२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

फाइजरद्वारा गरिब मुलुकमा स्वास्थ्य समता सुधार कार्यक्रम सुरु

फाइजर इन्कले ४५ न्यून आय भएका देशहरूमा बसोबास गर्ने १.२ बिलियन मानिसहरूका लागि स्वास्थ्य समता सुधार गर्न ‘स्वस्थ संसारका लागि एक सम्झौता’ कार्यक्रम सुरु गरेको छ।

सम्झौता अनुसार फाइजरले अमेरिका र युरोपेली संघमा उपलब्ध फाइजरका सबै प्याटेन्ट, उच्च गुणस्तरका औषधिहरू र भ्याक्सिनहरू ४५ कम आय भएका देशहरूका १.२ बिलियन मानिसहरूलाई गैर-नाफाको आधारमा उपलब्ध गराउने छ। यो सम्झौताले कम आय भएका देशहरू र बाँकी विश्वका बीचमा रहेको स्वास्थ्य असमानतालाई धेरै हदसम्म कम गर्न सहयोग गर्ने विश्वास फाइजरले लिएको छ।

फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बोर्लाले स्वास्थ्य सेवामा रहेको असमानता अन्त्य गर्न र सबै बिरामीहरूको लागि उद्धार गर्न सम्झौताको सुरुवात गरेको बताए। सम्झौतामा संलग्न देशहरूमा सबै २७ न्यून आय भएका देशहरू र विगत १० वर्षमा निम्नबाट निम्न–मध्यम आय वर्गीकरणमा परिणत भएका १८ निम्न-मध्यम आय भएका देशहरू समावेश छन्।

फाइजरले यी देशहरूमा नयाँ औषधि र खोपहरू उपलब्ध गराउन लाग्ने लामो समयलाई कम गर्न द्रुत र प्रभावकारी नियामक मार्गहरू र खरिद प्रक्रियाहरू पहिचान गर्न सहभागीहरूसँग सहकार्य गर्नेछ। सम्झौता अन्तर्गत, फाइजर संक्रामक रोगहरू, निश्चित क्यान्सरहरूका साथै दुर्लभ र सुन्निने रोगहरूको उपचार गर्ने २३ औषधि र खोपहरू उपलब्ध गराउन प्रतिबद्ध छ।

यस्ता औषधि र खोपहरू सजिलैसँग उपलब्ध हुँदा प्रत्येक वर्ष सर्ने तथा नसर्ने रोगहरूका कारण मृत्युवरण गर्न बाध्य लगभग १० लाख मानिसहरूको ज्यान जोगिनसक्छ भने कम्तीमा पाँच लाखभन्दा बढीको जीवनको गुणस्तरलाई असर गर्ने दीर्घकालीन रोगहरूको उपचार गर्ने क्षमतामा वृद्धि हुनेछ। फाइजरले नयाँ औषधि र खोपहरू सार्वजनिक गर्दा, ती उत्पादनहरूलाई पनि नाफारहित आधारमा सम्झौताको छाता भित्र समावेश गरिनेछ।

प्रकाशित: १३ जेष्ठ २०७९ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App