७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

परियोजनाद्वारा चितवनमा करिब ४ करोड बराबरका अनुदानका योजना

२१ कार्यक्रमका लागि प्रस्ताव माग, ८५ प्रतिशतसम्म अनुदान पाउने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनले ठूलो संख्यामा कृषिका कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ।

आज (मंगलबार) एक सूचना जारी गर्दै कार्यालयले तीन करोड ७७ लाख २१ हजार रुपैयाँ बराबरका २१ वटा कृषिका कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो। कार्यालयले सिंचाइ पूर्वाधार निर्माण तथा मर्मत, स्यालो ट्यूबेल, कृषि बजारीकरण, कृषि यान्त्रीकरणमा सहयोग, चक्लाबन्दीमा आधारित खेतीको प्रर्वद्धन, बीउ उत्पादन लगायतका क्षेत्रका लागि कृषकलाई दरखास्त दिन आह्वान गरेको छ।

परियोजनाले तरकारी, केरा, धान र मौरी पालक किसानका लागि प्रस्ताव आह्वान गरेको हो। परियोजनाले सबैभन्दा धेरै धान जोन अन्तरगत २ करोड ४ लाख २१ हजार रुपैयाँका कार्यक्रमका सञ्चालन गर्न लागेको छ। त्यस्तै केरा जोन अन्तरगत ६७ लाख, मौरी जोनका ६२ लाख र तरकारीमा ३० लाख रुपैयाँका कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको परियोजाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए।

सञ्चालित कार्यक्रममध्ये ५० देखि ८५ प्रतिशतसम्म अनुदानका कार्यक्रम छन्। परियोजनाले ५६ वटा सिंचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि दरखास्त आह्वान गरेको कार्यालयले ८५ लाख ६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसमध्ये व्यवसायीक उत्पादनका क्षेत्रहरुमा ७ वटा सिंचाइ पूर्वाधार निर्माण तथा मर्मत गर्न १४ लाख रुपैयाँ बजेट स्वीकृत गरिएको छ। धान जोनका लागि ५६ वटा स्यालो ट्यूबलेट निर्माण गर्न ४७ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन भएको छ।

धान जोन अन्तरगत ३५ हेक्टर क्षेत्रफलमा बीउ उत्पादनमा सहयोगका लागि ४ लाख ३८ हजार, सामुदायिक नर्सरी सञ्चालनमा १ लाख ५ हजार, जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोगमा ६० लाख, चक्लाबन्दीमा चैते धान प्रर्वद्धन गर्न १४ लाख, धान सुकाउने ड्रायर सेन्टर स्थापना गर्न ३० लाख, स्थानीय धानको ब्रान्डिङ सहयोगमा ७ लाख ७२ हजार र धानको बीउ प्रशोधन केन्द्रको स्तरोन्नतीका लागि ३९ लाख १ हजार रुपैयाँ बजेट रहेको छ।

तरकारी जोन क्षेत्रअन्तर्गत कृषि यान्त्रीकरण, बजार प्रर्वद्धन र गाजर खेती प्रर्वद्धनका लागि दरखास्त आह्वान गरिएको छ। यी तीन वटा कार्यक्रमका लागि दरखास्त आह्वान गरेको कार्यालयले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यी कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्मको अनुदान रहेको छ। केरा जोन क्षेत्रअन्तर्गत कृषि यान्त्रीकरण सहयोग, सिंचाइ पूर्वाधार निर्माण, केरामा उन्नत प्रविधी प्रदर्शन, बजारीकरणका लागि प्रस्ताव आह्वान गरिएको हो।

यी कार्यक्रम सञ्चालन गर्न कार्यालयले ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। केरामा उन्ननत प्रविधि प्रदर्शनमा २० लाख, कृषि यान्त्रीकरणमा ८ लाख, सिंचाइमा २४ लाख, केरा बजारीकरणमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यी  कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्मको अनुदान रहेको छ। मौरी जोन क्षेत्रमा कृषि यान्त्रीकरण, घार वितरण, महको प्रशोधन उद्योगमा सहयोग, मौरीघार राख्ने टहरो निर्माण सम्बन्धी कार्यक्रमका लागि पनि प्रस्ताव आह्वान गरिएको छ।

यी कार्यक्रमका लागि ६२ लाख रुपैयाँ बजेट छ। ५० प्रतिशत अनुदानमा १० वटा टहरो निर्माण गर्न २० लाख बजेट विनियोजन गरिएको छ। परियोजना कार्यान्वयन इकाई चितवनले दरखास्त आह्वान गरेका अधिकांश कार्यक्रम ५० देखि ८५ प्रतिशतसम्मका अनुदानका कार्यक्रम रहेका छन्। यी कार्यक्रममा सहभागी हुनका लागि परियोजनामा सूचीकृत इच्छुक कृषि समूह, सहकारी, कृषि फर्म, कम्पनीलाई आवश्यक कागजातसहित ३० दिन (भदौ २९) भित्र आवेदन दर्ता गर्न अनुरोध गरिएको छ।

परियोजनाका कार्यक्रममा सहभागी हुन संस्थाको नविकरण भएको प्रमाणपत्र, जग्गाको स्वामित्व खुल्ने सम्झौतानामा, कार्यसमितिको निर्णयको प्रतिलिपि, स्थायी लेखा नम्बर दर्ताको प्रतिलिपि, कर चुक्तालगायतका प्रमाणपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: ३१ श्रावण २०७९ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App