२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

सप्तकोशीबाट कटान हुन नदिन 'स्पर' धमाधम निर्माण

भारतीय र नेपाली पक्षद्वारा स्थलगत निरीक्षण

सप्तकोशीको पूर्वी तटबन्ध क्षेत्रको अध्ययन गर्दै भारतीय इन्जिनियर नेतृत्व र नेपाली पक्षबाट सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव नेतृत्व टोली। तस्बिर: नागरिक

पूर्वी पहाडी जिल्लामा पानी पर्दा सप्तकोशी नदीमा पानीको बहाव बढ्ने गर्छ। बाढी र वर्षाका कारण सप्तकोसीको पूर्वी तटबन्ध कटान गर्ने र पानीको वहाव रोक्ने स्पर समेत भत्काउने खतरा हुने गर्छ। त्यही कारण सप्तकोशीले कुनै पनि बेला विनासलीला मच्चाउने खतरा रहने हुँदा यतिबेला स्पर निर्माणको काम धमाधम भइरहेको छ।  

स्पर निर्माणका काम भइरहँदा सप्तकोसीले कटान गर्ने जोखिम क्षेत्रको भारतीय र नेपाली पक्षद्दारा अध्ययन गरिएको छ। अध्ययनका क्रममा कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकैको २३.५२ नम्बरको स्पर नजिकको भागमा कटान गरि रहेकाले गर्दा निर्माण गर्ने काम चलिरहेको छ। यहाँ यो वर्षको पहिलो जेठमा परेको वर्षा र बाढीका कारण यो भागमा सप्तकोशीले तीव्र कटान गरिरहेको छ। अघिल्लो वर्षभन्दा केही मिटर पूर्वतर्फ बगेको सप्तकोशीले अहिलेसम्म  १२० मिटर बढी जमिन कटान गरिसकेको छ। कटान भइरहेको स्थानमा अहिले भारतीय पक्षले प्रकोपाइन राख्ने र बाध बाध्ने काम निरन्तर गरिरहेको छ।  

सप्तकोशी नदी क्षेत्रमा बाढी नियन्त्रणको लागि भारत सरकारले सन् २०११ बाट गंगा फल्ड कन्ट्रोल कमिशन मार्फत काम गरिरहेको छ। यो कटान भइरहेको क्षेत्रमा भारतीय कम्पनीले बाँध बाध्ने काम गरिरहेको छ। तर, अहिले सप्तकोशीमा सामान्य पानीको बहाव बढेपनि असार र साउनमा आउन सक्ने बाढीको आकलनलाई हेर्दा सप्तकोशी नदीको यो स्परबाटै पानी बगेको खण्डमा जोखिम हुनेछ।  

कोशी ब्यारेज हुँदै उत्तर लाग्दा आउने २३.५२ नम्बरको स्परको भाग बाहेक २७.८८ मा समेत बढी जोखिम भएको अनु्गमनका क्रममा भेटिएको छ। कोशी ब्यारेजबाट ३२.८ किलोमिटर भित्र सयवटा स्पर मध्ये ४ वटा स्पर पनि जोखिममा छन्।  

वर्षाको पहिलो चरणमा अहिले भारतीय पक्षले २४सै घण्टा ती जोखिम भएका स्परहरुमा काम गरिरहेको छ। जसको लागि प्रत्येक जोखिम भएका स्परमा आठ जनाको प्राविधिकसहितको बाँध बाध्ने जनशक्ति परिचालन गरेको भारती पक्षले जनाएको छ। साथै भारतीय पक्षले जेठ यता बर्षाको महिना भर प्रत्येक २४ सै घण्टामा बाढीको स्टेलाइट तस्विरहरुको अध्ययन गरिरहेको जनाएको छ।  

सप्तकोशी नदीको स्वभाव छिन छिनैमै परिवर्तन हुने भएका कारण भारतीय पक्षले गम्भीर रुपमा यसले पार्न सक्ने असरलाई न्यूनिकरणको काम गरिरहेको                    जनाएको छ।  

भारतीय पक्षले अबको ४ महिनासम्म २४ सै घण्टा बाँधको सुरक्षाको लागि काम गनुपर्ने भएकाले कोशी टप्पु बन्यजन्तु आरक्ष र सेनासँग समन्वयको माग गरेको छ। टप्पु आरक्षभित्र रहेका जंगली हात्तीका कारण बाध सुरक्षा गर्न बसेका कामदारहरुलाई असुरक्षा बढेको बताउँदै त्यसको लागि आरक्षले उचित सुरक्षा प्रदान गर्नुपर्ने भारतीय पक्षको माग रहेको छ।

चतरादेखि दक्षिणतर्फ आउने ५३ वटा स्पर मध्ये ८, ९, १२ र १३ वटा स्पर जोखिम मानिएको छ। यी स्पर नेपाल सरकारले निर्माण गरेपनि अहिले यसको सरक्षणमा भारतीय पक्षले नै गदै आएको छ। अबको जेठ मसान्तदेखि असोज मसान्तसम्म भारतीय पक्षका इन्जिनियर र कामदारहरु सक्रिय भएर कोशी नदीमा आउने बाढी नियन्त्रणमा खटिने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।  

कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक  छ। सप्तकोसी अहिलेसम्मको इतिहासमा सवैभन्दा बढी स्न १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो। सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक पुगेको थियो। कोशी व्यारेज बन्दा शुरुवातका बर्षमा कोसी नदीले झन्डै आठ लाख क्यूसेक पानीको क्षमता धानेपनि त्यसपछिका बर्षहरुमा पानीको लेभल घटदै गएको पाइन्छ। पछिल्लो समय कोशी व्यारेज  भन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ।  

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको  थियो। त्यतिबेला सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका  थिए।

प्रकाशित: २५ जेष्ठ २०७९ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App