coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गर्मीले आत्तिदैं, डाँडाकाँडा उक्लिंदै

पोखरा आसपासमा डाँडामा आन्तरिक पाहुना

कास्कीको माछापुच्छ्रे– ६ अस्तामको अन्नपूर्ण इको भिलेज लज र त्यहाँ पुगेका पाहुना। तस्बिरः नागरिक

पोखराको पछिल्लो तापक्रम ३५ डिग्री सेल्सियससम्म उक्लेको छ। तीन वर्षअघिको रेकर्ड तोड्दै तापक्रमले उच्च बिन्दु लिँदा यहाँ दिनको समयमा चहलपहल घटेको छ। तापक्रम बढेसँगै सहरभित्रको चहलपहल घटेपनि आसपासका पर्यटकीय गाउँमा भने यो बेलामा पनि आन्तरिक पाहुना उक्लिएको त्यहाँका व्यवसायीले बताएका छन्। पोखराको गर्मी छल्ने गन्तव्यको रुपमा अहिले आसपासका पर्यटकीय गाउँ परेको उनीहरुले बताएका छन्।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्तामको अन्नपूर्ण इको भिलेज लजमा यो बेला पनि पाहुना खालि छैनन। कोरोना संक्रमण सुरु हुनु अघि यो बेलामा अस्तामको यो लजले खासै पाहुना पाउँदैनथ्यो। फाट्टफुट्ट पुग्ने बाहेक पाहुना नपुग्दा अस्तामको यो लज अधिकांश दिन सुनसान रहन्थ्यो। तर, अहिले भने पाहुना नउक्लेको दिन खालि छैन। यतिसम्म की ३२ जना अट्ने लजमा कुनैदिन त पाहुना समेत अट्न छाडेका छन्।

‘शुक्रबार र शनिबार खचाखच जस्तै पाहुना हुन्छन। अघिल्लो साता त ठाउँ नपाएर एउटा समुह नै फर्किनुपर्‍यो,’ अन्नपूर्ण इको भिलेजका संचालक विश्वराज अधिकारी भन्छन, ‘वर्षाको यो याममा खासै पाहुना आउने समय त होईन, तर, अहिले भने सहरमा गर्मी भएर होला, अत्तासिएका पाहुना शितल महसुस गर्न डाँडासम्म उक्लेका छन्।’ शनिबार र आइतबार त बिहानै हिमाल खुल्दा पुगेका पाहुना निकै नै रमाएको उनले सुनाए।

पोखरा सहरबाट करिब १८ किलोमिटर टाढाको यो लजमा बेलुकी बास बस्न पुग्ने र बिहान सहर फर्किने पाहुना हुने गरेको अधिकारीले सुनाए। ‘कोरोनाअघि पनि वर्षायाममा यत्तिको संख्यामा पाहुना आउँदैनथे। तर, अहिले हामीले सोचेभन्दा बढी पाहुना आएका छन। पाहुनाको सेवा गर्दै समय बितेको छ,’ उनले भने, ‘ग्रामिण पर्यटनले यो बेला पाहुना देख्न पाएको छ। अहिलेका पाहुनामा अधिकांश स्थानीय छन्।’  

सहरमा अहिले नसोचेको गर्मी हुँदा एकरातका लागि भएपनि माथि उक्लने पाहुना बढेको उनले बताए। ‘बजारमा पानी परेको छैन। बिहानैदेखि घाम चर्केको छ। पोखरामा दिनहुँ पानी पर्ने र शितल हुन्छ भन्ने बुझाई भएपनि यो पटक केहीदिनदेखि उखरमाउलो गर्मी बढेको छ,’ उनले भने, ‘त्यसले गर्दा एकरातका लागि भएपनि सहर छाड्न चाहने पाहुना बढेका छन्।’  

यहीबेला हिमाल खुलेको र सबैतिर हरियाली देखिँदा पाहुना झनै रमाउने उनले बताए। ‘वर्षायाममा सन्तोषजनक व्यवसाय गर्न सकिएको छ। हुन् त हाम्रा पाहुना आन्तरिक हुन्, तरपनि व्यवसाय सोचेभन्दा राम्रो छ,’ अधिकारीले भने, ‘आन्तरिक पाहुनाको गन्तव्य डाँडाकाँडा बनेका छन्।’

अस्ताममा मात्र होइन, अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने घान्द्रुकमा पनि पाहुनाको उत्तिकै भीडभाड रहेको छ। घान्द्रुकका होटलमा पनि अहिले आन्तरिक पाहुनाको भीड लागेको त्यहाँका होटल व्यवसायीले बताएका छन। पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङले वर्षायाममा पनि पाहुनाको भीड लागेको बताए। उनका अनुसार घान्द्रुकका होटलको अकुपेन्सी दर अहिले पनि करिब ५० प्रतिशत छ।  

‘यो वर्षायाममा पनि यहाँका होटलको अकुपेन्सी दर ५० प्रतिशत हाराहारीमा उक्लेको छ, यो निकै नै खुसीको कुरा हो। अफसिजनको यो अकुपेन्सी निकै नै राम्रो हो,’ गुरुङले भने, ‘यो बेला विदेशी पाहुनाको त समय नै होईन, तर, यही सिजनमा पनि आन्तरिक पाहुनाको आउजाउले हामीलाई उत्साही बनाएको छ।’ उनका अनुसार कोरोना संक्रमण सुरु हुनु अघि यो बेला फाट्टफुट्ट बाहेक पाहुना हुँदैनथे। कोरोना अवधिमा त झनै सुनसान बन्यो, तर, अहिले भने पाहुनाको आगमनले यहाँका व्यवसायीलाई व्यस्त बनाएको उनले बताए।

‘पोखरामा पनि यो बेला गर्मी छ। गर्मी छल्न आउने पाहुना एकरातका हुन्,’ उनले भने, ‘घान्द्रुकमा अहिले शितल छ। अहिले त घान्द्रुक पनि पोखरेलीको गर्मी छल्ने गन्तव्य बनेको छ।’ उनका अनुसार सार्वजनिक र साप्ताहिक बिदामा त घान्द्रुकका होटलको अकुपेन्सी करिब ७० प्रतिशत पुग्छ। ‘यो बेला धेरथोर सबै व्यवसायीले पाहुना पाएका छन्। अफसिजनका पाहुनाले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाएको छ। एकरातका भएपनि पाहुना आउँदा व्यसायीले राहतको सास फेर्न पाएका छन्।’  

अध्यक्ष गुरुङका अनुसार घान्द्रुक सहित आसपासका गन्तव्य घोरेपानी, टाढापानी, छोमरोङ र अन्नपूर्ण आधारशिविरसम्म पनि पाहुना उक्लेका छन। तर, आधारशिविरसम् मभने सिमित मात्र पुगेका छन्। अधिक पाहुना घान्द्रुकबाटै फर्किने गरेका छन। उनका अनुसार कोरोना अघिको सामान्य अवस्थामा यो बेलाको अकुपेन्सी करिब १५ प्रतिशत हुन्थ्यो। तर, अहिले भने त्यो आकारमाथि उक्लिँदा राहतको महसुस गरेको उनले बताए। ‘कोरोनाले गर्दा थलिएको पर्यटन क्षेत्रमा अहिलेको आगमनले थोरै भएपनि मल्हम लगाएको छ,’ उनले भने, ‘गर्मी नहुँदो हो त यो बेला पाहुना आउने थिएनन होला, तर, अहिले पाहुना आगमन देख्दा व्यवसायी खुसी छन।’

प्रकाशित: १ श्रावण २०७९ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App