१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्रमा उत्साह

कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रमा नयाँ वर्षसँगै उत्साह देखिएको छ। उपत्यकासहित पोखरा, चितवनको सौराहा, धुलिखेल, नगरकोटलगायतका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ।

उपत्यकाबाहिरका अधिकांश पर्यटकीय गन्तव्य भरिभराउ छन्। नयाँ वर्षमा आन्तरिक पर्यटकले उपत्यकाबाहिरका प्रमुख गन्तव्य भरिएको होटल एसोसिएसन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले बताए। ‘नयाँ वर्षमा अधिकांश पर्यटकीय गन्तव्य भरिभराउ छन्,’ शाहले भने, ‘विदेशी पर्यटकको आगमन पनि बढेकाले उत्साहित छौं।’

पोहोरको तुलनामा विदेशी पर्यटक आगमन पनि ह्वात्तै बढेको शाहले बताए। गत वर्षको मार्चमा करिब १५ हजार पर्यटक आएकोमा यो वर्षको मार्चमा करिब ४२ हजार विदेशी पर्यटकको आगमन भएको शाहले बताए। ‘तेस्रो मुलुकसहित भारतबाट आउने पर्यटक बढेका छन्,’ शाहले भने, ‘विशेष प्याकेज ल्याएर पर्यटक आकर्षित गर्ने योजनामा छौं।’ नयाँ वर्षमा धेरै नेपाली घुम्न निस्किएका छन्।

कोभिडले पर्यटन क्षेत्र तहसनहस पारेको थियो। पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेकाले पर्यटन व्यवसायी उत्साहित भएको शाहले बताए। विदेशी विनिमय सञ्चिति घटिरहेको बेला विदेशी पर्यटकको आगमनले विदेशी मुद्रा आर्जनमा आशाको सञ्चार भएको छ।

उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा रात्रीकालीन व्यवसाय पनि सुरु भएको छ। होटलहरूमा बुकिङ बढिरहेको छ। कोरोनाले सिथिल बनेको पर्यटन क्षेत्रमा नयाँ वर्षसँगै उत्साह थपिएको ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भवीश्वर शर्माले बताए। ‘आन्तरिक र बाह्य पर्यटकको फ्लो बढेको छ,’ शर्माले भने, ‘नयाँ वर्षसँगै आशा जागेको छ।’

नयाँ वर्षमा धेरै मानिस घुम्नका लागि राजधानीबाहिर पनि निस्किए। नयाँ वर्षको अघिल्लो दिन बुधबार त कतिले जहाजको टिकट नपाएर पैदलमार्गमार्फत गन्तव्यमा पुगे।

नयाँ वर्षमा पोखरा घुम्न जान लागेका व्यवसायी श्रीकान्त ढुंगेलले बुधबार पोखरा जान जहाजको टिकट पाएनन्। जहाजमा टिकट नपाएपछि उनी स्थलमार्गबाट परिवारसहित घुम्नका लागि पोखरा गए। ‘जहाजको टिकट नपाएपछि गाडीमा पोखरा जानुपर्‍यो,’ ढुंगेलले भने, ‘पोखरामा होटल पाउन पनि मुस्किल भयो।’ लामो समयदेखि घुम्न नपाएका ढुंगेल पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ घुमेर फर्किने योजनामा छन्। ‘कोभिडले लामो समय गुम्सिएर बस्नुपर्‍यो,’ उनले भने, ‘फ्रेस हुनलाई परिवारसहित निस्किएको हुँ।’

उपत्यकानजिकैको धुलिखेलका पर्यटन व्यवसायी पनि उत्साहित छन्। क्षेत्रीय होटल संघ काभ्रे धुलिखेलकी सचिव जोत्सना सैँजुले नयाँ वर्षमा नेपालीहरू घुम्न निस्किने क्रम बढेको बताइन्। ‘कोभिडले सुनसान रहेका होटलमा अहिले पर्यटक आगमन बढेको छ,’ उनले भनिन्, ‘पर्यटन क्षेत्रमा आशाको सञ्चार भएको छ।’ अहिले अर्थतन्त्रमा देखिएको समस्याले भने केही असर परेको उनले बताइन्।

विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल बढे पनि योजना बनाएर पर्यटनको प्रवद्र्धन गर्नुपर्ने सरोकारवाला बताउँछन्। नेपालका पर्यटकीय गन्तव्य सुरक्षित छन् भन्ने प्रत्याभूति दिन सके विदेशी पर्यटक आगमन ह्वात्तै बढ्ने नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्। ‘अहिले पर्यटन क्षेत्रमा उत्साह देखिएको छ,’ जोशीले भने, ‘आगामी दिनमा पर्यटन क्षेत्रको भविष्य उज्ज्वल देखिन्छ।’

माल्दिभ्स, श्रीलंकालगायतका देशले संकटको अवस्थामा पनि राम्रो पर्यटक भित्राएकाले नेपालमा पनि अवसर रहेको जोशी बताउँछन्। जोशीका अनुसार अहिले माल्दिभ्समा मासिक डेढ लाख, श्रीलंकामा एक लाख पर्यटक आइरहेका छन्।

नेपालका पर्यटकीय गन्तव्य सुरक्षित छन् भन्ने प्रत्याभूति दिएर स्रोत बजारमा सकारात्मक प्रचार गर्न जरुरी रहेको उनले बताए। अहिले विदेशी पर्यटकले प्राकृतिक गन्तव्य, कम भिडभाड हुने क्षेत्रको खोजी गरिरहेकाले नेपाल उपयुक्त गन्तव्य रहेको जोशीले बताए। ‘नयाँ प्याकेज ल्याएर राम्रोसँग प्रवद्र्धन गर्न सके अब पर्यटन क्षेत्रले फड्को मार्छ,’ उनले भने।

विश्वका मुलुकसँग नेपालको हवाई पहुँच बढाउनुपर्ने जोशीले बताए। उनका अनुसार महामारी आउनुअघि नेपालमा ३० विमान कम्पनीका जहाजले १७ देशका ४० गन्तव्यमा उडान भर्थे। अहिले २१ विमान कम्पनीले ११ मुलुकमा मात्र उडान भरिरहेका छन्। ‘पर्यटक आकर्षित गर्न हवाई पहुँच पनि बढाउनुपर्छ,’ जोशीले भने, ‘एयरलाइन्ससँग सहकार्य गरेर प्याकेज बनाउनुपर्छ।’

प्रकाशित: १ वैशाख २०७९ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App