४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

भाटभटेनीको २३औं शाखा धनगढीमा

सुदूरपश्चिम व्यापारिक भर्जिन ल्याण्ड हो: गुरुङ

धनगढीमा रहेको भाटभटेनीको २३औँ शाखाको उद्घाटन गर्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ। तस्बिरः नागरिक

सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि भाटभटेनीको २३औँ शाखा सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबार बिहानदेखि भाटभटेनीले सेवा शुभारम्भ गरेको हो। भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन्।

एक लाख ५० हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको भाटभटेनीको धनगढी शाखा २ अर्ब २५ करोडको लगानीमा सञ्चालनमा आएको हो। उद्घाटन समारोहपश्चात पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले सुदूरपश्चिम प्रदेश व्यापारिक भर्जिन ल्याण्ड भएकाले आफूले धनगढीलाई २३औं शाखा खोल्नका लागि उत्सुक भएको बताए। उनले भने,‘हामीले यहाँको बिजनेशका लागि अध्ययन गर्‍यौं र त्यही अनुसार यहाँ शाखा खोलेका हौँ। यो ठाउँ व्यापारिक दृष्टिकोणले भर्जिन ल्याण्ड भएको हामीले महसुस गरेका छौँ।’

सरकारले लगानी गर्न उत्सुकता देखाउनु पर्नेमा आफै आएर धनगढीमा सुपर मार्केटको स्थापना गरेको बताउँदै उनले भने, ‘हामी यहाँ व्यापार गर्न मात्रै आएका हैनौ, यहाँको सामाजिक उत्तरदायीत्व पनि बहन गर्छौं। यहाँका बेरोजगार युवालाई रोजगारी सिर्जना गर्छौं।’ अहिले धनगढी शाखाले यहीँका स्थानीय अढाई सय युवाहरुलाई रोजगार दिएको पनि उनले बताए। उनले भने, ‘हाम्रो यहाँको स्टोरमा काम गर्ने सबै स्थानीय नै छन्। स्थानीयलाई नै हामीले पहिलो प्राथमिकता दिएका छाैं।’  

१७ कट्ठा जग्गामा डेढलाख स्क्वायर फिटको भवन रहेको स्टोरमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्री, कस्मेटिक, फर्निचर, खेलौनालगायतका सामानहरु धनगढी शाखामा उपलब्ध रहेको बताउँदै उनले भने,‘सुदूरपश्चिममा अन्तर्राष्ट्रिय स्तरको सपिङ सुविधा प्रदान गर्ने उद्देश्यले यहाँको सेवा शुभारम्भ गरेका हौँ।’  

शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताए। शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, धनगढीका प्रजिअ किरण थापालगायको उपस्थिति रहेको थियो।

प्रकाशित: २७ जेष्ठ २०७९ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App