२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

रासायनीक मलको अभावमा किसान, मल नबिक्दा प्रांगारिक मल उद्योग बन्द

तस्बिर: बन्द रहेको प्रांगारिक मल उद्योग।

बर्खायाम सुरु भएलगत्तै चल्ने मलको ‘पिरलो’ बाट किसानहरु यो बर्ष पनि मुक्त हुन सकेनन्। खेतीपातीको जोरजाममा लागिसकेका उनीहरुलाई बिगतका बर्ष जस्तै अहिले पनि ‘फसल’ कसरी सपार्ने भन्ने चिन्ताले घोतलीरहेको छ। बजारमा मल छैन, नत मल आउने अत्तोपत्तो नै छ। ‘धान खेतीको समय सुरु भैसक्यो’ तुलसीपुर बेलझुण्डिका किसान माधव बस्नेतले भने ‘खेतीपातीको समष् सुरु भएर पनि के गर्नु? खेतीका लागि मल छैन।’ जहिल्यै बाहिरबाट आयात हुने रासायनीक मलकै पर्खाईमा किसाहरु हुन्छन् तर जिल्लामै झण्डै दशक अघि खुलेको प्रारंगारिक मल उद्योग भने बन्द छ। 

यो मलको आवश्यक्ता किसानहरुले देखेनन् अनि मल विक्री गर्न नसकेको उद्योग बन्द हुन पुग्यो।  घोराही उपमहानगरपालिका–१७ बेलभारमा २०७१ सालमा स्थापना भएको सुर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र प्रा.लि. जेनतेन चलिरहेकै थियो। कोरोना संक्रमण सुरु भएसंगै उद्योग सञ्चालनमा झन समस्या भयो। अनि सञ्चालक महेश चौधरीले उद्योगै बन्द गरिदिए। ‘प्रारंगारिक मलले के खेती सप्रिएला र ? भनेर किसानहरुले सुरुमा बिश्वास मानेनन्,’ चौधरीले भने ‘तथापी फाट्टफूट्ट किसााहरुले खरिद गरिरहेका थिए, तर कोरोना भाईरसको संक्रमण आएपछि उद्योग सञ्चालनमा झन ठूलो समस्या आयो, अनि बन्द गरेरै बस्नु पर्यो।’ 

२०७१ मा स्थापना भएको यो उद्योगले दुई बर्ष पछि २०७३ मा  नेपाल कृषि अनुसन्धान केन्द्र नार्कबाट अनुमति प्राप्त गरेको थियो। मल उत्पादनका लागि चाहिने कच्चा पदार्थ पचास प्रतिसत स्थानीय स्तरमै जोहो हुन्थ्यो भने पचास प्रतिसत कच्चा पदार्थ बाहिर बाट आयात गर्नु पथ्र्यो। ‘यहाँ प्रांगारिक मल उत्पादन गर्नका लागि कच्चा पदार्थ प्रशस्तै छ,’ चौधरी भन्छन् ‘यसर्थ मल उत्पादनमा समस्यै छैन।’  तर किसानहरुले यसको उपयोगिता बारे प्रश्न उठाए। ‘उद्योग भएकै स्थानका किसानहरुले पनि यो मल उपयोगि हुन्छ भनेर पत्याएनन्,’ चौधरी भन्छन् ‘तर किसानहरु उही रासायनीक मलकै खोजीमा मात्रै खोजीमा भोँतारिईरहे।’ चौधरीका अनुसार यो मल रासायनीक मलको जस्तै गुणस्तरीय रहेको बताए।  नार्कबाट अनुमति प्राप्त प्राङ्गारिक मल भएकाले किसानले रासायनिक मल यूरिया र डिएपीको विकल्पमा प्रयोग गर्न सक्ने उनको भनाई छ। ‘उत्पादनसँगै जमिनको उर्वरा शक्ति बचाई राख्नका लागि समेत प्राङ्गारिक मल आवश्यकता छ’,उनले भने,‘तर चेतनाको कमीका कारण छोटो समयमा बढी उत्पादन लिन किसानले रासायनिक मल प्रयोग गर्छन।’

प्रांगारिक मल प्रतिको किसानहरुको अविश्वास , अनि कोरोना महामारीका कारण धरासायी बन्न पुगेको यो मल उद्योगलाई थप स्तर बृद्धि गरि सञ्चालन गर्ने योजनामा महेश छन्। यसअघि दैनिक १० देखि १५ क्विन्टल मल उत्पादन गर्न सक्ने क्षमता रहेको योे उद्योगलाई अब प्रति घण्टा ७ देखि १० क्विन्टल मल उत्पादन गर्ने मेशिन खरिद गरेर ल्याउँदै छौँ।’ उनको योजना असारको पहिलो साता देखि पुनः यो उद्योगबाट मल उत्पादन गर्ने भन्ने छ। जिल्लाको मलको मागलाई यो उत्पादनले पुरै थेग्ने दाबी चौधरीको छ। ‘जिल्लामा मलको मागलाई हाम्रो उद्योगको उत्पादनले पुरै थेगन सक्छ,’ उनले भने ‘तर प्रांगारिक मल प्रतिको बिश्वास कायम हुन जरुरी छ।’

केही किसानहरुले प्रयोग गरेको यो मलको प्रभावकारीता केहि स्थानमा देखिएको र माग बढ्न थालेको उनको भनाई छ। ‘हामीले उत्पादन गरेको मल केही स्थानमा धान खेतीसँगै तरकारी र फलफुल खेतीका लागि प्रयोग भयो,’‘यो मल प्रयोग गरेका किसानहरुबाट यसको माग आईरहेको छ।’ उनले अहिले उद्योगबाट प्राङ्गारिक डिएपी र कम्पोष्ट मल उत्पादन गर्ने तयारीमा रहेको बताए।

चौधरीले सरकारले साना उद्योगलाई बचाउनका लागि आर्थिक सहुलियतसँगै कृषि व्यवसायमा प्राङ्गारिक मलको प्रयोग बढाउने बातावरण बनाउन सके किसानहरुले बर्सेनी भोग्दै आएको रासायनिक मलको समस्या हटाउन सकिने दाबी गर्छन्।

प्रकाशित: ३० जेष्ठ २०७९ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App