९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

विस्थापितको चरणमा पुगेका पदमार्ग ब्यूँताउँदै व्यवसायी

पर्वतको मोदी गाउँपालिका–४ को लेस्सपार गाउँ। तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले करिब दुई वर्षसम्म पर्यटन क्षेत्र मारमा पर्‍यो। यो अवधिमा सबैखाले प्रवर्द्धनात्मक गतिविधि पनि रोकिए। सहरमा केन्द्रित प्रवर्द्धनात्मक गतिविधि मात्र नभई ग्रामीण भेगमा हुने गतिविधि पनि रोकिए। त्यसैको मारमा पर्‍यो पदयात्रा पर्यटन।

पदयात्रा क्षेत्रलाई यतिसम्मको अप्ठेरो कोरोनाले निम्त्याईदियो कि सामूहिक रुपमा हुने पदमार्गको प्रवर्द्धन अभियान सबैजसो ठप्प भए। पदमार्ग पर्यटन प्रवर्द्धन गर्न व्यवसायी गाउँसम्म समेत जान सकेनन। तर, अहिले कोरोना संक्रमण कमजोर भएको छ। यही सहज मौका पारेर पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले विस्थापितको चरणमा रहेका पदमार्गलाई पुनः ब्यूँताउने प्रयास थालेको छ। त्यसको सुरुवात पर्वतको लेस्पारबाट सुरु गरेको छ।  

टानका अध्यक्ष सुशीलराज पौडेलका अनुसार अन्नपूर्ण डे को अवसर पारेर गत शुक्रबार यो रुटमा प्रवर्द्धनात्मक अभियान चलाइएको हो। पौडेलका अनुसार पर्यटकीय सम्भावना बोकेको यो निकै नै पुरानो पदमार्ग हो। तर, धेरै पदयात्रा व्यवसायीले समेत यो रुटलाई राम्रोसँग चिन्न सकेका थिएनन। सीमित व्यवसायीले भने यसलाई प्याकेजमा राखेर बिक्री गर्दै आएका थिए।  

‘सम्भावना बोकेका पुरानो रुट हो। प्रप्रवर्द्धनात्मक अभियानमार्फत यो पदमार्गबारे सबै पदयात्रा व्यवसायीलाई जानकारि दिन खोजेका हौ। यसअघि सिमित व्यवसायीले मात्र यो रुटमा पर्यटक पठाउँथे,’ पौडेलले भने, ‘राम्रोसँग चल्न नपाउँदै यो रुट ओझेलमा परेको थियो। किनकी अरुतिरका रुटले बढी प्राथमिकता पाउँदा गाउँ डुलाउने यो रुटबारे व्यवसायी पनि मौन रहे। तर, अहिले अरुतिरका चल्तीका रुट मोटरबाटोले ध्वस्त भए, यो रुट भने अझै मोटरबाटोले बिगारेको छैन, बल्ल यो रुटको खोजी हुन थालेको छ।’  

उनका अनुसार यो पदमार्गले धेरै गाउँलाई पर्यटनसँग जोड्छ  कास्कीको नयाँपुलबाट सुरु भएर पर्वतको पूर्णगाउँ, लेस्पार, सालिजा, मोहरेडाँडा हुँदै घोरेपानी निस्कने रुट हो। लेस्पारबाट जलजला ट्रेक पनि निस्कन्छ। त्यस्तै यो रुट हुँदै घोरेपानी वा म्याग्दीको गलेश्वर निस्कन पनि सकिन्छ।  

‘पदयात्राका लागि पर्याप्त सम्भावना बोकेको रुट हो। यो रुटलाई अझै मोटरबाटोले बिगारेको छैन। रुटमा केही ठाउँमा मोटरबाटोले जोडेपनि अन्यत्रजस्तो ध्वस्त छैन,’ उनले भने, ‘सम्भावना बोकेको र जोगिएको पदमार्ग भएकोले अब यसलाई चलनचल्तीमा ल्याउने प्रयास हो।’ यो रुटले ग्रामिण बस्तीलाई पर्यटनसँग जोड्छ। पर्वतको मोदी गाउँपालिका–४ को लेस्सपारका २ सय घरधुरी र त्यहाँको मगर बस्ती सबैभन्दा बढी आकर्षक रहेको उनले बताए। लेस्पारको बस्तीमा ९० प्रतिशत घर मगर समुदायका रहेको उनले बताए। 

‘पदयात्रा व्यवसायी र ग्रामिण पर्यटन बचाउने अभियान चलाउने क्रममा यो रुटको प्रवद्र्धन गर्न गएका हौ। गाउँको कला, संस्कृति बचाउने अभियान हो,’ उनले भने, ‘यो रुट सम्भावनायुक्त छ। पहिले चलनचल्तीमा आउनै पाएन, बजारीकरण हुन नसकेको रुट हो। अब यसलाई चल्तीमा ल्याउने प्रयास थालेका छौ।’ सबै पदयात्रा व्यवसायीले यो रुटलाई आगामि दिनमा प्याकेजमा बेच्ने उनले बताए। यो पदमार्गमा पर्ने जलजलाको ३२ सय मिटर उचाईसम्म उचाईमा पुगिन्छ। कास्कीको अन्नपूर्ण, मोदी र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको संगम रुट पनि हो। पाँचदेखि सातदेखि सम्म यो रुट चलाउन सकिन्छ।

‘आगामी दिनमा यस्ता रुटलाई प्रचार गर्ने हो। अन्नपूर्ण डे मनाउने क्रममा अहिले यो रुटको प्रवर्द्धन गर्‍यौ। अब ओझेलमा परेका हराएका रुटलाई ब्यूँताउने प्रयास हुनेछ,’ उनले भने, ‘जसले व्यवसायी र गाउँलाई बचाउँछ। गाउँलेले पर्यटनबाट लाभ दिलाउँछ।’ कोरोना संक्रमणका कारण प्रवर्द्धनात्मक कार्यक्रम गर्न नसक्दा धेरै पदमार्गको प्रवर्द्धन अभियान चलाउन नसकेको पौडेलले बताए। कोरोनाका कारण बीचमा २ वर्ष गाउँ जाने, सामूहिक रुपमा प्रवर्द्धनात्मक अभियान चलाउने अवस्था नआउँदा पदमार्ग झनै ओझेलमा परेकोमा अब आक्रामक रुपमा प्रवर्द्धन अभियान चलाउने उनले बताए।  

‘यो रुट पूरै समुदायमा आधारित छ। हाम्रो उद्देश्य समुदायलाई पदमार्गमा जोड्ने हो। चल्तीका केही रुट मोटरबाटोको कारणले विस्थापित भए। केही ओझेलेमा पनि परे,’ उनले भने, ‘तर अब पुराना रुटलाई ब्यूँताउने प्रयास नगरेसम्म पर्वतीय पर्यटनमा आकर्षक बढाउन सकिन्न। त्यो हुन नसके पर्वतीय पर्यटन ओझेलमा पर्नेछ।’  

उनका अनुसार चल्तीका मुख्य पदमार्ग मोटरबाटोका कारण ध्वस्त भएका छन। त्यसैले अब नयाँ पदमार्ग खोज्नुको विकल्प छैन। हिजोको चल्तीका राम्रा रुटमा अहिले पदयात्रा नै गर्न सकिने अवस्था नरहेको उनले बताए। मोटरबाटोका कारण मनाङ, मुस्ताङ जस्ता हिमाली जिल्लाका चल्तीका रुट अहिले बेच्न गाह्रो हुन थालेको उनले बताए। पर्वतको यो रुटपछि टानले माछापुच्छ्रे मोडल ट्रेकको प्रवर्द्धन गर्ने तयारी पनि गरेको अध्यक्ष पौडेले जानकारी दिए।  

संघका पूर्व अध्यक्ष रामचन्द्र शर्माले पदयात्रामार्गसँग जोडिएको लेस्पारसँग पर्यटनको सम्भावना रहेको बताए। सम्भावना भएर पनि ओझेलमा परेको लेस्पार पदयात्रा पर्यटनका दृष्टिले आकर्षक पदमार्ग भएकोले यसको प्रवर्द्धन आवश्यक रहेको शर्माले बताए। ‘लेस्पार पदयात्रा पर्यटनका दृष्टिले धेरै सम्भावना भएको रुट हो। अब ओझेलमा परेका रुटको प्रवर्द्धन गर्न आवश्यक छ,’ उनले भने, ‘यसले पर्यटन व्यवसायीलाई पनि बचाउँछ भने ग्रामीण पर्यटन क्षेत्रको प्रवर्द्धन पनि गर्छ।’

प्रकाशित: २२ जेष्ठ २०७९ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App