१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महानगरको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा

आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की।

विराटनगर महानगरपालिकाले आफ्नै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।मंगलबारदेखि आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो।

आयुर्वेद स्वास्थ्य केन्द्रको महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीले उद्घाटन गरिन्। विराटनगर वडा नम्बर ११ स्थित जनपथ टोलमा सञ्चालनमा ल्याइएको सेवा केन्द्रबाट आयुर्वेदसम्बन्धी सम्पूर्ण उपचार हुनेछ। औषधिसहित सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने महानगरले जनाएको छ।

महानगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर हाल एउटा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइए पनि आगामी दिनमा सबै वडामा सेवा विस्तार गर्ने महानगरकी उपमेयर कार्कीले बताइन्। ‘हाल विराटनगर–११ मा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र स्थापना गरिए पनि आगामी दिनमा अन्य वडामा पनि विस्तार गर्ने योजना छ,’ कार्कीले भनिन्।

कार्यक्रममा महानगरका प्रशासकीय अधिकृत उमेश बस्नेतले सेवा केन्द्रबाट महानगरवासीले बढीभन्दा बढी लाभ प्राप्त गर्ने बताए। उनले आगामी दिनमा महानगरका १९ वटै वडामा आयुर्वेद सेवा केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। आधुनिक चिकित्साका साथै आयुर्वेद चिकित्सालाई पनि सँगै लानुपर्ने वडाध्यक्ष तीथेन्द्र न्यौपानेले बताए।

हालको जनशक्ति र भौतिक संरचनाका आधारमा दैनिक २५ जनालाई सेवा दिन सकिने महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिए। बिरामी जाँच, औषधि वितरणसँगै हाडजोर्नी दुखाइ लगायतका समस्याको उपचारसमेत हुनेछ। त्यस्तै पञ्चकर्म र पूर्वकर्मको समेत सुविधा आयुर्वेद स्वास्थ्य केन्द्रमा उपलब्ध हुने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए। 

प्रकाशित: २५ जेष्ठ २०७९ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App