूपमा थाहा थियो, तर त्यो सम्बन्ध कति गहिरो र अन्धकारपूर्ण थियो भन्ने कुरा हामीमध्ये कसैलाई थाहा थिएन।'
प्रधानमन्त्रीको यो स्वीकारोक्तिपछि बेलायती राजनीति थप तातिएको छ। कन्जरभेटिभ पार्टीकी नेता केमी बडेनोचले स्टार्मरको प्रधानमन्त्री पद ‘अस्थिर’ बनेको टिप्पणी गरेकी छन्। यस्तै, लिबरल डेमोक्र्याटहरूले लेबर पार्टीका सांसदहरूले प्रधानमन्त्रीलाई अझै समर्थन गर्छन् कि गर्दैनन् भन्ने कुरा स्पष्ट गर्न विश्वासको मत गरिनुपर्ने माग गरेका छन्।
यसैबीच, प्रधानमन्त्री स्टार्मरलाई आफ्नै पार्टीभित्रबाट पनि राजीनामा दिन दबाब बढ्दै गएको छ। सार्वजनिक रूपमा आलोचना गर्ने केही ब्याकबेन्चरहरू पहिलेदेखि नै उनका आलोचक रहे पनि धेरै सांसदहरूले निजी रूपमा गम्भीर चिन्ता व्यक्त गरिरहेको बताइएको छ।
सर केयरका पूर्व राजनीतिक निर्देशक लुक सुलिभानले प्रधानमन्त्री आफ्नो पद जोगाउन संघर्षरत रहेको टिप्पणी गरेका छन्। बीबीसीको न्यूजकास्ट कार्यक्रममा उनले भने, 'प्रधानमन्त्रीले आफूलाई कति गम्भीर र खतरनाक परिस्थितिमा पारेका छन् भन्ने कुरालाई कम आँकलन गर्न सकिँदैन।'
विवाद शान्त पार्ने प्रयासस्वरूप प्रधानमन्त्री स्टार्मरले आफूले म्यान्डेलसनलाई नियुक्त गरेकोमा पछुतो लागेको र अहिले थाहा भएको तथ्य पहिले नै थाहा भएको भए यस्तो निर्णय नलिने बताएका छन्।
एपस्टिनका पीडितहरूलाई सिधै सम्बोधन गर्दै उनले भने, 'मलाई माफ गर्नुहोस्। तपाईंहरूसँग जे गरियो त्यसका लागि माफी चाहन्छु। धेरै शक्ति भएका मानिसहरूले तपाईंहरूलाई असफल बनाएकोमा माफी चाहन्छु। म्यान्डेलसनको झूटलाई विश्वास गरेकोमा, उनलाई नियुक्त गरेकोमा र आज पनि तपाईंहरू यो पीडादायी कथा फेरि सार्वजनिक रूपमा देख्न बाध्य हुनुपरेकोमा माफी चाहन्छु।'
प्रधानमन्त्रीको माफीप्रति प्रतिक्रिया दिँदै एपस्टिन पीडित मारिना लासेर्डाले यो कदमको प्रशंसा गरेकी छन्। बीबीसीको न्यूजनाइट कार्यक्रममा उनले भनिन्, 'राष्ट्रिय टेलिभिजनमा आएर आफू गलत भएको स्वीकार गर्नु र हामीसँग माफी माग्नु ठूलो कुरा हो। यहाँ अमेरिकामा पनि धेरै प्रभावशाली व्यक्तिहरूले हामीसँग माफी माग्ने प्रयाससमेत गरेका छैनन्।'
उनले थपिन्, 'त्यसैले यस विषयमा म प्रधानमन्त्री स्टार्मरको प्रशंसा गर्नै पर्छ।' बीबीसी
प्रकाशित: २३ माघ २०८२ ०९:२० शुक्रबार




