coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धरानको फोहोर प्रशोधन गरेर ग्याँस, पेट्रोल छोडेर ग्याँसबाट चल्छन् टेम्पो

विश्व वातावरण दिवस २०२२

ग्याँसबाट चल्ने एक टेम्पोमा फोहोरबाट निस्केको ग्याँस भरिँदै। तस्बिर: रोहित राई

धरान ८ का नरेन्द्रकुमार चौधरीले २०४६ सालदेखि निरन्तर टेम्पो चलाएर परिवारको गुजारा चलाइरहेका छन्। टेम्पोको टरर आवाज र ह्वास्स गह्नाउने पेट्रोलको गन्ध उनको दैनिकी थियो। चार महिना भयो, न उनको टेम्पो पहिला जस्तो कराउछ, न पेट्रोलको गन्ध नै छ।

अहिले उनी सिएनजी अर्थात कम्प्रेस नेचुरल ग्याँसबाट टेम्पो चलाउछन्। पेट्रोल प्रयोग गर्न छोडेयता उनको बचत पनि राम्रो हुन थालेको छ। टेम्पोमा ग्याँस भर्न पुगेका चालक चौधरीले भने,‘प्रदूषण पनि छैन, पेट्रोल चलाउदा जस्तो गन्हाउदैन पनि। ग्याँसबाट चलाउदा माइलेज पनि धेरै दिन्छ, बचत राम्रो भइरहेको छ।’

चौधरीका अनुसार पेट्रोल २ लिटर हाल्दा ३६० खर्च हुन्छ भने ग्याँसले दिनभरि टेम्पो चलाउदा पनि २, अढाई सय जति मात्र खर्च हुन्छ। ‘पहिला दिनभरि कमायो, पेट्रोल लगाउदा पैसा गइहाल्थ्यो,’उनी भन्छन्,‘पेट्रोलले चलाउदा दिनभरिमा १५, १६ सय कमाई हुँदा ६,७ सय पेट्रोलमै सकिन्थ्यो। अहिले ग्याँसले चलाउदा १५ सय कमाई हुँदा ३ सय पनि खर्च हुदैन, टेम्पो साउण्डलेस पनि भएको छ।’

उनको जस्तै अनुभव सुनाउछन् अर्का टेम्पो चालक धरान १९ का टंकबहादुर योङहाङ। धरानभित्रै १ किलो ग्याँसले ३० किलोमिटर दौडिरहेका छन्। विराटनगर, तराईतिर जादा त झन् ४० किलोमिटरभन्दा बढी माइलेज दिइरहेको उनले सुनाए।  

पेट्रोल छोडेर ग्याँसबाट टेम्पो चलाइरहेका धरानका यी यातायात मजदुरहरुभन्दा बढी खुशी छन्, धरान उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख भेषराज घिमिरे। यसको कारण हो, राजधानीलगायत ठुला सहरहरुलाई चुनौती भइरहेको फोहोरको व्यवस्थापन मात्र भएको छैन, उर्जासमेत उत्पादन गरेर धरानमा वातावरणमैत्री टेम्पो पनि सञ्चालनमा आइसकेको छ। ‘वातावरण मैत्री सहर बनाउन यो हाम्रो यो परियोजनाले महत्वपुर्ण भुमिका खेल्छ, पहिला जस्तो सबै फोहोर डम्पिङसाइटमा जादैन, मात्र नकुहिने र रिसाइकल नहुने मात्र २० प्रतिशत फोहोर जान्छ,’उनले भने।

 नेपाल सरकार, धरान उपमहानगरपालिका र भेञ्चर वेष्ट टु इनर्जी प्रालिबीच ४ बर्षअघि सहरी फोहार प्रशोधन गरेर उर्जा निकाल्ने सम्झौता भएको थियो। सोही सम्झौता वमोजिम कम्पनीले धरान ६ पानवारीमा जग्गा खरीद गरेर प्लान्ट निर्माण गरेको थियो। कम्पनीले फोहोर प्रशोधन गरेर ग्याँस र मल उत्पादन शुरु गर्न थालेपछि गत पुष तेस्रो साता प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गरिएको थियो। फोहोरको दीर्घकालिन व्यवस्थापनको लागि उपमहानगरपालिका र प्रालिबीच २० वर्षे सम्झौता भएको छ।सम्झौता अनुसार प्रालिले २० बर्षपछि प्रशोधन केन्द्रको सम्पुर्ण सम्पत्ति उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ। व्यवसायिकरुपमा ग्याँस उत्पादन शुरु गरे पछि प्रालिले आम्दानीको १ प्रतिशत उपमहानगरपालिकालाई बुझाउने सम्झौता छ।

प्रालिले उत्पादन गरेको ग्याँसबाट अहिले धरानका ६ वटा टेम्पोहरु सञ्चालनमा रहेको छ। हाल डेढ सय वटा टेम्पोलाई पुग्ने ग्याँस उत्पादन भइरहेको प्रालिका निर्देशक जेनेस श्रेष्ठले जानकारी दिए। उनका अनुसार धेरै टेम्पो चालकहरुले इच्छा जाहेर गरेका छन्। परीक्षणमा राम्रो रिजल्ट आएको र सरकार पनि सकरात्मक बनेकोले अब विस्तारै संख्या बढाउदै लैजाने उनले बताए। ‘अहिले ६ वटा टेम्पो चलेको छ। संख्या नबढेको कारण भर्खर मात्र मोडिफिकेसन गर्न दिने भनेर राजपत्रमा निस्केको छ। कार्यविधि बनाउन ढिलाई भएपनि सरकारले पनि सकरात्मक लिएको छ, अब संख्या बढ्छ,’उनले भने,‘वातावरणलाई पनि राम्रो भएको छ। एक महिनामा टेम्पो चालकहरुको पेट्रोलमा हुने खर्च नै १४ हजार जति वचत हुन्छ। त्यसैले धेरै चालकहरु उत्साहित भएर चासो लिइरहेका छन्।’

पेट्रोलबाट चलिरहेको टेम्पोलाई ग्याँसबाट चल्ने बनाउन एउटा किट आवश्यक पर्छ। त्यसको मुल्य धेरै पर्ने भएपनि कम्पनीले नै बैंकसँग सहकार्य गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपलब्ध गराइरहेको छ। यो ग्याँस खाना पकाउन पनि उपयोगी हुन्छ। तर, एलपि ग्याँसभन्दा सिलिण्डर भारी हुने रेगुलेटर पनि खर्च बढी लाग्ने भएकोले सर्वसाधारण उपभोक्तालाई गाह्रो हुने निर्देशक श्रेष्ठले बताए। तर, पाइपलाइनबाट भान्सासम्म पुर्याउन सकियो भने सुलभ पर्ने उनको भनाई छ। ‘हाम्रो प्लान्ट भएको क्षेत्रमा १२ सय जति घरधुरी छ, त्यहाँ पाइपलाइनमार्फत दिनसकिन्छ। सरकारले योजना बनाउनुपर्छ,’उनले भने।

उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख घिमिरेका अनुसार धरानमा दैनिक ३० टन फोहोर संकलन भइरहेको छ। वडा नं ५, ४, २० र १७ मा भने उपमहानगरको फोहोर संकलन गर्ने सेवा छैन। त्यसैले ३० टन मात्र संकलन भइरहे पनि धरानमा ५० टन हाराहारीमा फोहोर उत्पादन हुने अनुमान गरिएको छ। विगतमा सबै फोहोर चारकोशे जंगल क्षेत्रमा फालिने गरिन्थ्यो। ‘अब २० देखि २५ प्रतिशत फोहोर मात्र डम्पिङ साइटमा जान्छ, र ८० प्रतिशत फोहोर नफालिने भएकोले वातावरण संरक्षण र फोहोर व्यस्थापनमा धेरै टेवा पुग्छ,’उनले भने,‘पहिला जथाभावी फोहोरहरुले गर्दा डम्पिङ साइटमा आगलागी हुन्थ्यो, वातावरण प्रदूषण हुन्थ्यो। अब त्यसबाट मुक्ति मिल्छ।’

प्रकाशित: २१ जेष्ठ २०७९ १५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App