२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल पूर्वाधार सम्मेलन बिहीबारदेखि

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण बिहीवारदेखि काठमाडौंमा हुने भएको छ।  

दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ परिसंघले सरकारसँगको साझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ।  

पूर्वाधार सम्मेलनमा यातायात, ऊर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने लक्ष्य राखिएको छ।

सम्मेलनमा दिगो विकास लक्ष्यहरू हासिल गर्न मदत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा गहन छलफल हुनेछ।  

सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६÷७७ मा नेपालको आर्थिक वृद्धि २.३७ प्रतिशतले संकुचित भएको थियो। आर्थिक गतिविधिहरू विश्वव्यापी रूपमा ठप्प हुँदा विश्वभर आपूर्तिमा गम्भीर अवरोधको सामना गर्नुपर्यो। नेपालले आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।  

कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक वृद्धि हासिल गर्नका लागि पूर्वाधारमा लगानी अनिवार्य छ। नेपाल पूर्वाधार सम्मेलनले आर्थिक पुनरुत्थान र हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै लगानी गर्नु नै उत्तम सर्त हो भन्ने धारणालाई सुदृढ पार्ने परिसंघले जनाएको छ। सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने अपेक्षा राखिएको छ।

सम्मेलनमा पूर्वाधारका लागि लगानी प्रवद्र्धन, सफल अभ्यास, विकासका अवरोध लगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच छलफल हुने परिसंघले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०७९ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App