७ वैशाख २०८१ शुक्रबार
अर्थ

धरान कार्यपालिका बैठक: बजार दरभन्दा न्यून ठेक्का भएका सार्वजनिक भवन र पार्कको भाडा आफैं उठाउने

धरान उपमहानगरपालिकाको स्वामित्वमा रहेको सार्वजनिक भवन तथा पार्कहरु प्रचलित बजार दरभन्दा कम भएको पाइएमा आफै भाडा तथा राजश्व उठाउने भएको छ।

उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। कतिपय सार्वजनि भवनहरु प्रचलित बजार दर भन्दा न्युन दरमा ठेक्का लगाइएको कारण यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले जानकारी दिए। ‘सैद्धान्तिक निर्णय भएको हो। यो बिषयमा हामी अध्ययन गछौं, प्रचलित बजार दर अनुसार ठेक्का छ भने चलाउदैनौं, तर बजार दर भन्दा ज्यादै न्यून ठेक्का लागेको महसुस भयो भने यो प्रक्रिया अवलम्बन गछौं,’ उनले भने।

बैठकले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा खानेपानी तथा सरसफाईलाई प्राथमिकताको आधार बनाउने निर्णय पनि गरेको छ। साथै, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद् व्यवस्थापनलाई पनि बजेट तथा कार्यक्रम तर्जुमा गर्दा प्राथमिकता दिने निर्णय बैठकले गरेको छ। अघिल्लो बैठकले संयोजक मात्र तोकेको बिषयगत समितिहिरुमा सदस्यहरु पनि थप गरेको छ।

यस्तै, बैठकले नगर कार्यपालिकाको प्रवक्तामा वडा नं १७ का वडाध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)लाई मनोनयनसमेत गरेको छ। यस्तै, विभिन्न न्यायिक तथा अर्ध न्यायिक निकायहरुमा फिराद गर्नुपर्दा र नगर कार्यपालिकाविरुद्ध परेका फिरादहरुको प्रतिरक्षा सम्बन्धी सम्पूर्ण कारबाही गर्न नगर प्रमुखलाई अधिकार प्रत्योजन गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ।  

यसैगरि, वैशाख ३० गते निर्वाचनबाट निर्वाचित भएका वडा सदस्यहरुसहितको परिचयात्मक बैठक असार २ गते गर्ने पनि निर्णय भएको छ भने आर्थिक वर्ष २०७८/७९ को नगरसभा (बर्खे अधिवेशन) असार ८ गते आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसअघि, जेठ २२ गतेको पहिलो कार्यपालिका बैठकमा मेयर हर्कराज राई र विभिन्न वडाध्यक्षहरुबीच खोला ठेक्का लगाउने कि नलगाउने भन्ने एजेण्डामा चर्काचर्की भएको थियो। मेयरले खोला ठेक्का नलगाउने एजेण्डा पारित गर्न खोजेपछि वडाध्यक्षहरुको फरक मतको कारण एजेण्डा पारित भएको थिए।  

यो बिषयले धरानका वडाध्यक्षहरु आलोचित भएका थिए। यही विवाद चर्कदै गर्दा जेठ २६ गतेको कार्यपालिका बैठक वडाध्यक्षहरुले बहिष्कार गरेपछि बैठकै नबसी स्थगित भएको थियो। बैठक हुनुअघि मेयर राईलाई काम गर्न दिनुपर्ने भन्दै उनका समर्थकहरुले प्ले कार्डसहित उपमहानगरपालिका गेटअघि प्रदर्शन गरेपछि बैठक प्रभावित भएको थियो।

आइतबार भने कार्यपालिका बैठक शान्त र सौहार्दपूर्ण रुपमा सम्पन्न भएको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए।

प्रकाशित: २९ जेष्ठ २०७९ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App