१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोभिड १९ पछि इन्टरनेट प्रयोगकर्ताको संख्या दोब्बरले बढ्यो

कोभिड १९ को महामारीले इन्टरनेट प्रयोगकर्ताको संख्यामा झण्डै दोब्बरले बढेका छन्। एकातर्फ कोभिड महामारीका कारणले ‘वर्क फ्रम होम’ अर्थात् घरमै बसीबसी कार्यालयको काम गर्न सम्भव भएकाले पनि इन्टरनेट प्रयोगकर्ताको संख्या बढाएको हो। अर्काेतर्फ विद्यालयको पठनपाठन पनि भर्चुअल अर्थात् अनलाइन माध्यमबाट सम्भव भएकाले पनि इन्टरनेट प्रयोगकर्ताको संख्यामा तुलनात्मक रूपमा वृद्धि भएको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/७६ मा इन्टरनेट प्रयोगकर्ताको संख्या एक करोड ९४ लाख ४१ हजार सात सय १० रहेको थियो। आर्थिक वर्ष २०७६/७७ मा कोभिड १९को संक्रमण देखिएसँगै इन्टरनेट प्रयोगकर्ताको संख्या करिव २४ लाख बढेर २ करोड १८ लाख तीन हजार ३ सय ४५ पुगेको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने इन्टरनेट प्रयोगकर्ताको संख्या विगतको वर्षको तुलनामा अझै बढेर ३ करोड ९ लाख ९३ हजार एक सय ८५ पुग्यो।

प्राधिकरणको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार २०७७ को असार मसान्तसम्म तीन करोड ९ लाख ९३ हजार एक सय ८३ इन्टरनेट प्रयोगकर्ता रहेका छन्। तीमध्ये फिक्स्ड ब्यान्डविथ मार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या ७७ लाख ९६ हजार दुई सय २४ रहेका छन्।

त्यसैगरी मोवाइल व्यान्डविथ अर्थात् मोवाइलमार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या २ करोड २९ लाख ८५ हजार २७ रहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल पछिल्ला वर्षमा इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेखनीय मात्रामा बढेको बताउँछन् ।‘कोभिड १९ पछि इन्टरनेट मानवजीवनको लागि अपरिहार्य जस्तै बनेको छ,’ उनले भने–‘अहिले त इन्टरनेटबिना मान्छेको जीवन पनि नचल्ने भइसक्यो। अहिले त सागसब्जी किन्नेदेखि व्यापार व्यवसायमा पनि इन्टरनेट अत्यावश्यक भइसकेको छ।’

प्राधिकरणको एमआईएस प्रतिवेदनअनुसार २०७८ पुस मसान्तसम्म नेपालभर कुल इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड ७० लाख ३५ हजार ८ सय ४९ पुगेको छ। मोबाइल ब्रोडब्यान्ड मार्फत इन्टरनेट प्रयोग गर्ने ९०.९० प्रतिशत रहेका छन्। त्यसैगरी फिक्स्ड ब्रोडब्यान्ड मार्फत प्रयोग गर्नेको प्रतिशत ३०.९२ प्रतिशत छन्। वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्नेको प्रतिशत ०.७० प्रतिशत रहेको छ।

मन्त्रालयको चालु आवको लक्ष्य ९२ प्रतिशत, उपलब्धि १२२ प्रतिशत: सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल जनसंख्याको ९२ प्रतिशत जनतामा इन्टरसेवा अर्थात इन्टरनेट ग्राहकको घनत्व पुर्‍याउने महत्वकांक्षी लक्ष्य अघि सारेको थियो। मन्त्रालयले भने चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नै लक्ष्यभन्दा पनि धेरै इन्टरनेट प्रयोग गर्ने ग्राहकको घनत्व विस्तार गरेको छ। मन्त्रालयका अनुसार चालु आवको चैत मसान्तसम्मको अवधिमा इन्टरनेट ग्राहकको घनत्व नेपालभरमा १२२.५१ प्रतिशत पुर्‍याएको छ। मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा इन्टरनेट ग्राहकको घनत्व भने ९० प्रतिशत मात्रै थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहले मन्त्रालयले कोभिड १९ महामारीका बाबजुद पनि इन्टरनेटको ग्राहकको घनत्व बढाउन सक्नु निकै उपलब्धिमूलक कार्य भएको बताउँछन्। ‘कोभिड १९को कारणले पनि इन्टरनेट अत्यावश्क साधनको रूपमा स्थापित गरायो। जसको कारणले पनि इन्टरनेटको आक्रमक विस्तारमा ठूलो योगदान पुर्‍यायो’, उनले भने–‘इन्टरनेटको पहुँचमा वृद्धि भएसँगै अब गुणस्तरीय इन्टरनेटको सेवा प्रवाह गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’ नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस प्रतिवेदनअनुसार २०७८ माघसम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का भ्वाइस कल गर्ने ग्राहकका संख्या दुई करोड ३२ लाख ४६ हजार ९ सय ४१ रहेका छन्। एन्सेलका भ्वाइस कलका ग्राहकको संख्या एक करोड ६८ लाख ८९ हजार ५१ जना रहेका छन्।

स्मार्ट टेलिकम प्रालिका ग्राहकको संख्या २३ लाख ७० हजार १ सय ७१ जना रहेका छन्। कुल भ्वाइल कल गर्ने सेवाग्राहीको संख्या भने ४ करोड २५ लाख ९ हजार ४९ रहेका छन्।

लाइसेन्स २०३ इन्टरनेट सेवाप्रदायकसँग सञ्चालनमा ५७

प्राधिकरणले २०७८ माघ महिनाको अन्त्यसम्म दुई सय ३ वटा इन्टरनेट सेवाप्रदायक कम्पनीलाई सञ्चालन अनुमति (लाइसेन्स) दिएको छ। यीमध्ये एक सय ३५ वटाले इन्टरनेट सेवाप्रदायक कम्पनी हुन्। अन्य भने विभिन्न ग्रामीण टेलिकम सर्भिस, भिस्याट लगायतका सेवा दिनका लागि लाइसेन्सको अनुमति लिएका हुन्। इन्टरनेट सञ्चालन गर्ने एक सय ३५ वटा निकायले लाइसेन्सको अनुमतिपत्र लिए पनि अहिलेसम्म ५७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीले मात्रै इन्टरनेट सुविधा उपलब्ध गराउँदै आइरहेका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App