coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सार्वजनिक बिदा थपः पर्यटनमा राहतको अपेक्षा

आन्तरिक पर्यटन भित्र्याउन त सकिन्छ तर, अप्ठेरा पनि छन्ः व्यवसायी

पोखरामा आन्तरिक पाहुनाको भीडभाड। तस्बिरः उमेश पुन/नागरिक

सरकारले परीक्षणको रुपमा आगामी जेठ १ गतेदेखि सातामा लगातार दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गर्‍यो। पर्यटन व्यवसायीले लामो समयदेखि सातामा दुई दिन बिदा दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिरहेका थिए। तर, सरकारले अहिले इन्धन खर्चमा कटौती गर्न भन्दै बिदा थपेको बताएको छ।  

हालसम्म नियमित रुपमा शनिबार मात्र सार्वजनिक बिदा दिइरहेकोमा अब आइतबार पनि थपिँदा त्यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने व्यवसायीको भनाई छ। सातामा दुई दिन (शनिबार र आइतबार) बिदा हुँदा आन्तरिक पर्यटनले छलाङ मार्ने व्यवसायीको भनाई छ। कोरोना भाइरसले थलिएको पर्यटन क्षेत्रलाई उकास्न अहिले आन्तरिक पाहुनाको ठूलो सहयोग रहेकोमा अब पाहुना आगमन अझै बढ्ने व्यवसायीको अपेक्षा छ। बिदा थपिँदा घुम्न निस्कने आन्तरिक पाहुनाको संख्या बढ्ने व्यवसायीले बताएका छन्।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘सरकारी कर्मचारीलाई अनिवार्य घुम्न पठाउन र सातामा दुई दिन बिदा दिनुपर्ने पर्यटन व्यवसायीको प्रस्ताव हो। कोरोना संक्रमणले थलिएको बेला पर्यटन क्षेत्रलाई रिभाइभ गर्न यो बिदाले सघाउने अपेक्षा छ।’ उनका अनुसार पर्यटन क्षेत्रमा आन्तरिक पर्यटक बढाउनका लागि यो बिदा उपयुक्त भएपनि सधैंभरका लागि भने सही नहुन सक्छ। किनभने धेरैदिन सार्वजनिक बिदा थप्दा त्यसले सार्वजनिक सेवामा असर पार्छ।  

‘लगातार दुई दिन बिदा दिँदा पर्यटन क्षेत्रमा लाभ पुग्नेमा हामी खुसी भएका हौं। तर, यसको असर सार्वजनिक सेवामा पनि पर्छ। त्यसैले केही समयका लागि मात्र यो निर्णय कार्यान्वयन गर्दा राम्रो हुन्छ। दीर्घकालीन रुपमा भने उपयुक्त नहुन सक्छ,’ उनले भने। थलिएको पर्यटन क्षेत्र उकास्नका लागि कम्तिमा ६ महिना मात्र यो व्यवस्था लागु गर्दा उपयुक्त हुने उनले बताए।  

‘पर्यटनमा मात्र लाभ मिलेर हुँदैन। यसको समग्र असर पनि छ। यसको असर पर्यटनमै पनि पर्छ। त्यसतर्फ पनि हेक्का राख्नुपर्छ। तर, सरकारी कर्मचारीलाई अनिवार्य रुपमा वर्षको एकपटक घुम्न पठाउने व्यवस्था भने लागु गर्न सकिन्छ,’ पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष समेत रहेका पराजुलीले भने, ‘कर्मचारीलाई घुम्न पठाउने बाध्यकारी नियमले भने पर्यटन क्षेत्रमा अझ बढी सकारात्मक प्रभाव पार्दछ।’ छोटो समयका लागि यो खालको बिदा थप्दा व्यवसायीले राहत अनुभव गर्न पाउने उनले बताए।

व्यवसायीको अनुभवमा लगातार दुई दिन सार्वजनिक बिदा हुँदा अरुबेला पनि पोखरामा आन्तरिक पर्यटक बढ्ने गरेका छन्। ‘लगातार दुई दिन बिदा पाउँदा घुम्न निस्कने बढ्ने गरेका छन्। पाहुनाको घुम्ने समय समेत बढ्छ, बसाई अवधि थपिन्छ। त्यसैले घरबाट निस्कन्छन्,’ उनले भने। उनका अनुसार सातामा लगातार दुई दिन बिदा हुँदा पोखरामा आन्तरिक पाहुनाको चलहपहल बढ्छ। तर, फरक फरक तरिकाले बिदा थपिँदा उत्तिसारो प्रभाव पर्दैन।  

‘अहिले पनि पोखरामा अरु दिनको तुलनामा शुक्रबार र शनिबार बढी आन्तरिक पाहुना आउँछन्। तर, लगातारको साटो एक/दुई दिनको अन्तरमा बिदा हुँदा उत्तिसारो प्रभाव पर्दैन,’ पराजुलीले भने, ‘शनिबार नियमित बिदा हुने भएकोले शुक्रबार भने आगमन बढ्छ। अब आइतबार पनि थपिँदा आगमन झनै बढ्नेमा हामी विश्वस्त छौं।’  

व्यवसायीको अनुमानमा कोरोना संक्रमण सुरु हुनुअघि पोखरामा आन्तरिक पाहुनाको हिस्सा करिब ४० प्रतिशत उक्लेको थियो। यो आगमन कोरोनाले गर्दा शून्यमा झरेकोमा अहिले संक्रमण कम भएपछि करिब २० देखि ३० प्रतिशत नियमित छ। अहिले पनि बिदाको दिन ५० प्रतिशत हाराहारीमा उक्लिने गरेको छ। तर, अब हरेक साताको आगमन ५० प्रतिशत पुग्ने अपेक्षा रहेको पराजुलीले बताए।

‘कोरोना अघिको आन्तरिकको नियमित हिस्सा ४० प्रतिशत थियो। अहिले सप्ताहन्तमा मात्र ५० प्रतिशत हुन्छ। अरुबेला कम छ,’ उनले भने, ‘दुई दिनको बिदाले त्यो आगमन उकास्ने अपेक्षा छ। कम्तिमा शनिबार र आइतबार पोखराको अकुपेन्सी करिब ५० प्रतिशत रहने हाम्रो अपेक्षा छ।’  

संघका अध्यक्ष लक्ष्मण सुवेदी पनि व्यवसायीको माग मध्येको एउटा आइतबार पनि सार्वजनिक बिदा थपिँदा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउँछन्। ‘धेरै मुलुकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने गरिएको छ। तर, त्यो सबैतिर लागु नहोला र उपयुक्त पनि नहुन सक्छ,’ सुवेदीले भने, ‘तर, यसको सकारात्मक प्रभाव पर्यटन क्षेत्रमा भने पर्ने पक्का छ। बिदा थपिँदा आन्तरिक पाहुना घुम्न आउने हाम्रो अपेक्षा छ।’ सरकारले यसअघि पनि यो प्रावधान लागु गरेकोमा सार्वजनिक क्षेत्रमा अप्ठेरो परेपछि हटाएको थियो।

उनका अनुसार अहिले पनि शनिबारको एकदिने सार्वजनिक बिदाले शुक्रबार र शनिबार यहाँका होटलको अकुपेन्सी ५० प्रतिशतमा उक्लिन्छ। तर, अब त आइतबार पनि बिदा हुँदा पाहुनाको बसाई अवधि बढ्नेमा आशावादी हुन सकिन्छ। ‘पाहुनाको बसाई अवधि एक दिन थपिने र त्यसले कोरोनाको अप्ठेरोमा परेको बेला केही राहत मिल्ने मात्र हाम्रो बुझाई हो,’ उनले भने, ‘पर्यटन क्षेत्रमा यो बिदाले सकारात्मक प्रभाव पार्नेमा हामी विश्वस्त छौ। तर, सार्वजनिक निकायका काम नहुँदा त्यसको चाप भने सर्बत्र पर्नेछ। अहिले पनि शनिबारको बिदापछि आइतबार कार्याल खुल्दा कामको चाप बढ्छ। यो चाप आगामी दिनमा अझै बढ्नेछ।’  

पोखरा पर्यटन परिषद् (पिटिसी)ले सातामा दुई दिन बिदा दिने निर्णय पर्यटन क्षेत्रका लागि सकारात्मक भएको बताएको छ। सार्वजनिक बिदा थपिँदा आन्तरिक पर्यटकको चहलपहल बढ्ने र आर्थिक गतिविधिमा थप सहयोग पुग्ने परिषद्को भनाई छ। ‘सातामा दुई दिन विदाको औपचारिक निर्णयको पर्खाइमा पर्यटन व्यवसायी थियौ। यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ र आन्तरिक पाहुनाको चलहपहल थप बढाउनेछ,’ परिषद्ले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। परिषद्का अध्यक्ष गोपि भट्टराईले आन्तरिक पर्यटकको आगमन बढाउन यो बिदा प्रभावकारी हुने सक्ने विज्ञप्तीमार्फत उल्लेख गरेका छन्।

प्रकाशित: १५ वैशाख २०७९ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App