८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

रेस्टुरेन्टमा बास ठेला र घुम्ती पसलमा भोजन

नेपालगन्जका सडकपेटीमा अस्वस्थ खाना

'नेपालगन्जका शिवम् गुप्ताको बिहानको नास्ता नेपालगन्जको त्रिभुवन चोकको घमन्जा र जिलेबी हो। उनी मात्रै नभई उनका परिवारलाई नै सडकछेउमा पाक्ने परिकारकै नास्ता रुच्छ। हामी यहीं खाएर हुर्किएका। परिवारले नै यहींको नास्ता खाने हो’, उनले भने।

शिवम् जस्तै नेपालगन्जका अधिकांशका नास्ता सडक पेटीका परिकार नै हुन्। नेपालगन्जको एउटा विशेषता नै यहाँको खाना हो। चोकचोकमा जिब्रो लोभ्याउने र नाकलाई सक्रिय बनाउने परिकार पाइन्छ। परम्परागत र मौलिक स्वादका परिकार रेस्टुरेन्टमा भन्दा सडकछेउका ठेलामा बढी पाइन्छ। 

नेपालगन्ज घुम्न आउनेहरू रेस्टुरेन्टमा बास बसे पनि खानका लागि सडकछेउमा ठेला र घुम्ती पसलमै पुग्छन्। चाट, पानी पुरी, हलुवा पमन्जा, रावडी, सेकुवा, फ्रिस फ्राई, चिकेन फ्राई, अन्डा फ्राई, समोसा, जिलेबी, दहिवडा, मःमः, चाउमिन लगायतका परिकार नेपालगन्जको पहिचानका रूपमा स्थापित छन्। नेपालगन्जको त्रिभुवन चोक एकाबिहानैदेखि मध्यरातसम्म यिनै सडकका खानाका कारण गुन्जायमान हुन्छ।

अधिकांशले घरमा नास्ता बनाउने झन्झट नउठाएर सडकछेउका तिनै ठेला र घुम्तीमा पाकेका परिकार उपभोग गरिरहेका छन्। यो नेपालगन्जको खाद्य संस्कारकै रूपमा स्थापित भइसकेको छ। तर सडक किनारमा पाइने खानाका आधारमा नेपालको एक विशिष्ट सहर नेपालगन्जमा त्यस्ता खानाको स्वच्छता र गुणस्तरीयताबारे भने बिरलै चर्चा हुन्छ।

यसलाई सहरको एक परिचयका रूपमा जोगाइराख्नु वा प्रवर्द्धन गर्नुपर्ने मत जति बलियो छ, त्यस्ता खानाको स्वच्छतामा पनि उत्तिकै ध्यान दिनुपर्छ भन्ने मत त्यति सुनिँदैन। वास्तवमा नेपालगन्जका सडकमा पाइने खाना बनाउने तरिका, मिसाइने तत्व र पस्किने तरिका खाद्य स्वच्छता र मानव स्वास्थ्यका लागि लाभदायक छैन।

न्यून सरसफाइ र पकाउने अस्वस्थ तरिका

अधिकांश ठेला र घुम्ती पसल खुला छन्। सडकको धुवाँधुलो सीधै परिकारमा पर्छ। बाटोमा हिँड्नेहरू जभाभावी थुक्दै हिँडेका हुन्छन्। बाक्लो आवतजावत हुने ठाउँमै यस्ता पसल सञ्चालनमा छन्। डस्टबिन राखिएका हुँदैनन्। स्वच्छ पानी पनि राखिएको हुँदैन। खाली हातले परिकार तयार गरिन्छ। ग्लोभ्स, एप्रोन, टोपीजस्ता साधन प्रयोग भएको हुँदैन।

कस्ता पदार्थ मिसाएर परिकार बनाइन्छ, त्यसको पनि ठेगान छैन। अखाद्य रङ र तेल प्रयोग भइरहेका हुन्छन्। पटकपटक तातेको तेलमा परिकार बनाइन्छ, जुन अत्यन्तै हानिकारक तरिका भएको खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत नेत्रा बोगटी बताउँछिन्। ‘यो सुस्त विषजस्तै हो। यस्तो परिकारले हाम्रो शरीरमा अनेक समस्या जन्माइरहेको हुन्छ’, उनले भनिन्।

प्लास्टिक, पत्रिका र किताबका पाना प्रयोग

वैज्ञानिक अनुसन्धानबाट पत्रपत्रिका, लेखिएका किताबकापी लगायतमा तेलमा पकाइएका खाना राखेर खाँदा त्यसले मुटु, मिर्गौला, कलेजो, फोक्सो सम्बन्धी रोग र हड्डी खिइने समस्या निम्तिने खाद्य अनुसन्धान अधिकृत बोगटी बताउँछिन्। ‘मसीमा सिसा, नेप्थेअलसिस, थ्यालेट्सजस्ता हानिकारक रसायन मिसाइएको हुन्छ। यी तत्व तेलमा सजिलै घुल्छन्। त्यसकारण यसरी खाना खानु र खान दिनु दुवै गलत छ’, उनले भनिन्।

सडक खाना पस्किनका लागि टिस्यु पेपर, पेपर टावेल, सफा पातबाट बनेका टपरा एलुमिनियम फोइल विकल्पका रूपमा प्रयोग गर्न सकिने उनको भनाइ छ। यसैगरी सडक खाना प्रायः ताततातै प्लास्टिकका थैलीमा हालेर दिने चलन पनि हानिकारक रहेको उनी बताउँछिन्। 

प्रकाशित: २३ जेष्ठ २०७९ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App