सिन्धुलीमा लिखत पारितको शतवार्षिकी मनाइएको छ। नेपालमा पोता रजिष्ट्रेशन अड्डाबाट सुरु भएको लेख्य प्रमाण दर्ताको एक सय वर्ष पूरा भएको अवसरमा शतवार्षिकी मनाइएको हो।
वि.स १९७९ वैशाख १ गतेदेखि पोता रजिष्ट्रेशन अड्डाले जग्गाजमिन किनबेच हुँदा रजिष्ट्रेशन पास गर्नुपर्ने व्यवस्थाको सुरुवात गरेको इतिहास रहेको मालपोत कार्यालयका वरिष्ठ नायब सुब्बा गोविन्द कोइरालाले जानकारी दिए। अचल सम्पत्तिको खरिद, बिक्री र हक छुट्याएको सरकारी कार्यालयद्वारा प्रमाणित लिखतको अभावमा समाजमा जालसाजी जस्ता व्यवहारको वृद्धि हुन थालेपछि त्यस्तो लिखत रजिष्ट्रेशन गरी सरकारी कार्यालयमा अभिलेख राखीदिएमा जालसाजी व्यवहार समयमा नै नियन्त्रण हुने उद्देश्यले १९७९ वैशाख १ गतेदेखि रजिष्ट्रेशन पास गर्नुपर्ने व्यवस्था भएको कोइरालाले बताए। यो व्यवस्था काठमाण्डौ, भत्तपुर, ललितपुर, पाल्पा, धनकुटा र मधेशका सबै जिल्लामा सो समयमा सुरु भएको इतिहास छ।
पहाडतर्फ पल्लो किरात, तेह्रथुममा पनि सोही समयमा सुरु भएको हो। काभ्रे, दोलखा, नुवाकोट, धादिङ, बन्दीपुर, स्याङजा, गुल्मी, डोटीमा १९८५ सालदेखि ओखलढुङ्गा, इलाम, प्यूठान, सल्यान, दैलेख, जुम्ला, बैतडी, डढेल्धुरामा वि.स १९९० सालदेखि रजिष्ट्रेशन गर्ने कानुनी व्यवस्था भएको उनको भनाइ छ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले मालपोत कार्यालयले लामो अनुभव हासिल गरी ऐतिहासिक काम गरेको बताए। उनले मान्छे ८४ वर्ष पुग्दा पूजा गर्ने चलन र सय वर्ष पुगेपछि रथमा घुमाएर आशिर्वाद लिने चलन रहेको भन्दै मालपोत कार्यालयले लिखत पारितको सय वर्षको अनुभव लिने सरोकारवाला सबैलाई बधाई दिए। मुलुकी देवानी संहिता ऐन २०७४ को परिच्छेद १४ को दफा ४६(१) मा लखित पारित गर्नु पर्ने कानुनी व्यवस्था भएको र कानुनी रुपमानै जग्गाको हक हस्तान्तरण औपचारिक रुपमा सुरुवात भएको सय वर्ष पूरा भएको उनको भनाइ छ। 'हाम्रो लागि यो गौरवपूर्ण इतिहास हो,' उनले भने।
शतवार्षिकीको अवसरमा मालपोत कार्यालयमा सेवा लिन आउने दुई जना सेवाग्राहीलाई सम्मान समेत गरिएको थियो। मालपोत कार्यालयका प्रमुख निलराज पौडेलले माल अड्डा पोता रजिष्ट्रेशन हुँदै सुरु भएको र लिखत पारित गर्ने कार्यहालसम्म आइपुग्दा सय वर्ष पूरा भएको जनाए। उनले सोही अवसरमा देशैभर शतवार्षिकी मनाइएको र सोही सन्दर्भमा सिन्धुलीमा समेत मनाइएको बताए।
शतवार्षिकीको अवसरमा मालपोत कार्यालयमा सेवा लिन आउने दुई जना सेवाग्राहीलाई सम्मान समेत गरिएको थियो।
प्रकाशित: २ वैशाख २०७९ १४:५४ शुक्रबार





