१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महासंघ र पर्यटन बोर्डबीच सहमति

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ।

महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। यो समझदारी पछि दुवै संस्थाहरू पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गरेर अघि बढ्ने भएका छन्।

आपसी समझदारी अनुसार पर्यटन विकासका विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तिनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने भएको छ।

नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ। महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयाँ दिशा दिन यो सहमति कोसे ढुंगा हुने विश्वास व्यक्त गरे।

‘कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसँग आवद्ध सबै संस्थाहरूको सहभागितामा छिट्टै एउटा बृहत् कार्यक्रम आयोजना गर्न जरुरी छ’, उनले भने–‘यस क्षेत्रलाई माथि उठाउन कम्तिमा ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुपर्ने बेलाभइसक्यो।’

अध्यक्ष गोल्छाले पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरूको गुणस्तर सुधार अत्यावश्यक भएको भन्दै यसमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल गराउनुपर्ने बताए। बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले निजी क्षेत्रको छाता संस्थासँग सहकार्य गरेर पर्यटन प्रवर्द्धन गर्न पाउनु सुखद् पक्ष भएको बताए।

उनले पर्यटन सम्बद्ध कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई छिट्टै अगाडि बढाउन आग्रह गरे। सो अवसरमा दुवै जनाले भारतीय र चिनिया पर्यटक आकर्षणका लागि विशेष कार्यक्रम ल्याउनुु पर्नेमा जोड दिए। महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटन उद्योगलाई माथि उठाउन यो सहकार्य गरिएको बताइन्।

प्रकाशित: १६ वैशाख २०७९ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App